कोरोना भाइरस सर्ला भन्ने डरले भारतका कतिपय ठाउँमा महामारीविरूद्ध अग्रपंक्तिमा रहेर बिरामीलाई सेवा दिइरहेका चिकित्साकर्मीहरू जबर्जस्ती घरबाट निकालिएका छन्।
भारतमा अहिलेसम्म ६ सय ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भएको छ। बिरामी संख्या पाँच सय नाघेलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातबाट देशभरि २१ दिन 'लक-डाउन' घोषणा गरेका छन्। यसले बजारमा रासन किन्नेहरूको भीड बढ्नुका साथै चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना भएका छन्।
राजधानी नयाँदिल्लीमै बिरामीको उपचारमा संलग्न चिकित्सकहरूबाट रोग सल्किने डरले उनीहरूलाई समुदायमा बस्न दिन हुँदैन भन्ने आवाज उठेको छ। केही चिकित्सकलाई उनीहरूका बासस्थलबाट जबर्जस्ती निकालिएको छ। कतिपयलाई घर नछाडे बिजुलीको लाइन काटिदिनेसम्म धम्की दिइएकाे छ।
‘डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीलाई संक्रमण फैलाउन सक्ने भयले बहालमा बसेको घरबाट निस्कन बाध्य पारिएको छ। कतिपयलाई उनीहरू बसिरहेको घरबाट निकाल्ने काम भइसकेको छ,’ अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको रेसिडेन्ट डाक्टर्स एसोसिएसनले मंगलबार गृहमन्त्री अमित शाहलाई पठाएको पत्रमा भनिएको छ, ‘कतिपय डाक्टर झिटिगुन्टासहित बाटैमा अलपत्र छन्। लक-डाउनको बेला उनीहरू अन्यत्र जान नसक्ने स्थिति छ।’
यस्ता घटनालाई थप पुष्टि गर्ने समाचार अनलाइन पत्रिका, सर्वसाधारण तथा स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारीहरूबाट पनि प्राप्त भइरहेका छन्।
यसबीच केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याणमन्त्री डा. हर्षवर्द्धनले मंगलबार ट्वीट गर्दै चिकित्सकहरूलाई अप्ठेरोमा परिएको खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन्।
‘कोरोना भाइरसबाट यसरी आत्तिनु जरुरी छैन,’ मन्त्री हर्षवर्द्धनले ट्वीटमा जनतासँग आग्रह गर्दै भनेका छन्, ‘कोरोना भाइरसको क्षेत्रमा काम गरिरहेका डाक्टर र चिकित्सकहरू संक्रमणबाट बच्न सुरक्षाका तमाम उपाय अपनाइरहेका छन्। यस्ता किसिमका दुर्व्यवहारले उनीहरूको मनोबल घट्नेछ। यसले हाम्रो सम्पूर्ण सरकारी बन्दोबस्तलाई तहसनहस पारिदिन्छ। उनीहरूको मनोबल उच्च राख्नु हामी सबैको कर्तब्य हो।’
स्वास्थ्यमन्त्रीको ट्वीटमा त्यस किसिमका घटना नयाँदिल्ली, नोयडा, वारंगल र चेन्नाइजस्ता स्थानबाट प्राप्त भएको उल्लेख छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि स्वास्थ्यकर्मीहरूलाई घरबाट निकाल्ने कदमको निन्दा गरेका छन्। उनले मंगलबारै ट्वीट गर्दै भनेका छन्, ‘चिकित्सकले हाम्रो ज्यान बचाइरहेका छन्। उनीहरूका घरबेटीले जे-जस्ता काम गरिरहेका छन्, त्यो अनुचित छ।’
गृहमन्त्री अमित शाहले प्रहरी अधिकारीहरूलाई यस मामिलामा जाँच गर्दै तत्काल कारबाही गर्न निर्देशन दिइसकेको डाक्टर एसोसिएसनका अध्यक्ष आदर्शप्रताप सिंहले बताएका छन्। घटनाको जानकारी पाउनेबित्तिकै दिल्ली प्रहरीका आयुक्त आफैं एसोसिएसनमा पुगेका थिए। उनले यस्ता घटना रोक्ने र चिकित्सकहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहार हुन नदिने आश्वासन दिएका छन्।
वायुसेवा कर्मचारी पनि तारो बने
कोरोना भाइरसको संक्रमण फैलिएपछि चिकित्सक मात्र होइन, वायुसेवा कर्मचारीहरू पनि दुर्व्यवहारको शिकार भएका छन्। महामारी सुरू भएपछि चीनजस्ता मुलुकमा फसेका भारतीयलाई फिर्ता ल्याउने काममा सरिक र त्यस्तै सेवा प्रदान गर्ने अन्य वायुसेवाका कर्मचारीमाथि दुर्व्यवहार भएको हो।
इन्डिगो एयरलायन्समा कार्यरत एक विमान परिचारिकालाई त उनी संक्रमित हुन् भन्ने अफवाह फैलाएर उनकी आमालाई समेत दुर्व्यवहार गरिएको थियो। उनीहरूलाई बजारमा खानेकुरासमेत नबेचेर अमानवीय व्यवहार देखाइएको भिडिओ सार्वजनिक भएको थियो।
त्यस्तै अर्को भिडिओमा कोलकाता प्रहरीले यस्ता घटना नियन्त्रण गर्न प्रहरी तत्पर रहेको बताएको छ। ‘यी समाजका नायक हुन्। उनीहरूमाथि कुनै किसिमको दुर्व्यवहार गरिएको पाइए हामी कडाइसाथ कारबाहीमा ओर्लिने छौं,’ भिडिओमा प्रहरीले भनेका छन्।
राष्ट्रिय ध्वजावाहक एयर इन्डियाका कर्मचारीले पनि यस्तै गुनासो गरेका छन्। उनीहरूले समुदायबाट त्यस्तै किसिमका दुर्व्यवहार सहनुपरेको आइतबार उक्त एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा छ।
‘यो संकट बेला विदेशमा फसेका धेरैका श्रीमान-श्रीमती, आमाबुबा, भाइबहिनी, नजिकका आफन्त र प्रियजनलाई सुरक्षित तवरले घर ल्याउने काम यिनै एयर इन्डियाका चालकदलबाट भएको थियो। उनीहरूको योगदानलाई गलत तत्वहरूले सजिलैसँग बिर्सिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘चालकदलको त्यस्तो बहादुरीपूर्ण कदमको हामी प्रशंसा गर्छौं।’
यसबीच नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले एयरलाइन्स कर्मचारीको समर्थनमा ट्वीट गर्दै दुर्व्यवहारको घटना सुनेर आफू मर्माहत भएको बताएका छन्।
चिकित्सक र वायुसेवाका कर्मचारीमाथिको यस्तो घटनाले जनसमुदायमा बढ्दो भयको वातावरण देखाउँछ भने अर्कातिर आमधारणा र सरकारी भनाइबीचको अन्तर्विरोध पनि छर्लङ्ग पार्छ। केही दिनअघि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले संकट बेला सेवामा खटिएका चिकित्सक तथा अन्यको योगदानलाई सम्मान गर्न पाँच मिनेट बार्दली वा झ्यालमा उभिदिन आह्वान गरेका थिए।