सधैंजसो भीडभाड हुने पर्सास्थित नेपाल-भारतबीचको रक्सौल नाका आइतबार सुनसान छ।
नाकाबाट मालवाहक सवारीसाधन आएका छैनन्, पैदल यात्रुको संख्या पनि न्यून छ।
यस्तो हुनुमा नाकाबन्दीले भने होइन। भारतमा आज कर्फ्यू लगाएकोले त्यसको असर नाकामा देखिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीका अनुसार आइतबार बिहान अलिअलि मानिस नाकाबाट आवतजावत गरे पनि दिउँसो ठप्प नै छ।
‘आज उता (भारततर्फ) कर्फ्यू छ, त्यसैले नाका त सुनसान छ नि,’ उनले सेतोपाटीसँग भने, ‘बिहान अलिअलि मानिस आवतजावत गरे। मालवाहक सवारी साधन पनि चलेको छैन।’
उनले अरूबेला नाका सुचारू नै रहने बताए।
‘नाका बन्द गर्ने कुनै तयारी छैन,’ उनले भने, ‘बरू थप व्यवस्थित बनाउन खोजिरहेका छौं।’
कोरोना त्रासले गर्दा भारतबाट नेपाल फर्कनेको संख्या पहिलेभन्दा बढेको बताए।
पर्साभन्दा पश्चिम रूपन्देही बेलहिया नाकामा पनि आज खासै चहलपहल छैन। इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार भारततर्फ आज कर्फ्यू भएकोले नाका सुनसानजस्तै छ।
शनिबार भने यो नाका भएर १८ हजार दुई सय व्यक्ति नेपाल प्रवेश गरेका थिए।
नेपाल आउने भारतीय नागरिकलाई प्रवेश गर्न दिइएको छैन भने नेपालीलाई ज्वरो जाँच गरेर आउन दिइएको छ। त्यस्तै भारततर्फ पनि भारतीय नागरिकलाई प्रवेश दिइएको छ तर नेपालीलाई प्रवेशमा रोक लगाइएको छ।
बाँकेस्थित रूपैडिया नाका भने अबका एक सातालाई बन्द गरिएको छ। कोरोनाभाइरस संक्रमण नेपाल भित्रिन नदिन सीमामा कडाइ गरिएको हो।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल-भारत दुबैतर्फका अधिकारी सम्मिलित आजको बैठकले एक साता सीमा नाका बन्द गर्ने निर्णय भएको बताए।
‘रूपैडिया सीमा नाका एक सातालाई बन्द गरियो,’ उनले सेतोपाटीसँग भने, ‘अवस्था हेरेर फेरि अर्को निर्णय लिन सकिन्छ।’
नाकाबाट मानिसको आवतजावत बन्द गरिए पनि मालवाहक सवारी साधन निर्वाध आउन दिने उनले बताए।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका सीमा नाका पनि आज सुनसानजस्तै छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नाका आज सुनसान भएको बताए।
‘भारतमा कर्फ्यू भएर सुनसान छ। हिजोसम्म भीडभाड थियो,’ उनले भने, ‘नाका व्यवस्थित बनाइएको छ।’
नाका बन्द गर्ने तयारी भने नरहेको उनले बताए।
छिमेकी कञ्चनपुरको गड्डाचौकी नाकाबाहेक अरू नाका बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले नाकामा हेल्पडेस्क राखेको बताए।
‘आज नाका भएर आवतजावत गर्नेहरू कम छन्,’ उनले भने, ‘हिजोअस्ति धेरै भीड थियो।’
नाकाबाट मानिसहरू पैदल आए पनि सवारीसाधन भने सञ्चालनमा नरहेको उनले बताए।