क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि दिनमा दुई पटक खाना र खाजा खुवाइने भएको छ।
भारतलगायत विदेशबाट नेपाल भित्रिएका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिएको छ।
अधिकांश क्वारेन्टाइन प्रदेश सरकारको समन्वयमा स्थानीय तहहरूले नै व्यवस्थापन गरिरहेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न बनेको मापदण्ड’ सहित कार्यविधि नै बनाएर लागू गरेको छ।
उक्त कार्यविधि मन्त्रालयले सात सय ५३ स्थानीय तहमा पठाइसकेको छ। खाना र खाजा सुरक्षा निकायबाट व्यवस्थापन गर्ने गरी प्रबन्ध मिलाइएको हो।
‘क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूलाई प्रतिदिन प्रतिव्यक्ति क्वारेन्टाइन रहेको जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित रासन दररेट बमोजिमको खाना-खाजा खर्च उपलब्ध गराइनेछ,’ कार्यविधिमा भनिएको छ।
कतिबेला खाना र खाजा खुवाउने भन्ने समय पनि किटान गरिएको छ। क्वारेन्टाइनमा बस्ने व्यक्तिले बिहान आठ बजसेसम्म चिया-खाजा खाइसक्नुपर्नेछ। मध्यान्ह १२ बजे खाना, दिउँसो ३ बजे खाजा र बेलुकी ८ बजेभित्र खाना खाइसक्नुपर्नेछ।
खाना-खाजाको व्यवस्थापन गर्दा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका स्वस्थकर प्रयोग गर्नुपर्नेछ।
क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषबाट व्यहोर्ने सरकारको तयारी छ। उक्त कोषमा अहिलेसम्म १५ करोड रुपैयाँ संकलन भइसकेको छ।
कार्यविधिले क्वारेन्टाइनमा बस्दा पालना गर्ने नियम पनि बनाएको छ भने सुरक्षा, स्वास्थ्य तथा अनावश्यक टीकाटिप्पणी गर्न बन्देज लगाएको छ।
‘आवश्यकता र औचित्यताका आधारमा तोकिएको व्यक्तिले मात्रै सूचना प्रवाह गर्ने,’ कार्यविधिमा भनिएको छ, ‘क्वारेन्टाइनमा रहँदा बाहिर परिवार तथा मिडियामा अनावश्यक टीकाटिप्पणी र अफवाह सम्प्रेषण नगर्ने।’
क्वारेन्टाइनमा रहेका व्यक्तिले बाहिरका व्यक्तिसँग भेटघाट गर्नैपर्ने जरूरी परे स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा गर्न आग्रह गरिएको छ। कोही व्यक्ति क्वारेन्टाइनबाट भाग्न कोशिस गरे उसलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिले सूर्तिजन्य, नशालु तथा मादक पदार्थ सेवन गर्न पाउने छैनन्। क्वारेन्टाइनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी पनि खटिन सक्नेछन्। क्वारेन्टाइन स्थल नजिकै बेग्लै सुरक्षाकर्मीको व्यारेक हुने कार्यविधिमा उल्लेख छ।