हातमा लगाउने पञ्जामा कालोबजारी गरेको गुनासोपछि वीरगञ्जको एक औषधि पसलमा स्थानीय प्रशासनले छापा मारेको छ।
वीरगञ्ज घण्टाघर छेउमै रहेको सुरेश मेडिकल हलमा स्थानीय प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालयको टोलीले बुधबार छापा मारेको हो। संचालक सुरेश गुप्ताले ३५ रुपैयाँमा बेच्नुपर्ने पञ्जालाई ५० मा बिक्री गरेका थिए।
एक ग्राहकले सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई भेटेर गुनासो गरेका थिए। लगत्तै औषधि पसलमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पञ्जाको मूल्य सोध्दा व्यापारीले ३५ रुपैयाँ मात्रै पर्ने बताएका थिए।
बढी मूल्यमा पञ्जा बेचेको पाइएपछि उनलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालय वीरगन्जका प्रमुख जीतबहादुर श्रेष्ठले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बिहीबार तरकारी बजारमा पनि अनुगमन गरेका छन्। सो क्रममा उनले हरेक तरकारी पसलमा मूल्य सूची राख्न निर्देशन दिइएको जानकारी दिए।
अनुगमनका क्रममा तरकारी पसलेलाई बढी मूल्यमा नबेच्न भनिएको र अटेर गरे कालाबजारी ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिइएको बस्नेतले बताए।