नेपालबाट तीन सय किलोमिटर पर दिल्लीमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको सुदूरपश्चिम प्रदेशमा सतर्कता अपनाइएको छ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सीमावर्ती जिल्लाका नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेको छ। मन्त्रालयले कैलालीका त्रिनगर र खक्रौला, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको छोटी भन्सार गरी ५ स्थानमा हेल्थ डेस्क स्थापना गरेको हो।
धनगढी विमानस्थलमा पनि स्वास्थ्यकर्मीसहितको डेस्क स्थापना गरिएको छ।
स्वास्थ्यकर्मी र ज्वरो नाप्ने उपकरणसहित खोलिएका डेस्कमा भारतबाट नेपाल भित्रिने सबैको स्क्रिनिङ गर्न थालिएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
उनले भने,‘एक सय डिग्रीभन्दा बढी ज्वरो आएको, रुघाखोकी लागेको, फ्लुको जस्तो लक्षण देखिए सिधै अस्पताल पठाउने व्यवस्था गरेका छौं।’
मन्त्रालयले कोरोना भाइरसबाट सुरक्षित रहन सञ्चार माध्यमहरूबाट सूचना प्रवाह, सीमानाका र अस्पतालमा पर्चा पम्लेट वितरणको काम पनि गरी चेतना अभिवृद्धि गरिरहेको जनाएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले तत्कालका लागि आइसोलेसन कक्ष स्थापना गरिएको बताए।
श्रेष्ठले भने,‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारकै कक्ष एक हप्ताभित्र तयार हुँदैछ। डा हेमन्त ओझाको नेतृत्वमा आएको टोलीले काम गर्दैैछ।’
यदि संक्रमणको संभावित व्यक्ति देखिएमा सरकारी अधिकांश अस्पतालहरूमा आइसोलेसन वेड स्थापना गरिएको सामाजिक विकास मन्त्रालयको दाबी छ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २ जनामा कोरोनाभाइरस संक्रमणको आशंका गरी जाँच गरिएकोमा उनीहरूमा संक्रमण नरहेको पुष्टि भइसकेको छ।
भारतीय नागरिक बढी भित्रिने कैलाली र कञ्चनपुरका नाकाहरूमा बढी सावधानी अपनाइएको देखिन्छ। प्रदेश सरकार र सीमावर्ती जिल्लाका स्थानीय सरकारले भीडभाड, भेला तथा महोत्सव आदि नगर्न आग्रह गरेका छन्।
सुरक्षा निकायसँगको समन्वयमा होली पर्व, विद्यालयका वार्षिक उत्सव तथा अन्य यस्ता सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ।
धनगढी उप–महानगरपालिकाले पनि त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेको छ। भीडभाड, भेला तथा महोत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरिसककेको उपमहानगरपालिकाले फागुन २५ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।
नगरप्रमुख नृप बहादुर वडले भने, ‘गम्भीर प्रकृतिको कोरोना भाइरसको जोखिम बढेकाले सतर्कताका लागि सरोकारवालाहरूसँगको बैठकपछि सम्पूर्ण शिक्षण संस्थाहरूमा परीक्षा लगायत पठनपाठन अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरेका छौं।’
कैलालीको टीकापुर नगरपालिकाको मेयर तपेन्द्र बहादुर रावलले खक्रौला नाकामा भारतबाट आउनेहरूको स्वास्थ्य जाँचको काम भैरहेको बताए।
टीकापुर अस्पतालमा पनि २ बेडको छुट्टै आइसोलेसन कक्ष स्थापना गरिएको उनले जानकारी दिए।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गड्डाचौकी नाकामा हेल्थ डेस्क स्थापना गरेको मेयर सुरेन्द्र विष्टले बताए।
यस्तै महाकाली नगरपालिका हुँदै झोलुंगे पुलको नाका भएर पनि मानिसहरूको आवतजावत हुने हुँदा हेल्थ डेस्क राख्ने तयारी रहेको उनले बताए। महेन्द्रनगरबाट नेपाल भारत मैत्री बस सेवा सञ्चालन भैरहेकोले त्यसमा पनि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी समक्ष पहल गर्ने विष्टले बताए।
यस्तै, भारतीय समकक्षीहरूसँग समन्वय गर्ने, महाकाली अस्पतालमा आइसोलेसन स्थापना, मास्कको उपलब्धता सहज बनाउने काम गरेको भिमदत्त नगरपालिकाले कोरोना भित्रिन नदिन भिजिट भीमदत्त अभियान २०२० पनि स्थगित गरेको छ।