वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनमाथि एसिड छ्याप्ने अभियुक्त संसाद मियालाई जिल्ला अदालत पर्साले साधारण तारेखमा छोडेको छ। खातुनलाई एसिड आक्रमण गरेको अभियोगमा उनी र मजिद मिया बाल सुधार गृहमा थिए।
बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालयको इजलासले वैशाख १४ गते अदालतमा उपस्थित गराउन ल्याउने गरी उनलाई आमाको जिम्मा लगाउन आदेश दिएको नायब सुब्बा वर्षा साहले सेतोपाटीलाई जानकारी दिइन्।
'उनकी आमाले कोरोना संक्रमणका बेला आफ्नो नाबालक छोरालाई आफ्नो जिम्मा दिन माग गर्दै बुधबार दिएको निवेदनमा बिहीबार जिम्मा लगाउने आदेश भएको हो,' उनले भनिन्।
उनका अनुसार कोरोना भाइरसको संक्रमणका बेला बाल सुधार गृहमा रहेका बालबालिकालाई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी छोड्न भन्दै सर्वोच्च अदालतले गरेको निर्णयका आधारमा उनलाई छोडिएको हो।
सर्वोच्चका सबै न्यायाधीशको बैठकले चैत सात गते बाल सुधार गृहमा रहेका बालबालिकालाई कोरोना संक्रमणको बेला उनीहरूको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउन सकिने निर्णय गरेको थियो।
मुस्कानलाई एसिड छ्याप्ने अर्का अभियुक्त मजिद मियाँका अभिभावकले पनि निवेदन दिएका थिए तर उनको उमेर १८ वर्ष पुगेकाले छोड्न नमिल्ने आदेश भएको छ।
वीरगञ्जको त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी खातुनमाथि भदौमा उनीहरूले एसिड प्रहार गरेका थिए।
एसिड प्रहारले उनको शरीरको एक भाग पूर्ण रुपले जलेको थियो। उनको मुख, हात, छाती पाखुरामा गम्भीर चोट लागेको थियो। घटनालगत्तै उनलाई काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो।