निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ४० जना चिनियाँ कामदार गत जनवरी अन्तिम साता चीन गए।
चिनियाँ नयाँ वर्ष मनाउन गएका उनीहरूमध्ये २० जना नफर्कने गरी गएका थिए भने २० जना काममा फर्कने गरी गएका थिए। नफर्कने गरी गएका कामदारको ठाउँमा नयाँ कामदार आउने निश्चित भएको थियो।
जब चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलियो, उनीहरू फर्कन ढिलाइ भयो। विमानस्थलमा काम गर्न आउने नयाँ कामदार पनि आउन ढिलाइ हुने भयो। उनीहरू चीनमै १४ दिने क्वारेन्टाइनमा बसे। चिनियाँ स्वास्थ्यकर्मीले दिएको हेल्थ सर्टिफिकेट बोकेर पोखरा फर्किए। उनीहरू बेइजिङ, छेन्दु लगायतका ठाउँबाट पोखरामा काम गर्न आएका थिए।
चीनबाट पोखरा झरेपछि पनि उनीहरू अहिले क्वारेन्टाइनमा बसेका छन्। चीन र नेपालको विमानस्थलमा स्वास्थ्य परीक्षण भए पनि कुनै खतरा नहोस् भनेर उनीहरूलाई सेल्फ क्वारेन्टाइनमा राखिएको नेपाल नागरिक उड्डयन कार्यालय, पोखरा विमानस्थलका प्रमुख विनेश मुनकर्मीले बताए।
चीनबाट आएका ७१ जना कामदार अहिले सेल्फ क्वारेन्टाइनमा छन्। उनीहरूलाई आवासगृहमै बाहिर डुल्न नपाउने गरी राखिएको मुनकर्मीले बताए।
‘खाना कोठामै पुर्याइदिन्छौं’, मुनकर्मीले सेतोपाटीलाई भने, ‘दिनको तीन पटक उनीहरूको ज्वरो नाप्छौं।’
यसअघि पनि ३६ जना चिनियाँ कामदारले यसरी नै सेल्फ क्वारेन्टाइनमा राखिएको थियो। उनीहरूलाई १० दिनदेखि १८ दिनसम्म यसरी क्वारेन्टाइनमा राखिने मुनकर्मीले बताए।
अहिले पोखरा विमानस्थलमा १९० जना चिनियाँ कामदार कार्यरत छन् भने २८० जना नेपाली कामदार छन्।
कोरोनाभाइरसका कारण विमानस्थल निर्माणमा २ महिना बराबरको क्षति भएको मुनकर्मीले बताए।
‘हामी यो क्षति पछि कभर गर्छौं’, उनले भने, ‘विमानस्थल निर्माणको डेट पछाडि जाने गरी ढिलाइ हुन दिँदैनौं।’
राष्ट्रिय गौरवको आयोजनामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०२१ को अप्रिलमा सक्ने लक्ष्य छ ।
कामदारको स्वास्थ्य परीक्षणका लागि आयोजनाको छुट्टै स्वास्थ्य टोली भने नभएको मुनकर्मीले बताए।
‘अहिले ज्वरो नाप्नका लागि एक जना स्वास्थ्यकर्मी राखेका छौं’, उनले भने, ‘क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग कुरा गरेर स्वास्थ्यकर्मीको टोली पठाउन भनेका छौं।’
अहिलेसम्म निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली भने नपुगेको उनले बताए।
गण्डकी प्रदेशमा लमजुङको ङादी जलविद्युत आयोजनामा ३६ जना, नवलपुरको होङ्सी सिमेन्ट उद्योगमा १०९ जना र बुटवल नारायणगढ सडक आयोजनामा २६ जना चिनियाँ कामदार कार्यरत छन्।
उनीहरूमा स्वास्थ्य समस्या नभएको क्षेत्रीय स्वास्थ्य निर्देशक बिनोदबन्धु शर्माले बताए।