अचेल सबै नेपालीको मुखमा झुन्डिएको छ- कोरोना।
नझुन्डियोस् पनि कसरी! चार महिनाअघि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस अहिले १८० भन्दा बढी देशमा पुगेको छ। तीन लाख १६ हजार मानिसलाई आफ्नो चपेटामा पारेको छ भने १३ हजार ५ सय ९७ को ज्यान लिएको छ।
नेपालमा कोरोना भाइरस अहिले देखा परेको छैन। तर सरकारले सावधानीका लागि देशैभरि विभिन्न कदम चालेको छ। ती कदमले नागरिकको जीवनमा प्रत्यक्ष असर पारेको छ।
संसारभर प्रभाव पारेको कोरोनाबारे चर्चा पनि त्यही किसिमले पनि भइरहेको छ। ती चर्चामध्ये कति सत्य हुन्छन्, कति हल्ला।
अनावश्यक हल्ला सुन्दासुन्दा तपाईंहरू पक्कै पनि वाक्क हुनुहुन्छ होला। कोरोनाबारे अनेकथरि कुरा सुन्दासुन्दा वाक्क भएर अनामनगरस्थित मामाको खाना एण्ड खाजा घरमा साहुजीले आइतबार पसलमा एउटा सूचना टाँसे।
त्यसमा लेखिएको थियो- यहाँ कोरोनाको अनावश्यक विश्लेषण नगरौं।
आफ्नो पसलमा आउने ग्राहकले गर्ने कोरोनाका गफ सुन्नु पर्ने उनको वाध्यता थियो।
४३ वर्षीय टेकराज पराजुलीको मामाको खाना एण्ड खाजा घरमा खाना खान आउनको भीड लाग्ने गर्छ। त्यहाँ आउने ग्राहकले उनलाई 'मामा' भनेर चिन्छन्।
आइतबार बिहान पनि टेकराजको पसलमा खाना खानलाई सधैझैं भीड थियो। चार-पाँच जना खाना नखाई कोरोनासम्बन्धी गफ लाउन थालेपछि टेकराजलाई झ्याउ लाग्यो, रिस पनि उठ्यो।
'बिहान चार-पाँच जना ग्राहक आएका थिए, खानै नखाई कोरोनासम्बन्धी गफ लाउन थाले,' टेकराजले सेतोपाटीसँग भने,'खाना चिसिइसक्यो तर खादैनन् त बा।'
ग्राहकलाई गाली गर्न मिलेन। उनले एक जुक्ति निकाले। आफ्ना छोरालाई भनेर एफोर कागजमा सूचना प्रिन्ट गर्न लगाए। त्यो सूचना पसलमा टाँसिदिए।
आठ वर्षदेखि काठमाडौंमा होटल चलाइरहेका उनले पहिलो पटक ग्राहक लागि यस्तो सूचना जारी टाँसेका हुन्।
'खाना खान आएका ग्राहकले त आफ्नो खाना खाएर जान पर्यो नि,' उनले भने,'कोरोनाको बिरामीले त झन चिसो खाना खान नहुने भनेको छ क्यारे।'
मामाको पसलमा राखिएको उक्त सूचनाको फोटो उनका ग्राहक सुदन चुडालीले फेसबुकमा हालेका थिए। उनले राखेको त्यस फोटोले सकारात्मक सन्देश दिने भन्दै धेरैले रूचाएका छन्।
सुदनले पनि राम्रो सन्देश प्रवाह हुन्छ भनेरै उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका बताए।
त्यसरी सूचना टाँसेपछि भने कोरोनासम्बन्धी गफ कम हुन थालेको उनको भनाइ छ।
'अहिलेचाहिँ अलि कम छ। सबैले ‘राम्रो गर्नुभएको छ’ भन्नुभएको छ,' टेकराज भने।
यो पनि पढ्नुहोस्ः
नेहा धुपियादेखि दिया मास्केसम्मलाई खाना खुवाएका 'मामा'