सुनसान पोखरा विमानस्थलमा बिहीबार बिहानैदेखि विदेशी पर्यटकको चहलपहल थियो। उनीहरू यताउता सोधपुछमा व्यस्त थिए। कोही तारबारबाट रनवेतिर आँखा बिछ्याइरहेका थिए।
दिउँसो बुद्ध एयरको जहाज ओर्लियो। जहाज आउला र घर जान पाइएला भनेर कुरिरहेका ६० जना फ्रेन्च नागरिकको अनुहार उज्यालो भयो। कतिले खुसीका आँशु बगाए, कतिले उद्धार गरेकोमा आफ्नो सरकारलाई धन्यवाद दिए।
काठमाडौंस्थित फ्रान्सेली दूतावासले पोखरामा अड्किएका नागरिकलाई लैजान जहाज चार्टर्ड गरेको थियो। यसनिम्ति पोखरा र आसपास क्षेत्रमा अड्किएका नागरिकलाई पहिले नै सूचना दिएर विमानस्थल डाकिएको थियो।
तोकिएको समयमा विमानस्थल भेला भएका ६० जनामध्ये ५९ जना काठमाडौं जान पाए, एक युवती भने पोखरामै अड्किइन्। दूतावासले विमानस्थल पठाएको सूचीमा उनको नाम थिएन। उनी लोभान हिजोला हुन्।
उनी दूतावासको सूचनाअनुसार आफू बसेको होटलबाट ‘चेक-आउट’ भएर विमानस्थल पुगेकी थिइन्। दूतावासले विमानस्थल पुगेर सम्पर्क गर्न भनेको थियो। उनले सम्पर्कको प्रयास गरिन्, तर दूतावासमा फोन उठेन।
‘मैले धेरैपटक प्रयास गरेँ, सम्पर्क नै भएन,' लोभानले सेतोपाटीसँग भनिन्, 'दूतावासले पठाएको सूचीमा मेरो नाम नहुँदा म जान पाइनँ।’
चार्टर्ड जहाजले २४ महिला, ३४ पुरुष र एक बच्चा गरी ५९ जनालाई काठमाडौं लैजाँदा उनी एक्लै लेकसाइडको होटल फर्कनुपर्यो।
अब के गर्ने त?
‘दूतावासको सूचना पर्खेर बस्छु,' लोभानले भनिन्, 'हेरौं, केही व्यवस्था मिलाउला।’
झन्डै दुई महिना लामो छुट्टी मनाउन नेपाल आएकी लोभान घुम्ने ‘सेड्युल’ सकिएको छैन। उनी यही मार्च १२ मा फ्रान्सबाट काठमाडौं ओर्लिकी हुन्। पासपोर्टमा एक महिनाभन्दा बढीको पर्यटक भिसा छ। तीन दिन काठमाडौं घुमेर पोखरा आएकी उनले सात दिनको मर्दी हिमाल पदयात्रा पूरा गरिसकिन्।
पोखरामा अड्किएका आफ्ना नागरिक उद्धार गर्ने फ्रान्स पहिलो देश हो। यहाँका अरू विदेशी पर्यटक पनि घर फर्कन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन्। होटलमा बन्द कोठाभित्रको बसाइ उनीहरूका लागि पट्यारलाग्दो छ। बजार, बाटो सबै बन्द भएकाले कतै निस्कन पाएका छैनन्।
दूतावासले उद्धार गर्न नखोजेपछि फ्रान्सबाहेक अन्य देशका नागरिक बिहीबार पोखरास्थित जिल्ला प्रशासन कार्यालय पुगे। उनीहरूले काठमाडौंसम्म जान पाउँ भनेर आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालयअगाडि पर्यटकको समूह धर्ना बसेझैं देखिन्थ्यो।
उनीहरूले दूतावासमा बारम्बार भनेपछि प्रशासनलाई पत्र आयो, ‘हाम्रा नागरिकलाई मोटरबाटो भएर काठमाडौंसम्म आउने व्यवस्था मिलाइदिनुपर्यो।’
काठमाडौंस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत झन्डै १० वटा दूतावासले आफ्ना नागरिकलाई सडकमार्गबाट काठमाडौं जाने व्यवस्था मिलाउन आग्रह गरेका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मानेनन्। उनले दूतावासलाई जवाफ लेखे, ‘लैजाने भए विमान चार्टर्ड गरेर लैजानू।’
यस्तो जवाफ पाएपछि ती पर्यटक पनि लोभानजस्तै आफू बसेकै ठाउँ फर्किए।