बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनी बाग्लुङ नगरपालिकाकी वासिन्दा हुन्।
चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन माइक्रो चढेर घर पुगेकी थिइन्।
घर गएको २-३ दिनपछि उनलाई ज्वरो आएको थियो।
बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन्। तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए।
‘उहाँ आएको जहाजमा आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भयो। हाम्रो नगरपालिकामा पनि उहाँको नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो,’ मेयर पौडेलले भने। चार दिनअघि परीक्षणका लागि स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको पौडेलले जानकारी दिए।
‘अब धौलागिरि अस्पतालमा राख्ने कि पोखरा वा काठमाडौं लैजाने हामी सल्लाह गर्दैछौं,’ मेयर पौडेलले भने।