फ्रान्सबाट कतारको दोहा हुँदै फर्केकी युवतीमा कोरोनाको संक्रमण भएको खबर दोहाबाट सँगै आएका ३२ वर्षीय एक युवाले मंगलबारमात्र थाहा पाए।
खबर थाहा पाउँदा उनी जन्मघर नवलपरासीको बर्दघाट पश्चिमको गाउँमा थिए। खबर सुन्नासाथ उनको मन झस्कियो। हत्तपत्त आफ्नो बोर्डिङ पास चेक गरे। फ्लाइट नम्बर एउटै थियो- क्यूआर ६५२।
उनी साइप्रसबाट आएका थिए र संक्रमित युवती फ्रान्सबाट। दुबैको ट्रान्जिट दोहा थियो। त्यसपछि एउटै जहाज चढेर उनीहरू चैत ४ गते काठमाडौं उत्रिए।
संक्रमित युवतीसँगै एउटै जहाजमा काठमाडौं आएको कुरा पक्का भएपछि उनले परिवारलाई सुनाए। त्यसपछि उनी त्यही दिन परिवारसहित अहिले बसिरहेको घर काठमाडौंको चन्द्रगिरि फर्किए। फर्किँदा राति भैसकेको थियो।
त्यस रातदेखि नै उनी परिवारबाट अलग्गै बस्न थाले।
चैत ४ गते नेपाल आएका उनी एक रातमात्र काठमाडौंको घरमा बसेका थिए। त्यसपछि भोलिपल्टै परिवारसहित निजी गाडीमा नवलपरासी गए। नवलपरासीमा आफन्तसँग भेटघाट गरे।
मंगलबार फ्रान्सबाट आएकी युवतीलाई कोरोनाको संक्रमण भएको सुनेदेखि भने उनको मनमा छटपटीमात्र छ। परिवार र आफन्तसँग भेटघाट भएकाले परीक्षण गर्न पाए आफू र परिवारलाई ढुक्क हुन्थ्यो भनेर उनी भुटभुटिएका छन्। त्यसैले काठमाडौं फर्केपछि बुधबार बिहानै उनी परीक्षण गराउन टेकु अस्पताल पुगे।
चिकित्सकलाई सबै बेलिविस्तार सुनाए। आफूलाई कुनै लक्षण नभएको तर परीक्षण गर्न पाए मन ढुक्क हुने कुरा राखे। चिकित्सकले उनलाई लक्षण नदेखिएको भन्दै होम क्वारेन्टाइनमै बस्न सुझाए।
‘लक्षण छैन भने अहिले परीक्षण गर्नु पर्दैन भन्नुभो। तर परीक्षण नगरून्जेल आफू र परिवारको मनमा शंका र एक किसिमको त्रासले बास गरेको छ। मन शान्त हुनै सकेको छैन,' उनले सेतोपाटीसँग भने।
अस्पतालले परीक्षण गर्न नपर्ने बताएपछि उनी बुधबार चन्द्रागिरि फर्किए। तर मनमा बेचैनी चलिरह्यो। गाउँबाट आफन्तहरू पनि तारन्तर फोन गरेर के भयो भनेर सोधिरहेका छन्। सायद गाउँघर र आफन्ती पनि उनलाई संक्रमण छैन भन्ने सुनेर ढुक्क हुन चाहन्छन्। ‘सबैले परीक्षण भयो भनेर सोध्नुहुन्छ, मैले के जवाफ दिने,' उनले भने।
आफ्नै मन बेचैन भएपछि र आफन्तीले सोधेर हैरान बनाएपछि उनले बिहीबार पनि अस्पताललाई फोन गरेर परीक्षण गरिदिन अनुरोध गरे।
अस्पतालले भने उही कुरा दोहर्यायो-लक्षण देखिएपछि मात्र परीक्षण गर्न आउनु।
फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै जहाजमा आएका चितवनका ६ जनाको स्वाब परीक्षण गर्न बिहीबार काठमाडौ ल्याइएको खबर उनले सुने। आफूमात्र परीक्षणबाट बञ्चित भएँ भन्ने सम्झेर उनको मन कटक्क भयो।
'अस्पतालले परीक्षण गर्छु भने म जसरी पनि अस्पताल पुग्ने थिएँ,’ उनले भने ‘लकडाउनले रोक्ने थिएन।'
बुधबार पनि दर्जनौं ठाउँका चेकिङ पार गरेर बोर्डिङ पास देखाउँदै अस्पताल पुगेको उनले सुनाए।
'सरकार आफैं सम्पर्कमा आउनलाई आग्रह गर्ने, अनि फेरि अस्पताल जाँदा पनि बेवास्ता गर्ने,’ उनले रोष पोखे।
उनले अहिले आफू 'होम क्वारेन्टाइन’मा घरको तेस्रो तलामा छुट्टै बसिरहेको बताए।
सम्पर्कमा आएका र संक्रमणको आशंका भएका अरूले पनि सरकारबाट यथोचित सहयोग नपाएको गुनासो गरेका छन्।
बिहीबारमात्र युएईबाट अर्का संक्रमित युवासँगै एउटै जहाजमा आएकी एक युवती ललितपुरमा सम्पर्कमा आएकी छिन्। भाडाको कोठामा दुई-तीन जनासँग बसिरहेकी आफूलाई राज्यले छुट्टै राखेर परीक्षण गर्ने व्यवस्था मिलाईदेओस् भन्ने उनको चाहना छ।
तर प्रहरीले कोठामै बस्न भनेको छ। सरकारले उनलाई छुट्टै राख्न कुनै चासो देखाएको छैन।
दुई-तीन जनासँगै बसिरहेकी उनलाई सरकारले क्वारेन्टाइनमा नराख्दा अरूलाई पनि संक्रमण सर्ने जोखिम बढ्छ।
हाल टेकु अस्पतालको आइसोलेसनमा दुई जना कोरोना संक्रमितको उपचार भइरहेको छ। एक जना फ्रान्स र अर्का एअर अरबियाको जहाजमा युएईबाट नेपाल आएका थिए।
सरकारले दुबैजना संक्रमित आएको जहाजका अन्य यात्रुको पनि खोजी गर्ने र उनीहरूको परीक्षण र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने बताएको थियो।
तर सरकारले कुनै पनि यात्रुको अहिलेसम्म परीक्षण गर्न सकेको छैन। सम्पर्कमा आएकाहरूलाई होम क्वारेन्टाइनमा बस्नमात्र भनिएको छ।
संक्रमित युवतीको परिवारका सदस्यहरूको समेत परीक्षण भएको छैन। फ्रान्सबाट आएकी कोरोना संक्रमित महिलाको परिवारका सदस्यको पनि परीक्षण गरिएको छैन।
रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले सेतोपाटीसँग भने, 'परिवारको सदस्यमा कुनै लक्षण देखिएमात्र परीक्षण गर्ने हो। अहिलेलाई होम क्वारेन्टाइनमै बस्ने हो।'