सुर्खेतमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने दुई जना पक्राउ परेका छन्। लकडाउनको समयमा बाहिर निस्किएर प्रहरीलाई अवरोध पुर्याउने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
लकडाउनको पहिलो दिन मंगलबार बिहान १० बजेतिर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए। ‘लकडाउन कार्यान्वयनका लागि खटिएको प्रहरीलाई नै अवरोध पुर्याएकाले दुईजना पक्राउ परेका छन्’ उनले भने।
प्रहरी निरीक्षक रायमाझीका अनुसार उनीहरुलाई सचेत गराएर छाडिने छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको छ।
रायमाझीका अनुसार लकडाउन उल्लंघन गरी चलाइएका सवारी साधन समेत नियन्त्रणमा लिइएको छ। मंगलबार बिहान मात्र ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उदय सिँजापतिले जानकारी दिए।
आज पहिलो दिन भएकाले ती सवारी नियन्त्रणमा लिइएका सवारी साधनलाई जरिवाना तिराएर छाडिने उनले बताए।