प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्किएका हुन्।
१२ दिन अस्पताल बसेर फर्किएका ओलीले डिस्चार्ज हुँदा पत्रकारहरूलाई कुनै प्रतिक्रिया भने दिएनन्। तर उनले अस्पतालबाट बाहिरिएपछि भने पत्रकारहरूतर्फ हेरेर मुस्कुराउँदै हात हल्लाएका थिए।
उनको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्य मिर्गौला प्रत्यारोपण गरिएका अरू बिरामीको जस्तै रहेको बताएका छन्।
‘उहाँको पेटमा हामीले एउटा पाइप राखेका छौं’, त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागका प्रमुख डाक्टर उत्तमकुमार शर्माले भने,‘बालुवाटारमा पनि हामी उहाँको निगरानी गर्छौं। उहाँका सबै प्यारामिटर सामान्य देखिए, त्यो पाइप निकाल्छौं।’
बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राख्नका लागि आइसोलेसन कक्ष बनाइएको छ। संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई केही समय छुट्टै राख्न लागिएको चिकित्सकहरूले बताएका छन्।
प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि उनको स्वागतका लागि संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत अस्पताल पुगेका हुन्।
प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।
हेर्नुस् तस्बिर:
भिडिओ -