कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर बजारलाई ताररहित बनाइने भएको छ। दुर्घटनाको जोखिमसँगै शहरलाई कुरुप बनाउने विद्युतका पोल हटाएर तारलाई अण्डर ग्राउण्ड (जमिनमुनि) बिछ्याउने योजना बनाइएको हो।
हाललाई पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्र्रनगर–६ भित्रका पोल हटाउने र तार जमिनमुनि बिछ्याइने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।
बिजुलीको पोल र तारले गर्दा बजार क्षेत्रको सडक साँघुरो हुने गरेकोले दुर्घटनाको जोखिम पनि बढेका कारण यसलाई व्यवस्थित गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले बताइन्। चालु आर्थिक वर्षको अन्तिम अर्थात असारसम्म मुख्य बजार क्षेत्रको पोल र तार हटाएर ताररहित क्षेत्र बनाइने उनको भनाइ छ।
‘बजार क्षेत्रका सडकहरु बिजुलीका पोल र तारहरुले साँघुरो बनाएका छन्, यसले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दो क्रममा छ,’ उपमेयर ढकालले भनिन्, ‘पछिल्लो समय बढ्दै गएको सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै शहरलाई सुन्दर देखाउन पनि यो योजना हामीले अघि सारेका हौं।’
वीरेन्द्रनगरको चालु आर्थिक वर्षको नगरसभाले यो योजनालाई ‘नगर महत्व’को योजनाका रुपमा राखेको छ। सुरुमा मुख्य बजार क्षेत्रबाट यो योजना कार्यान्वयनका लागि अगाडि बढेको उपमेयर ढकालले बताइन्।
‘मानिसको आवतजावत बजार क्षेत्रमा धेरै हुने भएकोले सडकको अवस्था साँघुरो छ, दुर्घटना पनि पछिल्लो समय धेरै हुने गरेका छन्।’ उनले भनिन्, ‘दुर्घटना कम गर्नको लागि बजार क्षेत्रको सडकलाई विस्तार गर्न योबाहेक अरु विकल्प पनि छैन, यसकारण नगरपालिकाले पहल थालेको हो।’
राष्ट्रिय योजना आयोगमार्फत नगरपालिकाले यो योजनाको माग गरेपछि आयोगले स्वीकृति दिएको थियो। नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीका अनुसार संघीय सरकारले दिएको समपुरक अनुदानको ४० प्रतिशत बजेट यो योजनामा खर्च गरिने छ भने बाँकी ६० प्रतिशत नगरपालिका आफैंले ब्यहोर्ने छ।
यो योजना कार्यान्वयनका लागि चार करोड रुपैयाँ लागत लाग्ने उपमेयर ढकालले जानकारी दिइन्। यसको ठेक्का तत्कालै नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा आह्वान गरिने उनले बताइन्। मुख्य बजार क्षेत्रको व्यवस्थापनपछि क्रमशः अरु क्षेत्रमा पनि योजना अगाडि बढाइने उनले बताइन्।