भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै भारतीय प्रहरी दैलेख आइपुगेका छन्।
उनीहरू सोमबार साँझ दैलेख पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार दैलेखका ती कामदारले भारतको हरियाणा प्रदेशस्थित एक घरमा परिवारलाई खानामा विष मिलाएर चोरी गरी भागेका थिए।
घरका ७ जना सदस्यलाई उनले खानामा विष मिलाएर बेहोस बनाएर घरबाट २५ लाख भारु चोरेर भागेका एक जनाको ठेगाना फरक/फरक भए पनि त्यसलाई निश्चित गर्न उनीहरू आएका साउदले जानकारी दिए ।
‘दैलेखको एक जनाले भारतमा काम गरिरहेको घरको परिवारका सदस्यलाई विष खुवाएर २५ लाख जति लिएर भागेको रहेछ,’ प्रहरी निरीक्षक साउदले भने, ‘उसको ठेगाना फरक/फरक भएपछि ठेगाना कन्फर्म गर्न उनीहरू यहाँ आएका हुन्।’
साउदका अनुसार प्रहरी नायब निरीक्षक विजय विवेकको कमाण्डमा अरु दुई जना जवान दैलेख आएका छन्।
पोशाकमै आए पनि माफी मागे
ती कामदारको ठेगाना निश्चित गर्न दैलेख पुगेका भारतीय प्रहरी मंगलबार बिहान समन्वयका लागि जिल्ला प्रहरी कार्यालयमा पुगे। उनीहरू त्यहाँ आफ्नो पोशाकसहित पुगेका थिए।
पोशाक नै लगाएर आएकाले आफूले सम्झाएपछि उनीहरूले माफी मागेको प्रहरी निरीक्षक साउदले बताए।
‘यहाँ पोशाक लगाएर आउन हुँदैनथ्यो, हामीले किन आएको भनेर सोधेपछि उनीहरूले प्रहरी कार्यालय जाँदा लगाउनुपर्छ होला भन्ने लागेर लगाएको भन्नुभयो,’ साउदले भने, ‘हामीले यसो गर्न मिल्दैन भनेपछि तुरुन्तै माफी मागेका छन्।’
सोमबार साँझ दैलेख पुगेका भारतीय प्रहरी सदरमुकामस्थित मानसरोवर होटलमा बसेको उनले जानकारी दिए।
भारतीय प्रहरीसँग हरियाणा प्रदेशका एक जना स्थानीय समेत आएको साउदले जानकारी दिए।