कोराना भाइरस फैलन नदिन भन्दै रौतहटका ग्रामीण भेगमा बसोबास गर्ने युवाहरूको समूहले बाटो खनेर अवरुद्ध गरेका छन्।
चन्द्रपुर नगरपालिकाका वडा नम्वर ९ का युवाहरूको समूहले आफ्नो क्षेत्रमा बाटो अबरुद्ध गरेपछि गुजरा नगरपालिकाको रङ्गपुर र मनहर्वामा बाटो खनेर युवाहरूले काँडेतार लगाई आवतजावत अवरुद्ध पारेका हुन्।
सरकारले लकडाउन गरेर सबै नागरिकलाई घरमा बस्न आग्रह गरेपछि स्थानीय स्तरमा युवाहरूले सडकमै अवरोध पुर्याएर यातायातका साधन सञ्चालनमा रोक लगाएका छन्।
विश्वव्यापी रूपमा फैलदै गएको कोरोनाभाइरसबाट जोगिन स्वयम् नागरिक सचेत हुनुपर्ने भएकाले स्थानीय युवाहरूले आवतजावतमा रोक लगाएको गुजरा नगरपालिका–२ रङ्गपुरका सानु साहले बताए।
यो अभियानसँगै सर्वसाधारणको सवारी साधनमा हुने आवागमन रोकिएको र बाटो बन्द गरिदिएपछि मानिसहरु घरमै बस्न बाध्य भएको स्थानीय युवा रमेश सापकोटाले बताए।
सरकारको अभियानलाई साथ दिन स्थानीयस्तरबाट युवाहरू जुटेको चन्द्रपुर–९ का सापकोटाले बताए। उता ग्रामीण भेगका केही बाटोमा सवारी साधन संचालनमा छन् भने मानिसहरुको आवागमन पनि बाक्लो छ।