परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाएको आरोपमा प्रहरीले काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ।
वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो।
‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं। उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले सेतोपाटीसँग भने।
शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन्।
उक्त घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार लेखेको थियो।
विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले २० पूर्णाङ्कको परीक्षा लिएकी थिइन्। कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन्।
नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थीलाई सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिर्न दवाव दिएकी थिइन्।
उनले १५ नम्बरभन्दा कम नम्बर आएका विद्यार्थीको हात (नाडी) चिर्न लगाएको आरोप छ। विद्यार्थीका हातमा एकभन्दा धेरै ठाउँमा ब्लेडले चिरा पारेपछि घटना बाहिर आएको थियो।
एकेडेमीले दियो शिक्षिकालाई अवकाश
शिक्षिका कर्माचार्यलाई शुक्रबार एकेडेमीले जागिरबाट हटाउने निर्णय गरेको छ।
एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शनिबार सेतोपाटीसँग कुराकानी गर्दै शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताए।
उनी १२ बर्षदेखि एकेडेमीमा पढाउँदै आएकी थिइन्।
‘सामाजिक शिक्षा विषयको शिक्षक सीतालक्ष्मी कर्माचार्यले शारिरीक दण्ड दिएको विद्यार्थी तथा अभिभावकहरूबाट गुनासो आएकोले पुन: यसप्रकारको दण्ड दिने कार्यलाई निरूत्साहित गर्दै शिक्षकबाट दण्डरहित शिक्षणको सम्मान गर्दै निज शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई २०७६/११/२३ गतेदेखि लागू हुने गरी यस विद्यालयको शिक्षक पदबाट अवकाश दिने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको छ,’ प्रिन्सिपल श्रेष्ठले विज्ञप्ति निकालेर भनेका छन्।
प्रिन्सिपलले निकालेको विज्ञप्तिमा कति जना विद्यार्थीलाई शिक्षिकाले कस्तो दण्ड दिएको भन्ने खुलाइएको छैन।
सेतोपाटीसँगको कुराकानीमा प्रिन्सिपल श्रेष्ठले ब्लेडले हात चिर्न लगाउनेजस्तो अमानविय क्रियाकलाव शिक्षिकाबाट भएकोले जागिरबाट निकालिएको बताए।
‘गम्भीर गल्ती भएको छ, अब यस्तो हुन दिन्नौं,’ उनले भने।
श्रेष्ठका अनुसार विद्यार्थीले कक्षाकोठामै हात चिरेका थिए। उक्त घटना आफूले ढिला थाहा पाएको पनि उनले बताए।
उनका अनुसार शिक्षिका कर्माचार्यले गल्ती भएको स्वीकारेकी छन्। प्रहरीसँगको प्रारम्भिक बयानमा पनि कर्माचार्यले आफूबाट गल्ती भएको बताएकी छन्।
यो पनि:
कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकाल्यो जागृति एकेडेमीले