रौतहटको कटहरीया नगरपालिका वडा नम्बर ९ स्थित तरहरी खोला किनारमा बस्दै आएका मुसहर बालबालिका विद्यालय जाँदैनन्।
६५ मुसहर परिवार बसोबास रहेको उक्त बस्तीमा करिब एक सय ५० जना बालबालिका छन्। बस्तीदेखि एक किलोमिटर टाढाको सरकारी विद्यालयमा गत वर्ष नै नाम लेखाए पनि उनीहरू पढ्न भने जाने गरेका छैनन्।
हरेक वर्ष भर्ना अभियानको समयमा केही दिन विद्यालय जाँदा साथी तथा शिक्षकहरूले पिट्ने गरेको बालबालिकाहरूको गुनासो छ।
'विद्यालय जाँदा फोहोरी र गन्हाउने भन्दै अरु विद्यार्थी र शिक्षकहरूले हेला गर्ने गरे, पढाउन ध्यान नदिने गरेपछि बालबालिका पढ्न जानै छाडे,' स्थानीय रामशरण माझीले भने।
सरकारी विद्यालयमा छोराछोरीको नाम लेखाउने गरेको भए पनि गरिबीका कारण किताब, कापी र विद्यालयको ड्रेस किन्न नसक्ने हुँदा समस्यामा रहेको अर्का अभिभावक प्रदीप माझीको दुखेसो छ।
पढ्ने उमेरका अधिकांश बालबालिका बस्ती नजिकैको तरहरी खोला किनारमा दिनभर खेल्ने गर्छन्। अन्य सुँगुर, बाख्रा चराउने, घरमा भाइ बहिनीहरू हेरेर बस्ने गरेको भेटिन्छन्।
गएका वर्षहरूमा पनि कक्षा एकमा भर्ना भएका बालबालिका केही दिन पढ्न गए, त्यसपछि भने जान छाडेका छन्। अति गरिबीका कारण अभिभावकहरू ज्याला मजदूरी गर्न जाने हुँदा छोराछोरीहरूलाई उचित स्याहार र हेरचाह गर्न पाउँदैनन्।
अभिभावक अकलु माझीले पनि फोहोरी हुने, फोहोर कपडा लगाएर पढ्न जाने र किताब कापी नहुने भएकाले शिक्षकहरू समेत ध्यान नदिने बताए।
'अभिभावकहरूले पनि पढाउन त्यति मतलब राख्दैनन्,' उनले भने।
खोला किनार झुपडीमा बस्दै आएका मुसहर परिवारमा आर्थिक दूरावस्थाका कारण बच्चाबच्चीको पढाइमा असर परेको मुसहर उत्थान संघ रौतहटका अध्यक्ष बिनोद माझी मुसहरले बताए।
'एकजना मात्र कमाउने र दैनिक कमाएको पैसाले खान समेत मुश्किल पर्ने हुँदा छोराछोरीको पढाइ, उपचार र हेरचाह गर्न मुसहरले सकेका छैनन्,' उनले भने।
माध्यमिक तहसम्म नि:शुल्क शिक्षा भने पनि अधिकांश मुसहरका छोराछोरीले पढ्न नपाएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरले बताए।
'उनीहरू गरिबीका कारण पढ्न पाएका छैनन्, सरकारले दलित विद्यार्थीका लागि विभिन्न कार्यक्रम ल्याएको भए पनि मुसहर बस्तीमा पुग्न सकेको छैन,' उनले भने।
एक कक्षामा नाम लेखाए पनि पढ्न नजाने १० वर्षीय रापेश माझी मुसहर स्कुलमा साथीहरूले पिट्ने गरेको बताए।
बस्ती नजिकैको विद्यालयका एक शिक्षकका अनुसार मुसहर बस्तीमा धेरै समस्या रहेकाले छोराछोरी पढाउन ध्यान नदिने र विद्यालय आए पनि घरमा उनीहरूको रेखदेख नहुने हुँदा पढाइ प्रभावित हुने गरेको छ।
जिल्लामा धेरै जसो मुसहरका परिवारहरू यो समय इँट्टाभट्टामा काम गर्न जान्छन्। भट्टामा काम गर्ने अभिभावकका छोराछोरी पनि उनीहरूसँगै काम गरिरहेका हुन्छन्। पढाइको उचित वातावरण र रोजगारीको व्यवस्थाले मात्रै मुसहरको जीवनमा परिवर्तन आउने भूमि अधिकार मञ्च रौतहटका जिल्ला संयोजक अनुप माझी मुसहरको तर्क छ।
'मुसहरलाई रोजगारीको व्यवस्था र बालबालिकालाई पढ्ने वातावरणसहित नि:शुल्क माध्यमिक तहसम्म शिक्षा भए मात्रै सुकुम्बासी समस्या समाधान हुन्छ,' उनले भने।
रौतहटको १८ वटा स्थानीय तहका विभिन्न वडाहरूमा ५८ वटा मुसहर जातिको साना ठूला बस्ती छन्। त्यहाँ करिब १५ हजार मुसहर परिवारको बसोबास छ।
दैनिक रोजगारी र पैतृक सम्पत्ति केही नहुँदा ३/४ पुस्तादेखि नै उनीहरू ज्याला मजदूरी गरेर कष्टकर जीवन गुजार्दै आएका छन्।