सुनसरीको गढी गाउँपालिकाकी सीता विश्वास थन्दारको हत्या वा आत्महत्या भन्ने कुरामा आफैं स्पष्ट हुन नसकेपछि प्रहरीले मृतकका श्रीमान दिवशलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ गरेको छ।
जबकी मृतकका बुवाले दिवशविरूद्ध आत्महत्या दुरूत्साहन गरेको भन्दै दिएको जाहेरी प्रहरीले दर्ता गरेको छैन।
थन्दारको गत चैत ६ गते मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर प्रविन कार्कीले भने आत्महत्याको जाहेरी आउन ढिलो भएकाले दिवशलाई अभद्र व्यवहारको उजुरी दर्ता गरेर थुनामा राख्ने म्याद अदालतबाट लिएको बताए।
'सुरूमा शंकास्पद लागेर हामीले सोधपुछका लागि मृतकका श्रीमानलाई पक्राउ गर्यौं,' कार्कीले सेतोपाटीसँग भने,'अनुसन्धानकै लागि पनि दुई/तीन दिन लाग्छ तर पक्राउ गरेपछि अदालतको अनुमति नलिइ २४ घण्टाभन्दा बढी हिरासतमा राख्न पाइँदैन। अनुमति लिन जाहेरी लिएर अदालत जानुपर्छ। दुरूत्साहनको जाहेरी पनि परेको थिएन त्यसैले हामीले अभद्र व्यवहारको उजुरी दर्ता गरेर उनलाई थुनामा राख्ने अनुमति लिएका हौं।'
जाहेरी नपरे पनि प्रहरीले घटनास्थलको मुचुल्का प्रतिवेदनका आधारमा अदालतसँग शंकास्पद व्यक्तिलाई हिरासतमा राख्ने अनुमति माग्न सक्छ।
कार्कीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट सीताले आत्महत्या गरेको देखिएको पनि बताए।
घटनास्थलबाट 'सुसाइड नोट' भेटिएको र उनकै आठ वर्षका छोराले झुण्डिएको भन्ने बयान दिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार सुसाइड नोटमा 'म मेरो श्रीमानको नाजायज सम्बन्धले गर्दा आत्महत्या गर्नु पर्ने अवस्था आयो यसमा मेरो गाँउ समाजको कुनै दोष छैन,' भन्ने लेखिएको छ।
धर्म नारायणले दिएको जाहेरी प्रहरीले अहिलेसम्म दर्ता गरेको छैन। तीन/चार दिन धाउँदा पनि जाहेरी नलिएपछि प्रहरी कार्यालयमै छोडेर आएका छन्।
'उजुरी दिन गएको तीन/चार दिनभन्दा बढी भइसक्यो तर दर्ता गर्न मानेको छैन,'धर्मनारायणले सेतोपाटीसँग भने,'प्रहरीले अरू नै मुद्दा भएको कारण यो दर्ता गर्न नमिल्ने भन्छ।'
इन्स्पेक्टर कार्कीले पनि एकैचोटि दुइटा मुद्दा दर्ता गर्न नमिल्ने भएकाले अहिलेलाई आत्महत्या दुरूत्साहन मुद्दा दर्ता नगरेको बताए।
'अभद्रमा अनुसन्धान भइरहन्छ। पोष्टमार्टमको रिपोर्ट पनि आइसकेको छैन अनि रिपोर्ट आएपछि जाहेरीको दुई वर्ष हद म्याद हुन्छ। पाँच दिनपछि दर्ता गर्दा पनि खास केही फरक पर्दैन,' इन्स्पेक्टर कार्कीले भने, 'यो बीचमा हामीले स्थलगत रूपमा मृतकको घरमा गएर बुझ्नुपर्ने हुन्छ। काजकिरिया भएको बेला मान्छेलाई बोलाउने कुरा पनि हुँदैन। आठ दस दिनपछि काजकिरिया सकिन्छ हामी गएर थप बुझ्ने काम र जाहेरी दर्ता गरौंला भनेर राखिदिएका छौं। तर दर्ता चाहिँ गरेको छैन।'
धर्मनारायणले घटना सुनेर आफ्नी छोरीको घरमा जाँदा उनलाई पिँढीमा व्ल्याङ्केटले मुख छोपेर पल्टाएको अवस्थामा देखेको बताउँछन्।
'पछि ब्ल्याङ्केट खोलेर हेर्दा घाँटीमा नीलो दाग देखेको थिएँ। सबैले आत्महत्या भन्न थाले मलाई भने ज्वाइँमाथि शंका लागेर 'आत्महत्या दुरूत्साहन'को जाहेरी दिएको हुँ,' उनले भने।
प्रहरीले पनि घटनास्थलमा पुग्दा मृतकलाई खाटमा राखिएको नै भेटाएको थियो।
सीता र उनका श्रीमानबीच धेरै झगडा हुने गरेको र उनीहरूको झगडा प्रहरी कार्यालयमा पहिले पनि आइसकेको इन्स्पेक्टर कार्कीले बताए।