पर्यटकीय नगरी पोखरामा खाना नपाएर अलपत्र परेका पर्यटकलाई लक्षित गरी ४ वटा रेष्टुरेन्ट खुलेका छन्। खुलेका रेष्टुरेन्टमै बसेर पर्यटकले खान नपाउने तर खाना लिएर बाहिर जान पाउनेछन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले पर्यटकलाई लक्षित गरी ४ वटा रेष्टुरेन्ट खोल्ने निर्णय गरैको हो। जसमा लेकसाइडको अम्बोटस्थित माउन्ट कैलाश रिसोर्ट, बाराही चोकस्थित मुनडान्स रेष्टुरेन्ट, मुस्ताङ चोकस्थित ड्याडी किचन र गौरीघाटस्थित होटल ग्लासिएर खोलिएका हुन्।
यी रेष्टुरेन्टबाट सुपथ मुल्यमा पर्यटकले खाना लिएर जान पाउने रेवान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। उनका अनुसार, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पर्यटकका लागि खानाको व्यवस्था गर्न भनेका थिए। प्रजिअ ढकालकै आग्रहमा पर्यटकले खाना लिएर जान सक्नेगरी यी रेष्टुरेन्ट खुलाएको बरालले बताए।
रेवान पोखराले बुधबार एक विज्ञप्ति जारी गरी पर्यटकलक्षित रेष्टुरेन्ट चलाएको जानकारी दिएको हो।
‘केही अनलाइन मिडियाले लेकसाईडमा पर्यटकहरुलाई खानाको समस्या रहेको समाचार प्रसारण गरेकोमा हाम्रो ध्यानाकर्षरण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि पर्यटक आफ्नो देश जान नसकेर यही बस्नु भएको र सामान्य खाना खान पनि समस्या भएको भए उहाँहरुलाई खाना खुवाउनु मानवताको आधारमा पनि हाम्रो धर्म हो।’
पोखराका पर्यटकले खाना नपाएर भौतारिनु परेको समाचार मंगलबार सेतोपाटीले प्रकाशन गरेको थियो। रेवान उपाध्यक्ष बरालकाअनुसार नेपाल पर्यटन बोर्डले पनि पर्यटकका लागि खानाको व्यवस्था गर्न भनेको बताए। उनले पर्यटक बसिरहेका होटलमा पनि खानाको व्यवस्था गरेको बताए।
यो पनि पढ्नुस्- पोखरामा अलपत्र परेका पर्यटकलाई दोर्जेले खुवाए नि:शुल्क खाना