घरैमा थुनिएर बस्नु र असाध्यै कम मान्छेसँग सम्पर्कमा रहनु साँच्चै विचित्र परिस्थिति हो। हामीमध्ये अधिकांशले कहिल्यै यस्तो परिस्थिति सामना गरेका थिएनौं। कहिल्यै यसरी घरभित्र थुनिएर बस्ने आदेश दिइएको थिएन।
यस्तो स्थितिले मान्छेलाई चिन्तित बनाउँछ। चिन्ताले बिथोलेपछि केही मान्छे कोरोना भाइरसलाई ठ्याम्मै बेवास्ता गर्दै आफ्नो सामान्य दैनिकी कायम राख्न उचित हो भन्ने सोचाइमा पुग्छन्। जनस्वास्थ्य निकाय एवं सरकारी अधिकारीहरूको आग्रह बेवास्ता गर्दै उनीहरू बाहिर निस्कन खोज्छन्।
अहिले संसारका धेरै मुलुकमा 'लक-डाउन' आदेश जारी भएको छ। तर, आदेश अवज्ञा गर्दै समुद्री किनारामा हुलहुज्जत गर्नेको ताँती, रासन पसलमा किनमेल गर्नेको भिड र धार्मिक स्थलमा धुइरिने बूढापाका हामी देख्दै छौं।
नेपाल पनि 'लक-डाउन' अवज्ञा गर्नेहरूबाट मुक्त छैन।
केही मानिस किन यो त्रासलाई गम्भीरतापूर्वक लिइरहेका छैनन्?
मनोविश्लेषकका अनुसार यसका पछाडि केही कारण छन्, जुन अधिकांश मानव चरित्रबाटै आएका हुन्।
१) आदेश उल्लंघन गर्नेहरू कम प्रतिक्रिया व्यक्त गर्ने चरित्रका हुन्
क्यानडाको 'युनिभर्सिटी अफ सस्काचुवान' मा मनोविज्ञान प्राध्यापक गोर्डोन एजमन्डसन कोरोनाले मान्छेलाई पारेको मनोवैज्ञानिक असरबारे अध्ययन गरिरहेका छन्। उनले हामी सबैलाई तीन भागमा बाँडेका छन्- धेरै प्रतिक्रिया जनाउने, कम प्रतिक्रिया जनाउने र यी दुवैबीचका।
धेरै प्रतिक्रिया जनाउनेहरू त्यस्ता हुन्, जसले आत्तिएर महिनौंका लागि रासन जोहो गरिसकेका छन्। घरभरि ट्वाइलेट पेपर थुप्रो लगाएका छन् र 'अब केही डर छैन' भन्दै आफूलाई थुम्थुम्याउन सफल छन्।
बीचतिरका मान्छे अत्यास वा लापरबाही प्रदर्शन नगरी जे भनिएको छ, त्यसैअनुसार आफूलाई अघि बढाइरहेका छन्। उनीहरू महामारी कालका संयमित र बुद्धिमान पात्र हुन्।
तेस्रो अर्थात् कम प्रतिक्रिया जनाउने वा अर्को शब्दमा 'जेसुकै होस्' भन्ने खाले मान्छे तिनै हुन्, जो यति बेला सार्वजनिक निर्देशिका बेवास्ता गरिरहेका छन्। आफूलाई केही हुँदैन भन्ने भ्रम पालेर बसेका छन्। उनीहरू शारीरिक दुरी राखेर बस्नुपर्छ भन्ने जानकारीको मतलबै गर्दैनन्। आफू बिरामी नपर्ने सोचाइमै रमाएका यिनीहरू आफूबाट यो भाइरस कुनै बूढापाका वा रोगीमा सरेर भयावह अवस्था हुनसक्छ भन्ने पनि सोच्दैनन्।
महिनौंसम्म भाइरस नियन्त्रण गर्न सकिएन भने त्यसको दोष यिनै कम प्रतिक्रिया जनाउने वर्गमा जान सक्छ।
२) उनीहरू कोरोना भाइरसलाई बेवास्ता गरेरै नियन्त्रण हुन्छ भन्ठान्छन्
आतंकित भएर ट्वाइलेट पेपर थुपार्नेहरूजस्तै शारीरिक दुरी कायम राख्दै बाँच्न नचाहने पनि भित्रभित्रै काँतर हुन्छन्। उनीहरू समूहमा भेला भइरहन्छन्। अमेरिकन साइकोलोजिकल एसोसिएसनका 'क्लिनिकल रिसर्च' निर्देशक भेल राइटका अनुसार, यस्ता मानिस आदेश अवज्ञा गर्दा भाइरस स्वत: कमजोर हुँदै जाने सोचाइ राख्छन्।
'यो अनिश्चितताले कतिपय कुरा हाम्रो नियन्त्रणभन्दा बाहिर रहेछ भनेर याद दिलाएको छ,' उनी भन्छिन्, 'जबकि यस्तो अवस्थामा उनीहरूले अपहेलना गरेर नै परिस्थिति काबुमा राख्न सकिन्छ भन्ठानेका हुन सक्छन्।'
जसरी रासन-पानी डंगुर लगाउनु गलत हो, त्यसैगरी सुझाव पालना नगर्नु पनि गल्ती हो। भिडमा बस्नुले अहिलेको अवस्थामा खतरा बढाउँछ। संक्रमण फैलिन नदिन अपनाउन सकिने एउटै उपाय भनेको सक्दो कम मान्छेको सम्पर्कमा रहनु हो।
३) उनीहरू यसलाई आफ्नो समस्या मान्दैनन्
केही मान्छे कोरोना भाइरसलाई परदेशका ठूल्ठूला सहरमा बस्ने मान्छेको समस्या भन्ठान्छन्। उनीहरू यो दुःखद परिस्थिति भए पनि हामीले टाउको दुखाइरहनु नपर्ने सोचाइ राख्छन्।
मनोवैज्ञानिक स्टिभन टेलरले आफ्नो किताब 'द साइकोलोजी अफ पेनडेमिक्स' (महामारीको मनोविज्ञान) मा यस्तो संकट बेला उत्पन्न हुने प्रतिक्रियाको ऐतिहासिक विश्लेषण गरेका छन्। उनका अनुसार, जहाँ कोरोना भाइरस त्यति व्यापक फैलिरहेको छैन वा जहाँ सरकारले 'लक-डाउन' घोषणा गरेको छैन, त्यस्ता ठाउँका मान्छे भिडबाट पन्छिन वा घरभित्रै बस्न उति रुचाइरहेका छैनन्।
'मनको लड्डु घ्यूसँग खान खोज्नेका लागि यो ठीक पनि होला,' स्टिभन भन्छन्, 'आफ्नो समुदायका कतिपय मान्छे भाइरस बोकेर आइरहेको प्रत्यक्ष देख्न नसक्ने भएकैले यो परिस्थिति कति खतरनाक छ भन्ने उनीहरू बुझिरहेका छैनन्।'
४) उनीहरू थाहै नपाएजस्तो गर्दैछन्
स्टिभनकै शब्दमा कोरोना भाइरसले 'इन्फोडेमिक' (सूचनाको महामारी) सिर्जना गरिरहेको छ। आमसञ्चारले दिने सूचना, सामाजिक सञ्जालमा आउने जानकारी र प्रियजनसँगको बातचितमा कोरोना भाइरसले मात्र स्थान पाइरहँदा मान्छे दिक्क भएर पनि यसको संवेदनशीलताबाट पर हट्न थालेको उनी बताउँछन्।
असाध्यै धेरै सूचनाको भारीले मानिसमा मिश्रित सन्देश प्रवाह गर्न सघाइरहेको उनको भनाइ छ। कम उमेरकालाई संक्रमण सम्भावना असाध्यै कम भएको बारम्बार बताइन्छ। यस्तो अवस्थामा तन्नेरीहरूमा जोखिम मोल्ने सोच जाग्छ। यस्ता भाइरससँग किन डराउनु भन्ने धारणा विकास हुनसक्छ।
५) उनीहरू वैयक्तिक ढंगले सोच्दैछन्
यसमा फरक पुस्ताका फरक सोचको समस्या मात्र छैन। पश्चिमा संसार, विशेषगरी अमेरिकाले वैयक्तिक स्वतन्त्रतालाई लामो समयदेखि सम्मान गर्दै आएको छ। कतिपय अवस्थामा त्यस्तो सोचाइलाई सामाजिक हिसाबले पुरस्कृत गर्दै आएको छ। यस्तो महामारी अवस्थामा वैयक्तिक ढंगले सोच्नु विशेषगरी दुर्बल अवस्थाका मान्छेका लागि भयावह हुनसक्ने स्टिभन बताउँछन्।
स्वास्थ्यकर्मी, सेलिब्रिटी लगायतले आफ्नो निम्ति नभए पनि ६० वर्षमाथिका जोखिमयुक्त, रोगप्रतिरोधात्मक क्षमता असाध्यै कम भएका र यस महामारीविरूद्ध अग्रमैदानमा रहेर डटिरहेका डाक्टर तथा नर्सका लागि भए पनि घरैमा बसिदिनुस् भनेर बिन्तीभाउ गरिरहेका छन्।
'सामुदायिक प्रयास यति बेला कोरोना भाइरस व्यवस्थापनको एउटै मात्र बाटो हो,' स्टिभन भन्छन्, 'एकलकाँटे भएर आफूलाई मात्र नहेरौं भन्ने नै मुख्य कुरा हो।'
६) उनीहरू एकान्तिक महशुस गर्छन्
मानव जाति परस्पर सम्पर्कबिना बाँच्नै सक्दैनन् भन्नेमा यी तीनै जना मनोवैज्ञानिक एकमत राख्छन्। त्यसैगरी लामो समय सामाजिक सम्पर्क अवरुद्ध गरिनु घातक हुनसक्छ।
पहिल्यैदेखिको एकान्तिक जीवनले विषाद्कै कारण मृत्यु हुनसक्ने अवस्थामा बाँचिरहेका बुढापाका यस्तो बेला झनै बढी खतरामा पर्न सक्छन्। त्यस्ता बुढापाकाले प्रविधि प्रयोग गरेर सम्पर्क स्थापित गर्ने कला पनि कमै जानेका हुन सक्छन्।
'हामी सामाजिक प्राणी हौं,' एजमन्डसन भन्छन्, 'हामीसँग पर्याप्त स्वतन्त्रता पनि छ, जसले हामीलाई जसोजसो भनिएको छ, त्यसैअनुसार परिवर्तन भइदिन सजिलो छैन।'
त्यसो भए उनीहरूलाई घरभित्रै राख्न सकिएला?
एजमन्डसन यही कुरा पत्ता लगाउन अध्ययनरत् छन्। मान्छे सरकारी अनुरोध किन पालना गरिरहेका छैनन् भन्ने मनोवैज्ञानिक आधार खोज्दै गर्दा ढिलोचाँडो सरकारी अधिकारीले दिइरहेका सन्देश आममानिसले राम्ररी सम्झिने-बुझ्ने गरी सामाजिक दुरी कायम गराउन त्यस्ता सन्देश फेरि पुनर्लेखन गर्न सकिनेछ।
त्यस्ता सन्देश अलि चलाखीसाथ तयार पार्न सकिने मनोवैज्ञानिक बताउँछन्। केही मनोवैज्ञानिक मान्छेलाई डर देखाएर घरमा राख्न सकिने तर्क गर्छन्। अन्य मनोवैज्ञानिक भने डराएका मान्छेका व्यवहार बुद्धिमत्तापूर्वक सोचेर तर्कसाथ उत्पन्न हुने प्रतिक्रियाभन्दा बेग्लै हुने भएकाले भय मात्र देखाएर घरभित्र राख्न खोज्नु अझ घातक हुनसक्ने र अत्यास झनै बढ्ने बताउँछन्।
यस मामिलामा अघि भनिएजस्ता अति र अति कम प्रतिक्रिया जनाउने दुवैथरि मान्छेमा बराबर उपयोगी हुने उपाय ठम्याउन अलि मुश्किलै रहेको एजमन्डसन सुनाउँछन्।
एउटा कुरामा भने सबै विज्ञको समान राय छ, 'मान्छेलाई घरै बस्न कसरी राम्ररी सम्झाउन सकिन्छ भन्ने नै अहिलेको महामारीविरुद्ध हाम्रो मुख्य लडाइँ हो।'