गण्डकी प्रदेश सरकारले पोखरा ३० मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ६० बेडको ‘कोरोना विशेष उपचार अस्पताल’ बनाउने निर्णय गर्यो।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको चैत १० गतेको बैठकले यस्तो निर्णय गरेको थियो।
अस्पताल व्यवस्थापनले भने अहिलेसम्म उक्त निर्णयको जानकारी समेत पाएको छैन। अस्पताल संचालक समितिका अध्यक्ष रमानाथ पौडेलले प्रदेश सरकारसँग छलफल गरेर कोरोना विशेष अस्पताल बनाउने सहमति भएपनि थप जानकारी केही नआएको बताए।
‘संकटको बेला प्रदेश सरकारले चलाउने सहमति भएको हो’ पौडेलले भने, ‘तर अहिलेसम्म प्रदेशबाट कुनै जानकारी पनि आएको छैन, केही काम पनि भएको छैन।’ कोरोना विशेष अस्पताल बनाउने भनेर नै अस्पतालले सामान्य विरामी समेत उपचारमा नराखेको उनले बताए।
समुदाय र लायन्स इन्टरनेशनलको संयूक्त प्रयासमा स्थापना भएको यस अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्ट, ४ जना मेडिकल डाक्टर र नर्ससहित ४० जना स्वास्थ्य कर्मचारी कार्यरत छन्।
प्रदेश सरकारले नै खर्च व्यहोर्ने गरी अस्पतालका डाक्टर, नर्स लगायत कर्मचारीको सुरक्षालाई ध्यान दिएर चलाउन दिने भनिएपनि अहिलेसम्म चल्न नसकेको पौडेलले बताए।
उनका अनुसार अस्पतालमा आवश्यक उपकरण र पूर्वाधार समेत बनेका छैनन्। अस्पतालका आफ्नै उपकरण पनि छैनन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश भट्टराईले कोरोना लागेका व्यक्तिलाई उपचार गर्न आवश्यक कुनै संरचना अहिलेसम्म नबनेको बताए।
कोरोनाको शंका लागेमा नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने र नतिजा पोजेटिभ आएमा यही अस्पतालमा राखेर उपचार गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो। तर अस्पतालमा अहिले भएको संरचनाबाट उपचार गर्न सम्भव नहुने डा. भट्टराईले बताए।
‘हामीसँग एउटा भेन्टिलेटर र ४ वटा आइसियु बेड मात्र छन्’ उनले भने, ‘विरामी र स्वास्थ्यकर्मीको उपचारमा आवश्यक सुरक्षाका कुनै सामाग्री छैनन्।’ कोरोना लागेका विरामीलाई उपचार गर्दा उठाउन मिल्ने फोल्डिङ बेड चाहिन्छ।
अस्पतालमा भने एउटा पनि फोल्डिङ बेड छैन। यस्तै, अस्पतालमा आवश्यक पानीको व्यवस्था गर्न बोरिङ गर्ने भनिएपनि हुन नसकेको उनले बताए।
यस्तै, कोरोना लागेका विरामीका लागि आवश्यक छुट्टै शौचालय समेत नभएको डा. भट्टराइले बताए। ‘मानिस बाहिर भाग्न नपाओस् र बाहिरका मानिस भित्र नआओस् भनेर पूर्वाधार बनाउन पनि बाँकी नै छ, उनले भने, अहिलेसम्म अस्पताल बनाउने आधिकारिक जानकारी समेत आएको छैन।’
कोरोना विशेष अस्पताल बनाउने भनिएको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा मात्र होइन, पोखराका निजी र सरकारी अस्पतालहरुमा समेत सुरक्षाका सामाग्री अभाव छन्।
पोखरास्थित फिल्टेल अस्पतालका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यकर्मीका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) अभाव भएको बताए। ‘हामीलाई निशुल्क दिनुपर्दैन, सरकारले उपलब्ध गराइदिए परेको मूल्य तिर्छौं’ पालिखेले भने।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत क्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीले समेत पिपिई पाउन सकेका छैनन्। विरामीको जाँच गर्दा एक पटक भन्दा बढी प्रयोग गर्न नमिल्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोल्नुपरेको प्रतिष्ठानका उपकुलपति डा. बुद्धि थापाले बताए।