भरतपुर शारदानगरका दिलिप आचार्यले यसपटकको पर्यटन सिजनमा ६ हजारमात्रै कमाउन सके। जबकी उनले पर्यटन सिजनमा ६ लाख कमाउँथे।
२ जना बेलायतीलाई लिएर ३ दिनको पुनहिल– घोरेपानी पदयाात्रा गरेका आचार्य त्यसपछि कहीँ जान पाएनन्।
झण्डै १० वर्षदेखि पर्यटक गाइड बनेर पदयात्रा थालेका उनी कोरोना भाइरस विश्वव्यापी महामारीको रूपमा फैलिएपछि पहिलोपटक फुर्सदिला बनेका हुन्।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले पर्यटक गाइडलाई एक दिनको कम्तीमा १ हजार ५ सय रुपैयाँ ज्याला तोकेको छ। तर आचार्यले दिनको २ हजार लिन्छन्।
‘राम्रा पर्यटकले राम्रै गाइड खोज्छन्,' उनी भन्छन्, 'उनीहरूको चित्त बुझे थप टिप्स पनि दिन्छन्।’
यसपटक सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षले धेरै पर्यटक घुमाउन पाउने उनको आशा थियो। कमाइ धेरै हुने विश्वास पनि। उनको कम्पनीमा अघिल्ला वर्षहरू भन्दा धेरै पर्यटकले बुकिङ समेत गरेका थिए।
जब कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लियो पर्यटकहरूले बुकिङ रद्द गरे।
सिजनमा कम्तीमा ६ लाख आम्दानी हुन्थ्यो। त्यही पनि अफ सिजनमा फाट्टफुट्ट आउने पर्यटकलाई लिएर सस्तैमा घुम्नुपर्थ्यो।
अफ सिजनका बेला घरव्यवहारमा उनलाई ऋण लागेको थियो। यही सिजनको आम्दानीबाट तिर्ने भनेर सहकारीबाट ऋण लिएका थिए। कोरोना महामारीले पर्यटन क्षेत्र ‘लक डाउन’ भयो। उनको आर्थिक जीवन ऋणात्मक बन्यो।
‘बैंकबाट ऋण लिनेहरू सरकारलाई गुहार्न गए,' हामी कहाँ जाने?’, उनले भने, 'ऋण तिर्न सकिँदैन कि भन्ने चिन्ता छ।’
गाइड आचार्यको भन्दा धेरै तनाव छ मदन जस्तै पर्यटकका पोर्टरहरूको ।
भोजपुर, दिलपा गाउँका ५४ वर्षीय मदन राई र सोलुखुम्बुको छेस्काम गाउँका ५१ वर्षीय गणेश राईलाई पोखरामा परिवार पाल्न मुश्किल परेको छ।
कोरोना महामारी हुँदैनथ्यो भने उनीहरू पर्यटकका सामान बोकेर यतिबेला अन्नपूर्ण श्रृङ्खलाका वारिपारि हुन्थे ।
पर्यटकका भारी बोकेरै जीवन गुजारेका उनीहरूलाई यस पटकको सिजनमा धेरै काम पाउने विश्वास थियो। सरकारले भिजिट नेपाल वर्ष घोषणा गरेकाले कम्पनीहरूले पनि धेरै पैसा दिने अफर गरेका थिए।
पोखरामै थन्किएर बस्न पर्यटकका भारी बोकेर हिमाली भञ्जाङ पार गर्नुभन्दा दु:ख भइराखेको बताउँछन्।
विभिन्न काम खोज्दै–गर्दै हिँड्दा पोखरा आइपुगेका उनीहरूको ‘पोर्टर लाइफ’ उत्तिकै संघर्षपूर्ण छ।
खुम्बुबाट सगरमाथा आधार शिविरमा पर्यटकको भारी बोकेर जाँदा गणेश १४ वर्षका मात्र थिए। ट्रेकिङ कम्पनीहरूको सम्पर्कले उनलाई काठमाडौं ल्याइदियो।
काठमाडौंकै एक कम्पनीले १५ वर्षअघि अन्नपूर्ण आधार शिविर पदयात्रामा निस्किएका पर्यटकको भारी बोकाएर गणेशलाई पठाइदियो।
त्यतिबेला पहिलो पटक पोखरा आएका गणेश यतै अल्मलिए।
‘पोखरामा धेरै काम पाइने भएकाले यतै बसेँ,’ उनले भने, ‘काम नपाएको सिजन अहिले मात्र हो।’
पोखरामा १५ वर्ष बस्दा ५ हजार मिटरभन्दा अग्लो हिमाली भञ्जाङ थोराङ ला, मनास्लु पदमार्गको लार्केपास, उपल्लो डोल्पा, उपल्लो मुस्ताङ कतिपटक गए भन्ने नै उनलाई गन्ती छैन ।
पदयात्रामा भारी बोकेर हिँड्दा सबैभन्दा दु:ख हुम्ला, धौलागिरि ट्रेक, डोल्पाको चिचिला पास गर्दा हुने गणेशको अनुभव छ। तर यिनै पदमार्गमा जाँदा धेरै आम्दानी पनि हुन्छ।
पोखरा बस्दा गणेशले कम्तीमा तीन दिनको र बढीमा ११० दिनको पदयात्रा गरेका छन्।
पर्यटकका २० देखि ३० किलोसम्म भारी बोकेर त्यति कठिन पदयात्रा गर्नभन्दा अहिले घरबस्न उनलाई हम्मे परेको छ।
गत माघ ३ गते अन्नपूर्ण आधार शिविर पदमार्गमा हिमपहिरोमा ४ कोरियाली र ३ नेपाली हराउँदा गणेश थोराङपास पदयात्रामा थिए। भारी हिमपातले उपल्लो मनाङ छोपिएको थियो। संचारका सबै सेवा ‘डाउन’ भएका थिए। २ जना कोरियन पर्यटकको भारी बोकेर १८ दिनको पदयात्राका लागि लमजुङको बेंशी सहरबाट हिँडेका उनीहरूले थोराङ–ला पास गर्न सकेनन्। उपल्लो मनाङबाट फर्किए।
हिमपात, हिमआँधी र पहिरो राम्रैसँग अनुभव गरेका गणेशको जीवनमा अहिले त्यस्तै किसिमको आर्थिक पहिरो गएको छ।
भाडामा बसेका गणेशका २ छोरा र ३ छोरी छन्। २ छोरा पनि अहिले पर्यटन क्षेत्रमै छन्। छोरीहरू पढिरहेका छन्। कान्छी छोरी एसइई परीक्षाको तयारीमा छिन्।
पोखरा बस्दा जग्गा भाडा ८ हजार तिर्नुपर्छ। खान बस्न गरेर महिनामा कम्तीमा १८ हजार खर्च लाग्छ। यी सबै खर्च उनले पर्यटकका भोरी बोकेर तिर्थे। यसपटक भारी बोक्न नपाउँदा ऋणको भारी बढेको गणेशले बताए।
‘सिजनमा कमायो, अफ सिजनमा खायो,' गणेशले भने, 'खेती किसान गर्न जग्गा छैन के गर्ने। यसपालि त सिजनमै कोरोना लाग्यो।’
अफ सिजनमा पनि पाएसम्म लेवरको काम गर्ने गरेको उनले बताए। गत असारमा धान रोप्नका लागि खेत खन्ने काम गरेको उनले सुनाए। पैसाकै लागि आफू जेठताका यार्सागुम्बा खोज्न डोल्पासम्म जाने गरेका रहेछन् उनी। यार्सा टिप्ने सिजन फेरि पनि सुरू हुँदैछ। उनले आश मारेका छैनन्।
‘भारी बोक्न नपाए पनि यर्सा खोज्न त पाइएला,' गणेशले भने, 'यार्सा पाएन भने उतै लेबर काम त पाइएला।’
भोजपुरको दिलपा गाउँका मदन राई ४५ सालतिर बिजुलीको पोल बोक्ने, खाल्डो खन्ने र गाड्ने काम गर्न पोखरा आएका थिए। त्यतिबेला यो काम गर्दा दिनको ४० रुपैयाँ ज्याला पाउँथे। ओभर टाइम काम गर्दा थप २ रुपैयाँ पाउँथे। त्यही ओभर टाइमको २ रुपैयाँले खान पुग्थ्यो।
पोखरामा पर्यटक आउन थालेका थिए। ०४७ सालदेखि मदनको काम फेरियो। उनी त्यसपछि पर्यटकका भारी बोकेर हिँड्न थाले।
पहिलो पटक पोखरा एयरपोर्टबाट पर्यटकका भारी बोकेर हिँडेका मदनको बास पोखराकै हेमजामा भयो। त्यतिबेला मोटरबाटो थिएन। गाडी चल्दैनथे। अहिले एयरपोर्टबाट हेमजा गाडीमा २० मिनेटमा पुगिन्छ।
पर्यटकसँग धम्पुस पदयात्रामा गएर फर्किएपछि मदनको लत पर्यटन क्षेत्रमै बस्यो। अहिले उनले पर्यटकको भारी बोकेर दिनको १ हजार ५ सय रुपैयाँसम्म पाउँछन्। पर्यटकले मन पराए टिप्स पनि दिन्छन्। गाह्रो ठाउँमा जाँदा अझै धेरै पैसा आउने मदनको अनुभव छ।
यसपालि सिजनको सुरूआतमा मदनले १२ दिन काम पाए। ३९ हजार कमाए। त्यसयता उनले काम पाएका छैनन्।
सिजनमा पर्यटकका भारी बोक्ने र अफ सिजनमा गिट्टी फोर्ने काम गर्छन् उनी।
मदनका ३ छोरी र १ छोरा छन्। श्रीमतीसहित ६ जनाको परिवार लिएर भाडामा बस्दा उनको मासिक खर्च कम्तीमा २० हजार हुन्छ।
‘ढुंगा फोर्ने काम पनि बन्द रहेछ,' उनले सेतोपाटीलाई भने, 'केही काम नगरी कसरी खाने हो।’
कोरोनाभाइरसको सन्त्रासले अहिले पदमार्गहरू बन्द भए। पोखराका १ सय ६० वटा ट्रेकिङ एजेन्सीमा ४ सय जना गाइड र ४ सय जना नै पोर्टर छन्।
फुटकर आउने पर्यटकले छुट्टै गाइड वा पोर्टर लैजान्छन्। कोरोना भाइरसका कारण सबभन्दा मर्का नै मजदूरलाई परेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल बताउँछन्।