उदय मण्डल अचेल आफूलाई महिला नामले चिनाउन चाहन्छन्। उनको नयाँ नाम हो- सपना।
काठमाडौं माउन्टेन फिल्म फेस्टिभलमा प्रदर्शित 'ब्लुज अफ पिंक' मा २३ वर्षीय निर्देशक गृष्म गिरीले उनको कथा समेटेका छन्। यही फिल्म प्रदर्शन क्रममा उनी केही समयअघि जनकपुरबाट काठमाडौं आएकी थिइन्। फिल्म हेरेका दर्शक उनको वरिपरि झुत्तिँदै सेल्फी खिच्न लालायित थिए। त्यति बेला उनको हिँडाइ, बोलाइ र बान्कीमा उदयभन्दा सपना नै हाबी देखिन्थ्यो।
आज पनि हाम्रो समाजमा उदयहरू जन्मिँदा उत्सव मनाइन्छ, सपनाहरू जन्मिँदा शोक छाउँछ। यहाँ कति सपना गर्भमै तुहिन्छन्, कति दाइजोका नाममा कुटिन्छन्, जलाइन्छन्। महिला र पुरूषबीच विभेदको गहिरो खाडल भएको समाजमा पुरुषका रूपमा जन्मेका उदयले सपनाका रूपमा आफ्नो परिचय ढाल्नु ठूलै चुनौती मोल्नु थियो।
निर्देशक गृष्मको शब्दमा भन्दा, 'उदयले त्यो चुनौती मोलेर समाजको संकीर्ण सोचलाई ललकारे।'
उदय ११ वर्ष उमेरमा काम खोज्दै भारतको मुम्बई पुगे। त्यहाँ उनले नर्तकीको काम पाए। दुई वर्षसम्म विभिन्न महिला पात्रको भूमिका निर्वाह गरे। त्यसपछि घरबाट बिहेको कुरा आयो। १३ वर्षको कलिलो उमेरमै उनको बिहे भयो।
'मेरो बिहे पक्का गर्दा नै केटीको लुगा लगाएको फोटो देखाइएको थियो,' उनले हाँस्दै सुनाए।
बिहे गर्दा उदयको कपाल लामो थियो। मुम्बई गएर नर्तकीकै जीवनमा फर्किनुपर्ने भएकाले काटेका थिएनन्। बिहेअघि हुनेवाला दुलहीले सोधेकी थिइन् रे, 'कपाल यत्तिकै राख्ने हो?'
उदय लजाइ मात्र रहे, कपाल भने काटेनन्।
बिहेको चार–पाँच दिनपछि उनी मुम्बई फर्के। एक महिना बसेर घर आउँदा दुलही माइत गएकी थिइन्। परिवारको सल्लाहअनुसार उनले दुलही फर्काएर त ल्याए, तर उनको मन कत्ति पनि आकर्षित भएन। उनी सधैं आफ्नी दुलहीबाट टाढिएर बस्थे। यसो गर्दा भित्रभित्रै छटपटिन्थे पनि।
उनलाई केटीले भन्दा केटाले बढी आकर्षित गर्थ्यो। एकदिन आँट गरेर दुलहीलाई भने, 'तिमीलाई यहाँ बस्नु छ भने बस, तर मबाट केही हुँदैन।'
दुलहीले घर छाडिन्। छरछिमेकले उनलाई समाज छाड्न दबाब दिए।
'यो न केटा हो न केटी, यसलाई समुदायबाट निकालौं,' पञ्चायत बसेर उनलाई गाउँ निकाला गर्ने निर्णय भयो।
उदयका बुवा उनलाई कसैगरी निकाल्ने पक्षमा थिएनन्। 'जे भयो त्यो जानेर भएको होइन,' बुवा अडिग रहे, 'बरू छोरा जहाँ जान्छ, म त्यहीँ जान्छु।'
घरबाट समर्थन पाए पनि उदय आफ्नो शारीरिक अवस्थाबारे अन्जान थिए। केटा भएर किन केटीप्रति आकर्षित छैनन् भन्ने उनलाई ज्ञान थिएन। उनले सुरूमा त यसलाई कुनै रोगका रूपमा बुझे। भारतको पुना गएर डाक्टरलाई जचाए पनि।
त्यसपछि बल्ल उनलाई थाहा भयो- उनको शरीर पुरूषको भए पनि भित्र महिलाको गुण बढ्ता रहेछ।
डाक्टरले सुझाए, 'तपाईंलाई हामी केटाको गुण भर्न त सक्दैनौं। तर, शल्यक्रिया गरेर केटी बनाउन सक्छौं।'
शल्यक्रिया गर्न पाँच लाख रुपैयाँ चाहिन्थ्यो। त्यति पैसा उनले भारतमा काम गर्दा कमाएका थिए। उनी शल्यक्रिया गर्न राजी भए।
उदय सपना बनेर फर्किए।
यसपालि नाचको भूमिकामा मात्र होइन, उनी शारीरिक रूपमै केटी भएका थिए।
भारतमा सपनाजस्ता पात्रलाई 'किन्नर' भनिन्छ, नेपालमा 'यौन अल्पसंख्यक'। किन्नरहरू दसैं, लक्ष्मीपूजा, मेला लगायतमा पैसा उठाउँछन्। उनीहरू आएर पैसा उठाउँदा शुभ हुन्छ, आशिष लाग्छ भनिन्छ। छठ पर्वमा उनीहरूलाई नाच्न निम्तो नै गर्ने चलन छ। निःसन्तान परिवारमा उनीहरूले नाच्दा शुभ हुन्छ भन्ने भनाइ छ।
सपनालाई भने छठमा नाच्नभन्दा घाटमा गएर छठ मनाउने चाहना छ। तर समाजले स्वीकार्दैन भन्ने डरले रोक्छ।
'म पनि अरूजस्तै घाटमा जान पाए हुन्थ्यो भन्ने लाग्छ, तर पाइँदैन। टाढाबाट हेरेरै चित्त बुझाउँछु,' उनी भन्छिन्, 'त्यस्तो बेला चित्त दुख्छ। तर अरूको मन दुखाउनुभन्दा आफ्नै दुखेको ठिक।'
सपनालाई चित्त दुख्ने कुरा अरू पनि धेरै छन्। जस्तो, बाटोमा हिँड्दा कोही कोही उनलाई 'हिजडा', 'छक्का' भनेर जिस्क्याउँछन्। कति पुरुषले त चालै पाउँदैनन्, महिला सम्झेर निकटता बढाउन खोज्छन्। त्यस्तो बेला सपनाको मनभित्र गढेको चाहना बल्झिन्छ, 'मेरो पनि बिहे भएको भए, बूढा (श्रीमान) भएको भए कति खुसी हुन्थेँ, कति माया मिल्थ्यो।'
श्रीमान नभए पनि एक पुरुषसँग उनी निकट छिन्। समस्या पर्दा, सहायता चाहिँदा उनैलाई सम्झन्छिन्। ती पुरुषको बिहे भइसकेको छ। छोराछोरीसमेत छ। त्यसैले उनलाई 'मिल्ने साथी' भन्न रुचाउँछिन्।
२८ वर्षीय सपनाको बिहेको रहर पूरा नभए पनि उनले अर्को एउटा सपना भने पूरा गरेकी छन्, बच्चाको।
'मेरो आफ्नै बच्चा त हुनेवाला थिएन, त्यसैले पहिल्यै डाक्टरसँग कुरा गरेको थिएँ। कसैले फाल्न चाहेको बच्चा भए मलाई खबर गर्नू भनेर,' उनले बच्चा पाउँदाको अनुभव सुनाइन्, 'त्यो बच्चा शारीरिक रूपमा कमजोर थियो। बच्चासँग निकटता बनिसकेकाले केही होला भन्ने डरले सधैं पिरोल्थ्यो। अहिले ठिक छ।'
पारिवारिक समस्याले सानैमा भारत गएर काम गर्नु पर्दा सपनाले पढ्न र आफ्नो भविष्यबारे राम्ररी सोच्न पाइनन्। अब भने आफ्नो चार वर्षको बच्चालाई राम्रो शिक्षा दिएर उसको भविष्य बनाउनु नै सपनाको सपना बनेको छ।
करिब सात वर्षदेखि उनी भारत छाडेर जनकपुरमा बस्दै आएकी छन्। भारतमा रहँदा त्यहाँको किन्नर समाजसँग उनको मनमुटाव भएछ।
'तिम्रो नेपालमा खान पाइन्न? यहाँ भिख माग्न आएको? यहाँ लालबत्ती देखेको, के यहाँ सुनको खानी छ?' यस्ता शब्दबाण सहेर बस्नुभन्दा उनले नेपाल फर्किनु नै उचित ठानिन्।
उनी आफ्नो घरबाट करिब आधा घन्टा दुरीमा जनकपुर अञ्चल अस्पताल नजिकै भाडामा बसिरहेकी छन्। बच्चालाई भने आफ्नै घरमा परिवारसँग राखेकी छन्। हप्तादिनमा भेट्न गइरहन्छिन्। सपना घरमा आउँदा बच्चा निकै खुुसी हुने उनी बताउँछिन्।
'मेरो पहिचानको छाया मेरो बच्चामाथि नपरोस् भनेर टाढै बसेकी छु,' सपनाले भनिन्, 'भोलिपर्सि ठूली भएपछि उसले मेरो पहिचान अपनाउन पनि सक्छे, घृणा पनि गर्न सक्छे। म दुवै अवस्थाका लागि तयार छु।'
समाजले भने उनको पहिचान विस्तारै अपनाउन थालेको छ। तै उनीहरू धेरै अधिकारबाट वञ्चित छन्। सपना पनि आफ्नो पहिचानले काममा बाधा पुगिरहेको बताउँछिन्।
उनीसँग 'उदय मण्डल' नामबाट पुरुषको नागरिकता छ। त्यसको सट्टा सपना भनेर नागरिकता लिन चाहन्छिन्, जुन उनले पाएकी छैनन्।
'तपाईंसँग पुरुषको नागरिकता छ तर महिलाजस्तो देखिनुहुन्छ, कसरी पत्याउनु?' यस्ता प्रश्नले उनलाई निरुत्साहित गराउँछ।
यस्तै समस्याले यौन अल्पसंख्यकहरूले राम्ररी बाँच्न पाइरहेका छैनन्, मृत्युपछि पनि जुत्ताले हानेर बल्ल दाहसंस्कार गर्ने रित छ।
'अर्को जन्ममा फेरि यौन अल्पसंख्यक भएर बाँच्न नपरोस् भनेर त्यसो गरिन्छ,' सपनाले भनिन्, 'समाजले हाम्रो पहिचान सजिलै स्विकार्ने र सम्मान दिने हो भने हामीलाई पनि बाँच्न दुःख नलाग्दो हो।'