सुर्खेतबाट एकजना नक्कली चिकित्सक पक्राउ परेका छन्। नक्कली एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा अस्पताल नै सञ्चालन गर्दै आएका दीपेन्द्र काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
वीरेन्द्रनगरको आवास क्षेत्रमा उनले शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका छन्। नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेर अस्पताल सञ्चालन गरेका थिए। उनले सोही अस्पतालमा रहेर बिरामी समेत जाँच गर्दै आएका थिए।
काफ्लेलाई नक्कली एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा नक्कली प्रवेशपत्र पेश गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। काफ्लेले आफूलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) विशेषज्ञ बताउँदै आएका थिए।
काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर अस्पताल खोल्नुका साथै बिरामी जाँच गरिरहेको पाइएकाले पक्राउ गरेर कारवाही गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सिबिआई) लाई नेपाल मेडिकल काउन्सिलले पत्राचार गरेको थियो।
ब्यूरोको निर्देशनपछि सुर्खेत प्रहरीले काफ्लेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिए।
उनीमाथि तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको रावलले बताए। अहिलेसम्मको अनुसन्धानले अन्य चिकित्सकको एनएमसी नम्बर प्रयोग गरेर बिरामी जाँच्दै आएको भेटिएको प्रहरीले जनाएको छ।
काफ्लेले २०३८८ नम्बरको एनएमसी नम्बर प्रयोग गर्दै आएका छन्। काफ्लेलाई ठगीसँगै आपराधिक लाभ, कागजात किर्ते लगायतका कसुरमा पनि मुद्दा चलाइने प्रहरीले जनाएको छ।
काफ्लेले भने प्रहरीसमक्ष बंगलादेशको एमजिआर ट्रष्टबाट एमबिबिएस उत्तीर्ण गरेको बयान दिएका छन्।
पक्राउ परेका काफ्लेले अनुमतिविनै अस्पताल सञ्चालन गरिरहेका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि नै शुभलक्ष्मी अस्पतालको सेवा सञ्चालन अनुमति रद्द गरिसकेको छ। तर पनि अस्पताल सञ्चालनमै छ।
पाँच महिनाअघि कात्तिक ७ गते उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल उद्घाटनका लागि सुर्खेत आएका थिए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको अस्पताल सञ्चालन र अस्थायी अनुमतिपत्र त्रुटीपूर्ण देखिएपछि उपराष्ट्रपति पुन अस्पताल उद्घाटन नगरेरै काठमाडौं फर्किएका थिए।