काठमाडौंस्थित फ्रान्सेली दूतावासले बुद्ध एयरलाई आग्रह गर्यो, ‘हाम्रा नागरिकलाई पोखराबाट ल्याउन चार्टर्ड फ्लाइट गरिदिनु पर्याे।’
तर लकडाउनका कारण भनेका बेला उडान भर्न सकेन। दूतावासले गृह मन्त्रालयबाट उडानको स्वीकृति पाएमा एयरले उडान भर्ने जनाएको छ।
सरकारले कोरोना भाइरस रोकथामका लागि देशभर लकडाउन गरेको छ। यस्तो बेला जहाज उडाउन गृह मन्त्रालयको स्वीकृति चाहिन्छ। फ्रान्सेली दूतावासले प्रक्रिया पुरा गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।
यता पोखरा विमानस्थलमा भने ५८ जना फ्रान्सेली जम्मा भएर बसेका छन्। ‘बिहानै ९–१० बजे नै उडान गर्ने भनेको अहिलेसम्म अनुमति पाएको छैन’, विमानस्थलका एक अधिकारीले भने। बुद्ध एयरले पनि उडान अनुमति पर्खेर बसेको जनाएको छ।
बुद्ध एयरका पोखरा एयरपोर्ट स्टेशन म्यानेर गौतम बरालले अनुमति नपाउँदा उडान भर्न नसकेको बताए। ‘हामी यत्ति कामका लागि बिहानैदेखि एयरपोर्टमा बसेका छौं’ बरालले भने, ‘अहिलेसम्म उडानको अनुमति पाएका छैनौं।’
अनुमतिका लागि भने फ्रान्सेली दूतावास नै लागिपरेको र सम्भव भएसम्म आजै उडान भर्ने बरालले बताए।
पोखरा एयरपोर्टमा विहानैदेखि जहाजको पखाईमा बसेका पर्यटक समेत जहाज आउने कि नआउने भन्ने अन्यौलमा परेका छन्। उनीहरुलाई एयरपोर्टभित्र राखिएको प्रहरीले जनाएको छ।