आफ्नो घरमुनि डोजर आएको रैछ। भूकम्प आएझैँ घरै हल्लियो।
लक्ष्मी आचार्यको आँगनमै रहेको टौवा गर्ल्याम्मै ढालिदियो डोजरले। पराल पानीले भिज्यो। थन्काउने समय पनि पाइनन्। न त उनी र उनको परिवारले बाटो खनिँदै छ भन्ने पूर्व सूचना पाए।
पोखरा ३३ गैरीगाउँकी आचार्यले किन यस्तो गरेको भनेर सोधिन्। उल्टै गाली खाइन्।
‘डोजर आउँदा घर नै भुकम्प आएझैँ थरर हल्लियो', लक्ष्मीले सेतोपाटीलाई भनिन्, 'यसो नगर न भन्दा तलाई के मतलब भन्छन्, कति रूवाउँछन्।’
आँगन र टौवा डोजरले भत्काइदिएको हेर्न नसकेर उनी घरभित्र पसेर रोइन्।
यो घर आँगन उनका श्रीमान हरिप्रसादको २८ वर्षकाे कमाइ हो।
७१ बर्षीय हरिप्रसाद आचार्य ‘गोर्खाली’ले २०३३ सालमा गाउँमाथि बाटो नजिकै घर बनाएका थिए।
घर अगाडिबाट मानिस हिँड्ने ठूलो बाटो थियो। जसलाई ‘शहर बाटो’ भनिन्थ्यो। यो बाटोमा स–साना सवारी साधन समेत गुड्थे।
त्यतिबेला यो घरघडेरी जोड्न उनी कमाउन जाने ठाउँ पुग्न हिँडेर सात दिन लाग्थ्यो। ती वर्ष मोटरबाटो नहुँदाका पीडा उनले राम्रैसँग भोगे।
हुम्लामा २८ वर्ष शिक्षक भएर कमाएको तलब उनले गैरीगाउँको घर घडेरीमा खन्याएका थिए।
अहिले त्यही घरको आँगनबाट मोटरबाटो हिँड्न थालेपछि उस्तै पीडा भइरहेको छ। जति हिँडेर जुम्ला पुग्दा हुन्थ्यो।
उनको घरदेखि २० मिटरमाथि पक्की मोटरबाटो बनेको छ। घरमुनि फेरि आँगन नै काटेर नयाँ मोटरबाटो बनाउन डोजर चलिरहन्छ।
हरिप्रसादका छोरा जीवन आचार्य ‘गोर्खाली’ले डोजर मोटरबाटो बनाउन भन्दा पनि रूख काट्न र बजेट सिध्याउन केन्द्रित भएको बताउँछन्।
हुन पनि पक्कीबाटोबाट सुरू भएको ‘नयाँ बाटो’ फेरि त्यही पक्की बाटोमा जोडिन्छ। पक्कीबाटोसँग समानान्तर हुनेगरी झण्डै ४५० मिटर यो बाटो खन्न जरूरी नै नभएको आचार्यको तर्क छ।
पोखरा महानगरले गत साउनमा ‘कनेक्टिङ रोड’ शिर्षकमा १४ किलोमिटर बाटो १३ करोड बराबरको स्टिमेट सहित ठेक्का आह्वान गरेको थियो।
ठेक्का ९ करोड ५० लाख रुपैयाँमा सिम्रन– विरुवा जेभीले पायो। यस ठेक्काअन्तर्गत ५ वटा स–साना बाटो बनाउन लागेको ठेकेदार कम्पनीका इञ्जिनियर निर्माण भण्डारी बताउँछन्।
जस अन्तर्गत ठुलढुङ्गा- चैनपुर साढे ४ किलोमिटर, चैनपुर– भञ्ज्याङ– देउराली साढे ३ किलोमिटर, गैरीगाउँका ४५० मिटर लगायतका बाटो छन्।
यी बाटोहरू मागमा आधारित नभएको स्थानीय बताउँछन् ।
‘बाटो बनाउन कुनै अध्ययन पनि भएको छैन,' जीवनले भने, 'हामीले मागेका पनि होइनौं, कसैको लहडमा बाटो आयो।’
गाउँ चिरेर ४५० मिटर बाटो बनाउँदा ८ वटा भन्दा बढी रुख उखेलिएका छन्। जसमा ४ वटा आँपका रुख थिए । गैरीगाउँमा यसअघि पनि ५ वटा बाटो यसरी नै खोलिएका छन्।
महानगरका इञ्जिनियर अनिलप्रसाद आचार्यका अनुसार पोखरा ३३ का गाउँहरूमा ‘घरघरमा मोटरबाटोको पहुँच’ शिर्षकमा कार्यक्रम नै राखेर मोटरबाटो खोलिएको हो।
‘घर– घरमा एम्बुलेन्स पुग्ने गरी बाटो खन्नुपर्यो,' इञ्जिनियर आचार्यले सेतोपाटीसँग भने, 'बाटो बनाउँदा कसैलाई नोक्सान नहोस् भनेर ध्यान दिएका छौं।’
गाउँका प्रत्येक घरमा मोटरबाटो बनाउने भनेर डोजर पुग्यो । तर यसकाे वातावरणीय पक्षलाई ध्यान दिन नसकेको स्थानीयको गुनासो छ।
गैरीगाउँका विदुर आचार्य भन्छन्, ‘समितिका मान्छेले आफ्नो घर पर्ने ठाउँमा ढलान गरे, अरूकोमा पहिरो जाँदा समेत वास्ता गरेनन् ।’
बाटो बनाउने निहुँमा रुख काटेकामा पनि उनीहरुको चित्त बुझेको छैन।
गत वर्ष घर– घरमा मोटरबाटोको पहुँच शिर्षकमा डोजर चलाउँदा काटिएका रुख बेचिएको स्थानीय रामचन्द्र अचार्य बताउँछन्। बाटो बनाउँदा उनको जग्गामा निस्किएकाे ढुङ्गा ठेकदारले अन्तै लिएर गएको भन्दै उनले आपत्ति जनाए ।
यस्तै, कुलो बनाउने भनेर गत असारमा स्थानीय पुष्प आचार्यको खेतमा डोजर चल्यो । ‘रोपिएको खेतमा डोजर लगाएर छाडे, मलाई जानकारी पनि दिएनन्' पुष्पले भने, 'अहिले त्यो योजना नै अलपत्र छ, नबनाउने भए किन रोपो माथि डोजर चलाएको?’
यस विषयमा वडा कार्यालयमा निवेदन दिएपनि सुनुवाई नभएको पुष्पले गुनासो गरे। घर घरमा मोटरबाटो पुर्याउन डोजर लगाउन भन्दा ढलान गर्न उपयुक्त हुने सुझाव दिँदा समेत सुनुवाई नभएको उनीहरु बताउँछन् ।
‘ढलान गरेर बाटो बनाउँदा रुख काट्न पनि परेन, पहिरो पनि आउँदैन,' पुष्पले भने,'मान्छेले खनेर बाटो बनाउँ भन्दा जथाभावी डोजर लगाइयो ।’
उँमा बाटोको नाममा बजेट धेरै आउँदा यस्तो समस्या परेको उनीहरुको भनाई छ ।
पोखरा ३३ का वडाध्यक्ष पनि यही गैरीगाउँका बासिन्दा हुन्। यस विषयमा उनले कसैको घर नभत्केको दाबी गरे ।
‘भत्किएका आँगनमा वाल लगाइन्छ, जस्तो रुख ढालिएको छ, त्यस्तै रुख रोप्छौं,' उनले भने, 'कसैलाई मर्का पर्ने गरी काम गर्दैनौं ।’