भाइरस संक्रमणबाट बचाउन ह्यान्ड स्यानिटाइजरले प्रभावकारी भूमिका खेल्छ। संसारभर कोरोना भाइरस फैलिएसँगै ह्यान्ड स्यानिटाइजर अभाव चरम भएको छ। हामीकहाँ पनि बजारमा स्यानिटाइजर पाइन छाडिसक्यो।
यही अभाव र आवश्यकता मध्यनजर गर्दै ललितपुर महानगरपालिका आफैंले स्यानिटाइजर बनाउन थालेको छ। महानगरले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा घरेलु स्यानिटाइजर बनाउन सुरू गरेको हो।
महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको पहलमा नास्टले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्यानिटाइजर बनाउन उत्पादकहरूलाई तालिम दिएको छ। तालिम लिनेमा स्वास्थ्यकर्मी तथा एक वडाबाट दुई जना प्रतिनिधि छन्। उनीहरूले यो काम सिकेर अरूलाई पनि सिकाउने महानगरले जनाएको छ।
आइतबार नास्ट परिसरमा वरिष्ठ रसायनशास्त्री सजनलाल स्याउलाले दस स्वास्थ्यकर्मीलाई घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाए।
'घरेलु मदिरासँग ग्लिसरिन र हाइड्रोजन–पेरो–अक्साइडको मात्रा मिलाएर स्यानिटाइटर बनाउन सकिन्छ,' सहभागीलाई विधि सिकाउँदै डा. स्याउलाले भने, 'तर हाइड्रोजन–पेरो–अक्साइड प्रयोग गर्दा एकदमै सावधानी अपनाउनुपर्छ। यो कीटाणुनाशक रसायन हो। मात्रा मिलेन भने छाला पोल्न सक्छ। जल्न सक्छ। त्यसैले तोकिएको परिमाणमा मात्र प्रयोग गर्नुपर्छ। हेलचेक्र्याइँ गर्न भएन।'
विश्व स्वास्थ्य संगठनका अनुसार ७५ देखि ८० प्रतिशत 'अल्कोहल' भएको मदिरा स्यानिटाइजरका लागि उपयुक्त मानिन्छ। बाँकी २० देखि २५ प्रतिशत पानी, हाइड्रोजन-पेरो-अक्साइड र ग्लिसरिन मिसाएर बनाउन सकिने स्याउलाले जानकारी दिए।
'डब्लुएचओको मापदण्डअनुसार नै हामीले स्यानिटाइजर बनाएका छौं। यो सबैले सजिलैसँग प्रयोग गर्न सक्छन्,' उनले भने, 'राम्ररी प्रयोग गर्दा स्यानिटाइजर १० सेकेन्डमा प्रभावकारी बन्छ। साथै यो हात सफा राख्ने सजिलो तरिका पनि हो।'
विपद्को समयमा सबै ठाउँमा साबुन-पानी उपलब्ध नहुने र बेला-बेला हात धुन सम्भव नहुने स्थितिलाई ध्यनमा राखेर स्यानिटाइजर बनाउन सुरू गरिएको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव तथा स्यानिटाइजर उत्पादन संयोजक राजु महर्जनले जानकारी दिए।
'विपदबाट बच्न र बचाउन हामीले आफ्नो तर्फबाटै सक्दो प्रयास गर्नुपर्छ। त्यो काम ललितपुर महानगरले गरिरहेको छ,' महर्जनले भने, 'हाम्रो काम हेरेर देशै भरका स्थानीय तहले सुरू गरून्, महानगरको आग्रह छ।'
महानगरले यसअघि नै स्थानीय तहमा मास्क उत्पादन सुरू गरेको थियो। अहिलेपनि मास्क उत्पादन कार्य जारी छ। आइतबार स्यानिटाइजर बनाउने तालिम लिन नास्टको सभाहलमा उपस्थित सबैलाई महानगरद्वारा उत्पादित मास्क वितरण गरिएको थियो।
अबको एक सातामा स्थानीयस्तरमै उत्पादित मास्क र स्यानिटाइजर बजारमा पुर्याउने महानगरको योजना छ।
'सकेसम्म छिटो एक साताभित्रै मास्क र स्यानिटाइजर स्थानीयले उपभोग गर्न पाउँछन्,' स्वकीय सचिव महर्जनले भने, 'विपद रहेसम्म बजारमा अभाव सिर्जना हुन दिँदैनौं। नजिकको फार्मेसीबाट मास्क र स्यानिटाइजर किन्न सकिने छ।'
महानगरले उत्पादन गरेको मास्क दस रूपैयाँ पर्ने हिसाब निकालिएको छ भने स्यानिटाइजरको मूल्य निर्धारण गरिएको छैन। छोटो समयमा थोरै परिमाण उत्पादन गर्न पर्ने भएकाले यसको मूल्य बजारमा पाइने व्यवसायिक स्यानिटाइजरभन्दा केही महँगो पर्नसक्ने अनुमान महानगरको छ।
यो पनि हेर्नुस्ः
ललितपुर महानगरले थाल्यो मास्क बनाउन, दस रूपैयाँमा पाइने