पोखरामा अलपत्र परेका विदेशी पर्यटकको हवाइ र स्थलमार्गबाट उद्धार गरिँदैछ।
नेपाल पर्यटन बोर्डको समन्वयमा पोखरामा रहेका पर्यटकलाई श्री एयरलायन्सको जहाज र पर्यटक बसमार्फत् उद्धार गरिएको नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल नाटाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए।
श्री एयरलायन्सको जहाजबाट दिउँसो १२ बजे पहिलो फ्लाइटमा ६९ जना पर्यटक काठमाडौं लगिएको छ। यस्तै दोस्रो फ्लाइटबाट पनि पर्यटक लैजाने तयारी गरेको श्री एयरलायन्स पोखराका इन्चार्ज बासु काफ्लेले जानकारी दिए। उनका अनुसार दोस्रो फ्लाइटमा पनि ५०-६० जना लगिँदैछ।
यस्तै, सडकबाट पनि पर्यटकलाई काठमाडौं लगिँदैछ। लेकसाइडको बाराही चोकमा भेला गराएर पर्यटक, गाइड र पोर्टरलाई काठमाडौं लैजान लागेको नाटाका प्रथम उपाध्यक्ष अधिकारीले बताए।
अहिलेसम्म पर्यटक, गाइड र पोर्टर गरेर १२५ जना जम्मा भएको र उनीहरूलाई पर्यटक बस मार्फत उद्धार गरिने अधिकारीले जानकारी दिए।
यसअघि शुक्रबार यति एयरलायन्स र बिहीबार बुद्ध एयरलायन्सले पोखरामा रहेका पर्यटकको उद्धार गरेको थियो।