पशु सेवा विभागले बर्ड फ्लूको बेला प्रयोग भएर बचेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) कोरोनाविरूद्ध उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि दिएको छ।
विभागका महानिर्देशक वंशी शर्माले प्रदेशहरूलाई १ हजारभन्दा बढी पिपिई वितरण गरिएको जानकारी दिए।
'विभागले बर्ड फ्लूको आपतकालीन नियन्त्रणको लागि स्टक गरेर राखेको पिपिई स्वास्थ्य मन्त्रालयलाई दिएको हो,' उनले भने।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विभागबाट ५ सय पिपिई लिएर टेकु अस्पताललाई दिइएको बताए।
'पशु सेवा विभागसँग केही पिपिई रैछ। हामीले तत्काल उहाँहरूसँग मागेर टेकु अस्पताललाई दियौं,' उनले भने।
कोरोनाविरूद्ध उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पिपिई लगायत सुरक्षा सामग्री अभाव भइरहेको बेला स्वास्थ्य मन्त्रालयले यस्ता सामग्रीको जोहो गर्न थालेको छ।
स्वास्थ्य सेवा विभागले पिपिईको जरूरी रहेको बताएपछि विभागले स्टकमा रहेको पिपिई सहयोग गरेको महानिर्देशक शर्माले बताए।
विभागले प्रदेश दुईबाहेक बाँकी प्रदेशहरूमा रहेको कोरोनाविरूद्ध उपचार सेवा दिइरहेको अस्पतालहरूलाई पनि केही पिपिई सहयोग गरेको छ।
गण्डकी अस्पताल, धनगढीस्थित अस्पताल र वीपी कोइराला प्रतिष्ठानलाई समान १ सय वटा पिपिई विभागले आफ्नो शाखा कार्यालयबाट दिएको उनले जानकारी दिए।
यस्तै, विभागले बुटवलस्थित अस्पताललाई ५० वटा र भरतपुरस्थित अस्पताललाई ७५ वटा पिपिई दिएको छ।
प्रदेश दुईले भने अहिलेसम्म माग नगरेको भन्दै महानिर्देशक शर्माले भने, 'उहाँहरूले पनि माग गर्नुभयो भने हामीले दिनसक्ने सहयोग गर्छौं।'
उनले विभागसँग रहेको प्रयोगशाला पनि सरकारले चाहे प्रयोग गर्नसक्ने बताए।
'हामीसँग एउटा केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशाला छ। जनशक्ति र उपकरण लिएर सरकारले कोरोना परीक्षण सेवा सञ्चालन गर्न सक्छ,' उनले भने।
सरकारले कोरोनाविरूद्ध उपचारमा खटिएका स्वास्थ्यकर्मीको लागि पिपिईलगायत सामग्री चीनबाट ल्याउन शनिबार राति नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ पठाउँदैछ।
सरकारले आफ्नै खर्चमा उक्त सामग्री ल्याउन लागेको एक मन्त्रीले जानकारी दिए।
'विमान शनिबार राति गएर आइतबार बिहान फर्किन्छ। सकेसम्म त्यही दिन सबै ठाउँमा सामग्री पुर्याउँछौं,' मन्त्रीले भने।
पिपिईलगायत स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै धेरै स्वास्थ्यकर्मीले काम गर्न जोखिम रहेको बताउँदै आएका छन्।
त्यस्तै, कोरोना परीक्षण गर्ने सुविधा प्रदेशहरूमा नहुँदा नमूना परीक्षण गर्न काठमाडौं ल्याउनुपर्ने अर्को झन्झट छ।
'पिसिआर मेसिन आएपछि धेरै परीक्षण हुन्छ। सजिलो पनि हुन्छ। अहिलेजस्तो नमूना काठमाडौं ल्याउनुपर्ने झन्झट हुन्न,' स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने।