त्रिभुवन विमानस्थलको डिपोर्ट कक्षमा ४ दिनदेखि नेपाली मूलका बेलायती राहदानीबाहक एक व्यक्ति अलपत्र परेका छन्।
गत शनिबार हङकङबाट नेपाल एयरलाइन्सको जहाजमा आएका ती व्यक्तिलाई अध्यागनले विदेशी राहदानी भएकाले प्रवेश अनुमति नदिएको हो।
हाल उनी अध्यागमनको डिपोर्ट कक्षमै छन्।
'उहाँ त विदेशी नै हो नि। त्यसैले विदेशीलाई प्रवेशमा रोक लगाएको हो,' विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले सेतोपाटीसँग भने।
उनले अलपत्र परेका व्यक्तिलाई राख्ने कि फर्काउने भन्ने जिम्मा नेपाल एयरलाइन्सको रहेको बताए।
'उहाँहरूले लिएर आएपछि खानपिन लगायत सबै जिम्मा सम्बन्धित एअरलाइन्सले नै लिनुपर्छ। हामीले त उहाँको प्रवेशमा मात्र रोक लगाउने हो,' आचार्यले भने।
उनले अहिलेलाई उक्त व्यक्तिलाई खाना लगायतको व्यवस्था अध्यागमनले नै गरिरहेको बताए।
उता नेपाल एयरलाइन्सले भने नेपाली अध्यागमनले अटेर गर्दा समस्या आएको बतायो।
नेपालको अध्यागमनले कसैलाई प्रवेश दिने, कसैलाई नदिने गरेकाले समस्या आएको एअरलाइन्सका कामु प्रवन्ध निर्देशक गणेश बहादुर चन्दले सेतोपाटीलाई बताए।
'अध्यागमनले त्यो दिन रोक नलगाएको भने हामीले सिल्क एअरबाट सिंगापुर पठाउन सक्थ्यौं', चन्दले भने।
निर्देशक चन्दले आफूहरूले हङकङको विमानस्थल कर्मचारीले नै पटकपटक आग्रह गरेपछि उक्त व्यक्तिलाई जहाजमा ल्याएको जानकारी दिए।
'जाने बेला रोकेर राखेपछि अहिले निगमले के गर्न सक्छ?,' उनको प्रश्न छ।
अब ती व्यक्तिको जिम्मा अध्यागमनको भएको चन्दको भनाइ छ।
उनले व्यक्तिको खानपिन लगायत सबै व्यवस्था नेपालको अध्यागमनले नै गर्नुपर्ने बताए।