फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकामध्ये केही सरकारको सम्पर्कमा आएका छन्।
सोमबार कतारबाट ती युवतीसँगै जहाजमा आएका झापाका एकजनालाई सम्पर्कमा लिइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले सेतोपाटीलाई जानकारी दिए।
‘केन्द्रले नाम सर्कुलर गर्नेबित्तिकै ती व्यक्तिलाई हामीले सम्पर्क गर्यौं। उहाँको स्वास्थ्य ठीक छ र उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ उनले भने।
कतारमा काम गर्ने उनी गत चैत ४ गते संक्रमित युवती आएकै जहाजमा नेपाल आएका थिए।
त्यस्तै बाग्लुङबाट एकजना महिला पनि सम्पर्कमा आएकी छन्। प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले अहिले स्वास्थ्यकर्मीको टोली उक्त महिलाको घरमा पुगिसकेको जानकारी दिए।
‘उनलाई ज्वरो आएको खबर सुनेपछि स्वास्थ्यकर्मीको टोली पठाएका छौं। बिरामीले आफू संक्रमित युवती आएकै जहाजबाट नेपाल आएको भन्नुभएको छ। थप कुरा पछि थाहा हुन्छ,' उनले भने।
बाग्लुङ जिल्ला प्रशासनमा भने सरकारले सो कतार एयरबाट आएका यात्रुहरूको सम्पर्क डिटेल अझै पठाएको छैन।
‘अहिलेसम्म हामीकहाँ आएको छैन,’ सिडिओ सैंजुले भने।
फ्रान्सबाट कतारको दोहा हुँदै आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले उनीसँगै जहाजमा आएकाहरूको खोजीकार्य अगाडि बढाएको छ। तर त्यो धेरै प्रभावकारी हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अन्य यात्रुहरूको खोजी गर्न मातहातका सबै निकायलाई खबर गरिएको जानकारी दिए।
‘स्थानीय विकास मन्त्रालयअन्तर्गत सबै तहहरूलाई जानकारी गराएका छौं। यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गरिहरेको छ,’ उनले भने।
महाशाखाका एक अधिकारीले यात्रुहरूलाई ट्रयाक गर्न स्वास्थ्यकर्मीको टोली सबै ठाउँमा खटिसकेको जानकारी दिए।
‘टोलीले यात्रुहरूलाई सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने हो। कुनै संक्रमण देखिए परीक्षण गर्नको लागि भन्ने हो,’ अधिकारीले भने, ‘उहाँहरू अन्य व्यक्तिको सम्पर्कमा पनि गइसकेको हो भने त्यो पनि खोजी हुन्छ।’
महाशाखाले कति यात्रु सम्पर्कमा आए भन्ने एकिनका साथ भन्न सकेको छैन।
सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा जहाजमा रहेका अन्य यात्रुको पनि खोजी गर्ने बताएका थिए। मन्त्रालयले सूचना जारी गरेर ती यात्रुहरूलाई आफैं सम्पर्कमा आउन पनि आह्वान गर्न सकिने बताएको छ।
तर सरकारले अहिले सम्म सो बिमानमा आएका यात्रुलाई सम्पर्ककालागि सार्वजनिक सूचना गरेको छैन। तर सबैभन्दा प्रभावकारी उपाय सायद त्यही हो। ती युवतीसँग चैत ४ गते दोहाबाट आएको कतार एरयको फ्लाइट नम्बर क्वुआर ६५२ जहाजमा आउने सबै २०५ यात्रुलाई 'सेल्फ आइसोलेसन’ बस्न र नजिको प्रहरी चौकी वा स्वास्थ्य चौकीमा तुरून्त खबर गर्न सार्वजनिक सूचना निकाल्न सक्छ। त्यसो नगरेमा कानुनअनुसार कारबाहीको जनाउ दिन सक्छ। त्यसो भयो भने धेरै यात्रु आफैं सम्पर्कमा आउनेछन्। उनीहरूको स्वास्थ्य निगारानी गर्न सकिन्छ। त्यसपछि सम्पर्कमा नआएका वा आउन बाँकी थोरै मानिसलाई सरकारले स्थानीय प्रशासनमार्फत खोज्न सक्छ।
के सरकार त्यसो गर्न तयार छ?