स्वयम्भू भुइँखेलस्थित पलेस्वाँ पुखु (कमल पोखरी) काठमाडौं महानगरपालिकाको पहलमा जीर्णोद्धार हुँदैछ। पोखरी र सँगैको पार्क बनाउन एक करोड १३ लाख रूपैयाँको टेन्डर भएको पोखरी पर्ने वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।
उनका अनुसार पोखरी २०६० सालयता सुकेको हो। त्यसअघि टोल सुधार समितिले यहाँ माछा पालेर बिक्रीसमेत गर्थ्यो।
'धार्मिक ठाउँमा माछा पाल्ने?' भन्ने जनसमुदायको गुनासो आउन थालेपछि त्यो क्रम रोकियो।
'पहिले आकाशे पानी पोखरीमा जम्मा हुन्थ्यो। संरक्षण नभएर सुक्दै खुला चौरमा परिणत भयो,' उनले भने, 'पोखरी बन्दा सहरको शोभा बढ्ने भएकाले यो पटक हामीले ब्यूताउँने प्रयास गरेका छौं।'
स्थानीयका अनुसार यो पोखरीको इतिहास स्वयम्भूको उत्पत्तिसँग जोडिन्छ। पोखरीमा कमल फुल्ने भएकाले नाम कमल पोखरी भएको हो। यहाँ पहिले चार कमल पोखरी थिए। हाल भुइँखेल र स्वयम्भू संग्रहालय नजिकैको पोखरीबाहेक बाँकी मासिइसके। यहाँ फुल्ने कमल विशेष अवसरहरूमा स्वयम्भू स्तुपमा चढाइनुले पनि पोखरी र स्वयम्भूको सम्बन्ध भएको स्थानीय मान्छन्।
स्वयम्भू चैत्यपुराणअनुसार काठमाडौं पहिले ठूलो दह थियो। विपश्र्वी बुद्धले चन्द्रागिरिमा ध्यान गरे। ध्यान गरेपछि उनले कमलको बीउ दहमा फाले र पछि कमल फुल्यो।
'पोखरीको ठ्याक्कै इतिहास थाहा नभए पनि यसको फूलको विशेषताका कारण स्वयम्भू जत्तिकै पुरानो हुनपर्छ,' वडाअध्यक्ष डंगोल भन्छन्।
यो पोखरीको अर्को विशेषता हो, १२ वर्षमा सम्यक महादान पर्व मनाइनू। बौद्ध धर्मसँग जोडिएको यो पर्वमा विभिन्न विहारका दिपंकर बुद्धहरू भेला गराइन्छ र दान कार्य सम्पन्न हुन्छ। महादानक्रममा पोखरीको डिलमा सिंहासन बनाई राष्ट्र प्रमुखलाई बोलाइन्छ। जसका लागि एक वर्षअघि नै राजा वा राष्ट्र प्रमुखलाई निमन्त्रणा गरिन्छ।
पछिल्लो पटक २०६० सालमा गुठी र २०६२ सालमा निजी व्यक्तिले सम्यक दान गरेका थिए। गुठीले अनिवार्य र व्यक्तिले इच्छा भएमा गर्न सक्ने डंगोलले बताए।
'७२ सालमा पनि हुनुपर्ने हो तर गुठीको आन्तरिक समस्याका कारण हुन सकेन,' उनले भने।
६४ सालतिर पनि वडाले पोखरी जीर्णोद्धार पहल गरेको रहेछ। तर पोखरीको पानी बर्खामा जम्मा हुन्थ्यो, हिउँदमा सुक्थ्यो। पानी नअडिएपछि माटो चिराचिरा हुँदै पोखरी त्यसै रह्यो।
'पहिला कालो माटो हालेको थियो, पाँगो माटो चाहिँ थिएन। पाँगो माटोले पानी बाहिर जान दिँदैन। पहिले पोखरी जीर्णोद्धार गर्दा जम्मै माटो खनेकाले त्यो तह गयो। त्यही भएर पानी नअडेको हुन सक्छ,' डंगोलले भने, 'जे विधिमा रानीपोखरी बन्दैछ, त्यही अपनाउन लागेका छौं। आकाशे पानी संकलन गरेर पोखरी भर्ने योजना हो।'
पोखरी पुग्दा त्यहाँ दुइटा इनार पनि देख्न सकिन्छ। 'गुठी' भन्ने गैरसरकारी संस्थामा आबद्ध प्रकाश अमात्यका अनुसार पछिल्लो पटक सहरी विकास आयोजनामार्फत पोखरी 'रिचार्ज' योजना ल्याइएको थियो। त्यहाँ इनार खनेर पानी अड्याउने प्रयास भए पनि एक वर्षमै सुक्यो।
'पोखरीको महत्व त्यतिखेर हुन्छ जतिखेर पानी हुन्छ। अहिले फेरि परम्परागत रुपमै पोखरी बनाउन भनेर हाम्रो संस्थाबाट प्राविधिक सहयोग पुर्याइरहेका छौं,' उनले भने, 'पहिले परम्परागत माटोको महत्व नबुझेकाले पोखरी सफा गर्ने नाममा फालिएको रहेछ। त्यसलाई यो पटक सुधार गर्दैछौं।'
पोखरी करिब एक रोपनीमा फैलिएको छ। बाँकी आधा रोपनी खुला ठाउँ छ। खुला ठाउँ सदुपयोग गर्दै वडाले यहाँ पार्क पनि बनाउन लागेको छ। वरिपरि घुम्ने अनि बस्न मिल्ने ठाउँसहितको पार्क स्वयम्भू क्षेत्रलाई सुहाउँदो बनाउन लागिएको डंगोल बताउँछन्।
यसलाई 'धर्मचक्र पार्क' नाम दिइएको छ जसमा अष्टमंगल भनेर शंख, चक्र, कलश लगायत आकारका आठ प्रतीक पनि रहने उनले बताए।
करिब एक वर्षमा पोखरी र पार्क बनाइसक्ने महानगरको योजना छ।