निजी अस्पतालहरूले कोरोना भाइरसका शंकास्पद बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न नसक्ने जनाएका छन्।
निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सुरक्षा सामग्री अभावका कारण उक्त सेवा दिन नसकिने बताएका छन्।
'अस्पतालहरूसँग सुरक्षा सामाग्री छैन, परीक्षण गर्नलाई किट छैन। यस्तो अवस्थामा कोरोना शंकास्पद बिरामीलाई उपचार गर्न सम्भव छैन,' उनले भने।
स्वास्थ्य मन्त्रालयले सय शैयामाथिका निजी अस्पतालहरूलाई समेत कोरोनाको शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन भनेको छ।
ती अस्पतालहरूलाई छुट्टै फिवर क्लिनिक र आइसोलेसन बेड तयार गर्न पनि भनिएको छ।
जावालाखेलस्थित अल्का अस्पतालका सञ्चालकसमेत रहेका थापाले आफ्नो अस्पतालमा फिवर क्लिनिक भए पनि आइसोलेसन बेड नभएको बताए।
'स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) छैन। परीक्षणको लागि पठाउनका लागि किट छैन। यस्तो अवस्थामा सेवा दिन सकिँदैन,' उनले भने।
थापाले अहिले कोरोना शंका लागेर जाँच गर्न आउने बिरामीलाई फिवर क्लिनिकमा सामान्य जाँच गरेर सरकारले तोकेको अस्पतालमा पठाइने जनाए।
'अस्पतालमा अन्य बिरामीहरू पनि हुन्छन्। शंकास्पदहरूको आवतजावत गर्दा अन्यलाई पनि खतरा हुन्छ,' उनले भने, 'बरू सरकारले शंकास्पदहरूलाई कुन अस्पतालमा छिटो रेफर गर्नुपर्ने हो त्यो भन्दिनुपर्यो।'
ग्रान्डी अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डेले पनि अहिले कोरोना शंकास्पद बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न नसकिने बताएका छन्।
'अहिले तयारी थाल्न सक्ने अवस्था छैन। पिपिई छैन, तालिमप्राप्त स्वास्थ्यकर्मी छैन। कसरी सुरू गर्नु,' उनले प्रश्न गरे।
सरकारले त्यस्ता सामाग्रीहरू उपलब्ध गराउन सकेको अवस्थामा अस्पतालले सेवा दिनसक्ने पाण्डेले दाबी गरे।
ग्रान्डी अस्पतालमा ३० वटा आइसोलेसन बेड रहे पनि त्यो नामको मात्र बेड रहेको उनको बुझाइ छ।
'बेड भएर के गर्नु? पिपिई छैन, तालिमप्राप्त स्वास्थ्यकर्मी छैन। नाम मात्रको आइसोलेसन छ,' उनले भने।
अहिले कोरोनाको शंका लागेर जाँच गर्न आउने बिरामीलाई सामान्य ज्वरो जाँच गरेर सरकारले तोकेको अस्पतालमा पठाउनुको विकल्प नरहेको उनले जनाए।
थापाथलीस्थित नर्भिक अस्पतालले भने कोरोनाको शंकास्पद विरामीलाई अस्पतालमै राखेर उपचार गर्ने व्यवस्था भएको जनाएको छ।
अस्पतालका उप-निर्देशक विप्लव सापकोटाले अस्पताले छुट्टै फिबर क्लिनिक र आइसोलेसन बनाएर सेवा सुरू गरेको बताए।
'कोरोनाको शंका लागेर जाँच गर्न आउने विरामीलाई ज्वरो हेरेर आइसोलेसनमा राख्छौं। त्यसपछि नमूना परीक्षणको लागि प्रयोगशाला पठाउँछौं,' उनले भने।
नर्भिकमा ४ वटा आइसोलेसन बेड राखिएको छ। सापकोटाले अस्पतालसँग अहिलेलाई पिपिई लगायत आवश्यक उपकरण भएको बताए।
यसअघि सरकारले अस्पतालहरूले कोरोनाका शंकास्पद बिरामीको आफैं उपचार गर्नुपर्ने, टेकु पठाउन नपाइने निर्णय गरेको थियो।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अब कोही व्यक्ति कोरोनाको शंका लागेर जाँच गर्न आए अस्पतालले त्यसको व्यवस्था गर्नुपर्ने छ।
यसअघि नीजि तथा सामुदायिक अस्पतालहरूले कोही व्यक्ति कोरोनाको शंका लागेर जँचाउन आउने बित्तिकै टेकु अस्पताल पठाउने गरेका थिए।
यो नियम सुरुमा सय शैयादेखि माथिको क्षमता भएको अस्पतालमा लागु हुनेछ।
'यसको सुरुवात सबैभन्दा पहिले सय शैयाको अस्पतालबाट हुन्छ। त्यसपछि सबैलाई लागु हुन्छ,' श्रोतले भन्यो।
अस्पतालहरूले टेकु अस्पतालमा रिफर गरिएका विरामीहरू सार्वजनिक सवारीबाट जाने गरेकोले थप जोखिम निम्तिएको भन्दै उक्त निर्णय गरिएको हो।
मन्त्रालयले सबै निजी अस्पतालहरूलाई कोरोना भाइरसका शंकास्पद विरामीका लागि छुट्टै आइसोलेसन बेड र फिबर क्लिनिक व्यवस्था गर्न निर्देशन दिएको छ।
अब अस्पतालहरूले शंकास्पद विरामीलाई आइसोलेसनमा राखेर परीक्षणको लागि घाँटी र नाकको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने छ।
साथै कसैलाई संक्रमण देखिए सकेसम्म अस्पतालमै उपचार गर्ने व्यवस्था गर्नुपर्ने र रिफर गर्नुपरे सबै मापदण्ड पुर्याएर एम्बुलेन्समा पठाउनुपर्नेछ।
'रिफरका लागि हामीले टेकु, पाटन र एपिएफ अस्पताल तोकेका छौं। थप विस्तार गर्ने तयारी छ,' श्रोतले भन्यो।
विश्वमा कोरोना भाइरसको संक्रमण देखिन थालेयता मौसमी रूघाखोकीका विरामी आउँदा अस्पतालहरूले सिधैं टेकु अस्पताल जान सुझाउँदै आएका थिए।
टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले यसरी अव्यवस्थित तरिकाले विरामी आउँदा अस्पतालमा चाप हुने र त्यसले थप जोखिम निम्त्याउने खतरा हुने गरेको बताए।
उनले अब टेकु अस्पतालमा कोरोना शंकास्पद विरामीको मात्र जाँच हुने जनाए।
'अन्य ४० जना बिरामीलाई हामीले वीर र टिचिङमा रिफर गर्दैछौं,' उनले भने।