एक वर्षका लागि स्वयमसेवक शिक्षक बन्न १२ हजार जनाभन्दा बढीले निवेदन दिएका छन्।
शैक्षिक सत्र २०७७ का लागि वैशाखदेखि चैतसम्म सरकारी विद्यालयमा पढाउन सरकारले १० दिने सूचना निकालेर आवेदन खुलाएको थियो।
आइतबारसम्म १२ हजार जनाभन्दा बढीले अनलाइनबाट आवेदन दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।
केन्द्रले फागुन १६ गते एक हजार पाँच सय स्वयमसेवक माग गर्दै सूचना निकालेको थियो।
‘आइतबारसम्म १२ हजार जनाभन्दा बढीको निवेदन आइसक्यो। संख्या अझै बढ्छ,’ केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले सेतोपाटीसँग भने, ‘आज निवेदन फारम भर्ने अन्तिम दिन हो।’
केन्द्रले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकबाट निवेदन आह्वान गरेको थियो। शिक्षक संख्या कम भएका सरकारी विद्यालयमा पढाउन अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरूले निवेदन दिएका हुन्।
‘स्वयमसेवक शिक्षकका लागि (शिक्षण अनुमति पत्र) लाइसेन्स नचाहिने भएर पनि धेरैको आकर्षण भएको हुनसक्छ,’ उनले भने।
निवेदन परेकामध्ये उनीहरूले पेश गरेका कागजपत्र हेरेर शिक्षक छनौट थपलियाले बताए। केन्द्र शिक्षक छनौटको आधार उनीहरूले हासिल गरेको नम्बरलाई लिने भएको छ।
‘जसको सर्टिफिकेटमा राम्रो नम्बर छ उसैलाई प्राथमिकता दिइन्छ,’ थपलियाले भने, ‘छनौटमा परेका शिक्षकको नाम स्थानीय तह र विद्यालयमा पढाउँछौं।’
केन्द्रले छानेर पठाएका स्वयमसेवक शिक्षकलाई विद्यालयले नियुक्ति दिएर वैशाखदेखि काममा लगाउनुपर्ने हुन्छ।
देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ। ‘चिनौँ आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो।
स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि बनाइसकेको छ। सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ। भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ।
स्नातकोत्तर पढेकाको तलब केही धेरै छ।
उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार तलब पाउँछन्। थपलियाका अनुसार चैतभित्र स्थानीय तहमा शिक्षकको विवरण पठाउने काम सकिन्छ।
‘अन्तर्वार्ताबाट शिक्षक छनौट गर्नुपर्ने हो तर संख्या धेरै छ समय अभाव हुन्छ त्यसैले जसको नम्बर धेरै छ त्यहीलाई शिक्षक बनाउँछौं,’ उनले भने।
छनौट भएका शिक्षकले विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र पढाउन हाजिर हुनुपर्छ। नभए नियुक्ति स्वत: रद्द हुन्छ।
‘शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा हुँदैन। जागिर छाड्नु परे दुई महिना अगाडि नै जानकारी दिनुपर्नेछ,’ उनले भने, ‘शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्छ।’
स्वयमसेवक शिक्षकलाई तलब विद्यालयले नै खुवाउँछ। ‘वैशाखभित्र सम्बन्धित स्थानीय तहमा बजेट पुग्छ। जेठ मसान्तभित्र स्थानीय तहले विद्यालयको खातामा एकमुष्ट रकम पठाउनुपर्छ,’ थपलियाले भने।