कर्णाली प्रदेश सरकारले लकडाउनका कारण अलपत्र परेका १०० जना नागरिकको उद्दार गरेको छ। नेपाल–भारत सीमा रुपैडिहामा अलपत्र परेका कर्णालीका नागरिकलाई उद्दार गरिएको हो। उद्दार गरिएकामध्ये ५७ जनालाई सुर्खेत ल्याइएको छ।
मंगलबार राति उद्दार गरिएका उनीहरूलाई वीरेन्द्रनगरस्थित अशोका होटलमा राखिएको छ। उद्दार गरिएकामध्ये तीन जना बालबालिका छन्। प्रदेश सरकारले मंगलबार कर्णालीका नागरिकको उद्दारका लागि निःशुल्क हटलाइन सेवा सुरू गरेको थियो।
हटलाइनमा आएका गुनासोहरूका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा उनीहरूको उद्दार गरिएको सामाजिक विकास मनत्रालयले जनाएको छ।
बाँके प्रशासनले बसमा कर्णालीका नागरिकहरूलाई वीरेन्द्रनगरसम्म पुर्याएको हो।
रुपैडिहाबाट बिहान दुई बजे वीरेन्द्रनगर पुर्याएर उनीहरूको स्वास्थ्य जाँच समेत गरिएको छ। स्वास्थ्य परीक्षणका क्रममा कसैलाई पनि कोरोनासँग सम्बन्धित लक्षण नदेखिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।
‘उद्दार गरेर ल्याइएका नागरिकहरूलाई वीरेन्द्रनगरमै राख्ने वा सम्बन्धित गन्तव्यसम्म पुर्याउने भन्ने विषयमा अहिले आजै छलफल हुँदैछ,’ मन्त्री रावलले भने, ‘सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निश्चित भएमा मात्रै पठाउँछौं, नत्र भने वीरेन्द्रनगरमै उनीहरूलाई निगरानीमा राख्छौं।’
प्रदेश सरकारले ४३ जनालाई गड्डाचौकीबाट उद्दार गरेको हो। उनीहरूलाई बुधबार दिउँसोसम्म वीरेन्द्रनगर ल्याइनेछ। प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार बेडको क्यारेन्टाइन बनाउन नेपाली सेनालाई जिम्मा दिएको छ। नेपाली सेनाले चार सय क्वारेन्टाइन तयार गरे पनि शौचालय, पानीलगायतको व्यवस्था गर्न बाँकी छ।