पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोल बजार छेउमै डोम समुदायको एक वस्ती छ। उक्त वस्तीमा २० घरधुरी छन्।
जानकीटोलको डोम वस्तीको छेउमै सानो बजार छ। बजारमा आधा दर्जनको संख्यामा साना होटल छन्। तर ती होटलमा चिया–नास्ता खान जाँदा डोम बस्तीका स्थानीय घरबाटै गिलास र प्लेट लिएर जान्छन्।
भाँडा अशुद्ध हुने भन्दै ती होटलहरूले उनीहरुलाई चिया, खाजा दिँदैनन्। घरबाट गिलास र प्लेट नलिई गएमा उनीहरुलाई होटलका साहुहरुले प्लाष्टिकको गिलासमा चिया र कागजमा खाजा पोको पारेर दिन्छन्।
डोमवस्तीमा भेटिएकी चनन्दा देवीले भनिन्, ‘छठ लगायत पर्वमा हामीले बनाएकै बाँसका डाला र टोकरीमा पूजाका सामाग्री राखेर पूजापाठ र विवाह गर्छन्, हामीले बनाएका ती सामाग्री पवित्र हुन्छन्, तर होटलमा चिया नास्ता खान जाँदा भाँडा अपवित्र हुन्छ।’
आफ्नै गाउँ समाजले तल्लो जातको अछुत भन्दै घृणा गर्दा मन दुख्ने उनले बताइन्। भारतको बिहारमा काम गर्ने २८ वर्षीय राजेश राउत डोमले परिवारका सदस्यमाथि हुने भेदभावले मन खिन्न हुने गरेको बताउँछन्।
डोम वस्तीका ७२ वर्षीय वृद्ध भोला राउत डोम भन्छन् ‘अरुले जति नै पैसा तिर्दा पनि छुवाछुतको व्यवहार हुनु राम्रो भएन।’ छुवाछुतको विभेद आफूहरुले वर्षौदेखि सहँदै आएपनि पाहुना आउँदा भने झनै सकस हुने गरेको ललितादेवी बताउँछिन्।
‘पाहुना नै घरमा नआइदिए बेस हुन्थ्यो भन्ने लाग्छ, आए पनि लाजले होटलमा लग्दैनौँ, घरमै चिया पकाएर खान दिन्छौँ’ उनले भनिन्। छुवाछुतको विभेदबारे स्थानीय तहका जनप्रतिनिधिलाई भेटेरै पटक पटक गुनासो गरेपनि कुनै सुनुवाइ नगरेको उनीहरु बताउँछन्।
चुनाव ताका भोट माग्ने बेला नेताहरुले आफूहरुलाई अङ्गालो मारेर छुवाछुत हुन नदिने बताए पनि अहिले वास्ता नगरेको उनीहरुको गुनासो छ। छुवाछुतविरुद्ध बोल्दा गाउँमा लफडा हुने डर लाग्ने भएकाले यसविरुद्ध बोल्न पनि नसकिएको उनीहरुको भनाइ छ।
पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले जातीय छुवाछुत सामाजिक मात्र नभई कानूनी अपराध पनि भएकाले यसविरुद्ध अभियान चलाउने प्रतिबद्धता जनाए।
जगरनाथपुर गाउँपालिकाका प्रमुख जालीम मियाले डोमवस्तीमा पुगेर होटल साहुलाई सँगै राखेर छुवाछुतको विभेद नगर्न निर्देशन दिएको बताए।
‘म आफै त्यो बेला डोमवस्तीमा पुगेर अबदेखि छुवाछुतको भेदभाव नगर्नु भनेर होटलवालालाई निर्देशन नै दिएको थिएँ’ मियाले भने ‘यदि अहिले फेरि पनि छुवाछुतको भेदभाव भइरहेको छ भने म फेरि पनि डोमवस्तीमा पुगेर समस्या सामधान गर्छु।’