पोखरामा बसेर 'गैरकानुनी' चन्दा उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलले अब उनको भिसाको म्याद नथपिने र स्वदेश फर्कने तयारीका लागि केही समय दिएको बताए।
‘नेपालमा कम्पनी खोलेर समाजसेवाका नाममा चन्दा उठाउन पाइँदैन,’ पौडेलले बुधबार सेतोपाटीसँग भने, 'उनको भिसाको म्याद अब केही साता मात्र बाँकी छ, त्यसपछि स्वदेश फर्कनुपर्छ।'
महानिर्देशक पौडेलले बिजनेश भिसामा बस्ने विदेशीले चन्दा उठाएर कम्पनी खोल्न र समाजसेवा गर्न नपाउने बताए।
‘हामीले मिसेलको विषय नजिकबाट हेरिरहेका छौं, बिजनेश भिसा लिन जसरी कम्पनी खोल्नुपर्ने, नेपालमा व्यवसाय गर्नुपर्ने र कानुनअनुसार लगानी गर्नुपर्ने नियम छ, त्यसैगरी बन्द गर्न पनि समय दिनुपर्छ,’ उनले भने।
यसअघि उत्तर कोरियाली नागरिकलाई डिपोर्ट गर्दा पनि व्यवसाय बन्द गर्न समय दिएको उल्लेख गर्दै पौडेलले भने, 'मिसेललाई पनि व्यवसाय बन्द गर्न र ह्यान्डओभर गर्न समय दिएका छौं।'
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मिसेललाई अमेरिका डिपोर्ट (स्वदेश फिर्ता) गर्न अध्यागमन विभागमा सिफारिस गरिएको बताएका थिए।
मिसेलले पोखरामा ‘लर्निङ हाउस’ नामक कम्पनी खोलेकी थिइन्। उनले यो कम्पनी खोल्न विश्वव्यापी रूपमै चन्दा संकलन गर्न प्रयोग गरिने वेबसाइट ‘इन्डिगोगो’ मार्फत् १२ हजार अमेरिकी डलर चन्दा आह्वान गरेकी थिइन्। उक्त वेवसाइटले भने १४ हजार १ सय ७६ अमेरिकी डलर संकलन गरेको उल्लेख गरेको छ।
कम्पनी खोल्न मात्र होइन, उनले पोखरामा बसेर उक्त कम्पनीले गर्ने काममा पनि यसरी नै चन्दा उठाउने गरेकी छन्। मिसेलले आफ्नो व्यक्तिगत वेबसाइटमा हालसम्म ७ लाख अमेरिकी डलर चन्दा संकलन गरेको उल्लेख गरेकी छन्। यो रकम कहाँ र कसरी खर्च भयो भन्ने खुलाइएको छैन।
मिसेलले कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७४ चैत १४ गते लर्निङ हाउस प्रालि दर्ता गरेकी थिइन्। प्रबन्धपत्रमा कम्पनीको उद्देश्य म्यानेजमेन्ट, करिअर, सीप, कफी बनाउने बरिस्ता र भाषा तालिम सञ्चालन गर्ने उल्लेख छ। प्रबन्धपत्रअनुसार कम्पनीको सेयर मिसेलका नाममा ५० हजार र उनका नेपाली सञ्चालक ङवाङ छिरिङ तमु (गुरुङ) का नाममा ५ हजार कित्ता छ।
अमेरिकाबाट छ वर्षअघि पहिलोपटक भिजिट भिसामा नेपाल आएकी मिसेल त्यसपछि रिसर्च भिसामा पृथ्वीनारायण क्याम्पसमा स्वयंसेवी लेक्चर बनेर आएकी थिइन्। त्यसको पनि म्याद सकिएपछि उनी बिजनेस भिसामा नेपाल बसिरहेकी थिइन्।
बिजनेश भिसामै बसेर उनले नेपालका नाममा चन्दा संकलन गर्ने र उक्त रकम अमेरिकामै राख्ने गरेकी थिइन्।
सम्बन्धित समाचार :
नेपालीका नाममा ‘अवैध चन्दा’ उठाउँदै अमेरिकी नागरिक, कारबाही गर्न अध्यागमनले देखाएन चासो
नेपालीका नाममा ‘अवैध चन्दा’ उठाउँदै अमेरिकी नागरिक