कास्कीको माछापुच्छ्रे ८ इमु गाउँमा अरु घरभन्दा ठूलो छ मनिलाल गुरुङको घर। ढुंगाले छाएको यो घर रंग–रोगन गरेर सजाइएको छ। आँगनमा तिब्बती ध्वजा फहराइएको छ। घरमा अचेल कोही बस्दैनन्। घरभित्र भने सामान सजाइएका छन्।
माटोले लिपेको भित्तामा पानी पर्दा ओढ्ने स्याखु झुण्डिएको छ। भुइँमा तमाखुदेखि तामाको गाग्री, हुक्का, भकारी लगायत गुरुङ समुदायका पुरातन सामग्री राखिएको छ। माछापुच्छ्रे पदमार्गको बाटो छेउमै पुरानो घरलाई संरक्षण गरेर संग्रहालयमा रूपान्तरण गरिएको छ।
गाउँभरिकै ठूलो घर भनेर मात्र यो घरलाई संग्रहालय बनाइएको भने होइन। मनिलालका कान्छा छोरा रामहरी गुरुङका अनुसार मनिलालको योगदान तत्कालीन घलेल गाविसमा मात्र होइन, छिमेकमा पनि उत्तिकै अमिट छ।
पञ्चायतकालमा प्रधानपञ्च भएर मनिलालले गाउँको विकास निर्माण, शौक्षिक र सामाजिक काममा पुर्याएको योगदान सम्झिराख्न संग्रहालय बनाएको रामहरीको भनाइ छ।
नेपालमा पहिलो पटक वीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकार वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपदस्थ गरे। सरकार अपदस्थ गरेर महेन्द्रले गाउँ पञ्चायत निर्वाचनको घोषणा गरे। वि.सं.२०१८ सालमा गाउँ पञ्चायतको निर्वाचन भयो। निर्वाचनमा मनिलाल प्रधानपञ्चमा उठे। तर हारे।
निर्वाचन हारेपछि घलेल गाउँबाट इमु गाउँमा बसाइँ सरेका मनिलाल वि.सं.२०१९ मा इमुमा रहेको गौरी शंकर प्राविको संचालक समितिको अध्यक्ष भए।
उनले त्यतिबेलै पोखरास्थित भारतीय सेनाको पेन्सन क्याम्पबाट वार्षिक ११ सय रुपैयाँ विद्यालयलाई उपलब्ध गराउन राजी गराए। उक्त पैसा विद्यालयको शिक्षक तलब र मसलन्दमा खर्च भयो।
गाउँमा पढाउन जाने शिक्षकको अभाव थियो। पोखराबाट हिँडेर जानुपर्थ्यो। गाउँ अहिलेभन्दा धेरै दुर्गम थियो। उनले पोखराबाट शिक्षक खोजी खोजी गाउँ लगे। विद्यालयको नयाँ भवन बनाउनुपर्ने भयो। मनिलालले गाउँकै गोपाल गुरुङलाई जग्गा दिन राजी गराए। नयाँ भवन बनाएर पठन– पाठन चल्यो।
पहिलो गाउँ पञ्चायतको कार्यकाल सकिएपछि फेरि वि.सं. २०२३ मा गाउँ पञ्चायतका निर्वाचन भयो। मनिलालले दोस्रो पटक पनि प्रधानपञ्चमा उम्मेदवारी दिए। निर्वाचित भए। त्यसपछि अविछिन्न रूपमा प्रधानपञ्च बनेका मनिलालले घलेल गाविस र वरिपरि विकास निर्माणका अभियान चलाए।
त्यतिबेला गाउँलेको मुख्य समस्या खोला थियो। खोला तर्न पुल थिएन। प्रधानपञ्चमा निर्वाचित भएपछि मनिलालले मर्दी खोलामाथि मर्दिवाङमा वि.सं. २०२४ सालमा काठको पुल बनाए। जिल्ला पञ्चायत कास्की र स्थानीयको श्रमदानमा यो पुल बनेको थियो।
मनिलालले वि.सं. २०२८ सालमा राजा वीरेन्द्रसँग दर्शन भेट पाए।
उनले घलेल र रिभान गाउँका मानिसलाई पुल नहुँदा समस्या परेको सुनाए। राजाले उनको कुरा सम्बोधन गरे। मर्दीखोलाकै सिमेडाँडामा झोलुंगे पुल निर्माण भयो।
यतिले मात्र गाउँलेलाई खोला तर्ने बाध्यता सकिएको थिएन। पोखरा आउजाउ गर्न मर्दीखोलाकै कुल्लेडाँडामा अर्को पुल चाहियो। मनिलालले वि.सं. २०२४ सालमा यहाँ पनि पुल बनाए। त्यतिबेला विकास भनेकै पुल थियो। मनिलाले बनाउँदै गए।
पञ्चायत विरूद्धको आन्दोलन भित्रभित्रै सल्किँदै थियो। मनिलाल प्रधानपञ्चमा निर्वाचित भएपछि बनाएको पहिलो पुल मर्दीवाङको काठे पुल अज्ञात समूहले भत्काइदिए।
मनिलालले बेलायती संस्था कादुरी र स्थानीय विकास क्षेत्रीय कार्यालयसँग मिलेर झोलुंगे पुल बनाए।
प्रधानपञ्च भए पनि काम गरेर बस्ने अड्डा थिएन। उनले वि.सं. २०४१ मा लुम्रेमा गाउँ पञ्चायतको भवन बनाए। त्यसपछि उनको ध्यान स्कुल खोल्नमा लाग्यो।
छिमेकी गाउँ भेडाबारीमा स्कुल थिएन। मनिलाल स्कुल स्वीकृत गराउन वि.सं. २०२६ सालमा तीन महिना काठमाडौं बसेर दिनहुँ डेलिगेसन गए।
बल्ल बल्ल तत्कालीन सरकारले विद्यालय स्वीकृत गरिदियो। विद्यालय स्वीकृत त भयो, अब भवन बनाउनुपर्ने भयो।
मनिलालले कादुरी संस्थाबाट ७७ हजार रुपैयाँ सहयोग जुटाए र भवन निर्माण भयो। अहिले बराह माविका रूपमा यो स्कुल सञ्चालित छ।
त्यसपछि २०२८ सालमा अर्को गाउँ सिदिङमा सरस्वती प्रावि स्वीकृत गराए।
यस्तै, २०४३ सालमा कालिमाटीको अन्नपूर्ण प्रावि, इमुकै गौरी शंकर निमाविलाई मावि बनाउने लगायतका काममा नेतृत्व लिए।
गाउँमा खाद्यान्नको अभाव हुँदा जिल्ला पञ्चायतमार्फत् अमेरिकाबाट गहुँ र मकै ल्याएर गाउँमा वितरण गरे। सस्तो मूल्यमा चामल वितरणको मेसो मिलाए।
वि.सं. २०३४ सालमै गाउँमा युनिसेफको सहयोगमा खानेपानीको प्रबन्ध मिलाए। मनिलालले गाउँमा मात्र होइन, पोखरामा बढ्दै गएको खानेपानी अभावको समस्या समाधान गर्न गाउँबाटै बग्ने मर्दीखोलाको पानी पोखरा लैजान प्रबन्ध मिलाए।
अहिले पनि पोखरामा खानेपानीको मुख्य स्रोत नै मर्दीखोला रहेको छ।
पञ्चायत विरोधी आन्दोलन चर्किंदै थियो। गाउँको युवा आन्दोलनरत नेपाली कांग्रेस र कम्युनिष्ट घटकमा लागेर भित्रभित्रै आन्दोलन गरिरेका थिए। उनीहरू प्रजातन्त्रको पक्षमा पञ्चायतका आँखा छल्दै गतिविधि गरिरहन्थे।
वि.स.२०३६ सालको एक दिन आन्दोलनकारीको समूह प्रधानपञ्च मनिलालको घरमा गए। घरबाटै मनिलाललाई समातेर लगे। केही टाढा लगेर आन्दोलनकारीले खाल्डा खने। मनिलाललाई खाल्डामा ज्युँदै पुर्ने भनेपछि मनिलाल पनि डराए।
उनले जीवनरक्षाको लागि बिन्ति गरे। आन्दोलनकारी पनि घुमाइ फिराइ उनकै आफन्त थियो। आन्दोलनकारीले मनिलाललाई छाडिदिए।
२०३७ सालमा निर्दल कि बहुदल भन्ने छिनोफानो गर्न जनमत संग्रह भयो। निर्दल पक्षले जित्यो। त्यसपछि आफूलाई खाल्डो खनेर गाड्न खोज्ने प्रजातन्त्र पक्षका मानिसलाई पक्राउ गर्न मनिलालले प्रहरी खटाए। उनीहरू गाउँकै जंगलमा भागेर जोगिए।
२०४६/०४७ को जनआन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भयो। २०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा उम्मेदवार बन्न उनले पार्टीमा लबिङ गरे। गाउँमा लोकप्रिय छवि बनाएकै कारण टिकट पाउने पक्का जस्तै थियो। तर उनले टिकट पाएनन्।
मनिलालले टिकट पाउँछ भनेर नै उनका छोरा गनबहादुर गुरुङलाई तत्कालीन एमालेले शिक्षकबाट राजीनामा गराएर अध्यक्षको उम्मेदवार बनायो। बाबु– छोरा भिडाउनका लागि। बाबु कांग्रेस उम्मेदवारको प्रचारमा लागे। छोरा एमालेका उम्मेदवार बने। चुनाव भयो, छोराले चुनाव जिते।
पञ्चायत सकिएपछि पदीय जिम्मेवारी नपाए पनि मनिलालले सामाजिक काम र विकास निर्माणका अभियानमा लाग्न छाडेनन्। मर्दीखोला आसपासका गाउँलेका सुख– दु:खमा साथ दिएका मनिलाल २०६२/०६३ को जनआन्दोलनमा सहभागी भए। आन्दोलनकै क्रममा उनी बिरामी भए।
उनको पेटमा क्यान्सर भएको रहेछ। अपरेसन गर्न मनिलाल मानेनन्। २०६२ चैत २७ मा उनको निधन भयो। उनको मृत्यु भएपछि ५ भाइ छोरा मिलेर मनिलाल स्मृति प्रतिष्ठान गठन गरेका छन्। गाउँकै गौरीशंकर विद्यालयको नाम परिवर्तन गरेर गौरीशंकर मनिलाल मावि नामाकरण गरिएको छ।
यस्तै, मनिलालकै अगुवाइमा ट्रयाक खोलिएको पोखराको हेमजाबाट खानेपानी मुहान, लुम्रे, घलेल हुँदै सिदिङ जाने मोटरबाटोलाई मनिलाल मार्ग नामाकरण गरिएको छ।
प्रतिष्ठानले गरिब र दलित विद्यार्थीलाई छात्रवृत्ति, अपांगता भएका बालबालिकालाई सहयोग लगायतका काम गरिरहेको छ।
घलेलका स्थानीय दीपक गुरुङले मनिलालले गाउँलेका लागि निरन्तर लडेको बताउँछन्।
उनका अनुसार, गाउँलेका जुनसुकै समस्या समाधान गर्न उनी अघि सर्दथे।
अहिले प्रतिष्ठानले माछापुच्छ्रे पदमार्गको प्रवर्द्धनमा पनि काम गरिरहेको प्रतिष्ठानका अध्यक्ष रामहरीले बताए।
मनिलालका ५ छोरामध्ये गाविस अध्यक्ष भएका जेठा छोरा गनबहादुर गुरुङ अहिले हङकङ बस्छन् भने माइला रामचन्द्र बेलायतमा, साइला मिनबहादुर गुरुङ पोखरा बस्छन्। काइला तेजबहादुर भारतीय सेनाबाट सेवा निवृत्त भइसकेका छन् भने कान्छा रामहरी बाबुको स्मृतिमा प्रतिष्ठान बनाएर बसेका छन्। उनीहरू पाँचै दाजुभाइ मिलेर बाबुको सम्झनामा गाउँको घरमा संग्रहालय बनाएको रामहरीले बताए।