नेपाल-भारत सीमा नाकामा अलपत्र परेका नेपालीलाई आज स्वदेश प्रवेश गर्न दिइने भएको छ।
अर्थ र सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए।
मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सुनाउँदै खतिवडाले नेपाल प्रवेशको अन्तिम मौका दिने निर्णय भएको बताए।
‘पूर्वसूचना नपाएर वा यात्रा कायमै राखेर सीमा क्षेत्रमा नेपालीहरू आइपुगे,’ खतिवडाले भने, ‘उनीहरूको नागरिकतालगायत कागजात हेरेर नेपाली हुन् भन्ने एकिन भएपछि आज अन्तिमपटक नेपाल प्रवेश गर्ने मौका दिइन्छ।’
पूर्वदेखि पश्चिमसम्म भारतसँगका सीमा क्षेत्रमा नेपालीहरू अलपत्र परेको जानकारी स्थानीय प्रशासन र सञ्चार माध्यमबाट जानकारी आएपछि आज प्रवेश गर्न दिने निर्णय गर्नुपरेको उनले बताए।
आज सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरू अनिवार्य रूपमा क्वारेनटाइनमा बस्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी १४ दिन उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्छ।
एक हजार जनाभन्दा बढी अलपत्र रहेको कैलालीको गौरीफन्टा नाकाका नेपालीको विवरण संकलन गरी नेपाल प्रवेश गर्न दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सेतोपाटीलाई बताए।
‘यहाँ एक हजार जनाजति नेपाली हुनुहुन्छ। उहाँहरूको व्यक्तिगत विवरण संकलन गरी नेपाल प्रवेश गर्न दिने र स्थानीय तहसँग समन्वय गरी क्वारेनटाइनमा बस्ने व्यवस्था मिलाइन्छ,’ उनले सेतोपाटीसँग भने।
मंगलबार राति नै नाकामा आइपुगेका नेपालीहरू नेपाल प्रवेश गर्न सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले लाठीचार्जसमेत गरेको थियो।