झापाको अर्जुनधारा- ११ का अजित तिवारीका डेढ वर्षीय छोरा अश्विनलाई ज्वरो आएपछि बिर्तासिटी अस्पतालमा पाँच दिन भर्ना गरेर राखिएको थियो। झन्डै १० दिनअघि सञ्चो भयो र घर ल्याए।
चार दिनअघि अश्विनलाई फेरि ज्वरो आयो। अभिभावकले फेरि उनलाई बिर्तासिटी अस्पतालमा पुर्याए।
डाक्टरले हेरेर दबाइ दिए। घर आइनपुग्दै झाडापखाला सुरू भो, ज्वरो पनि बढ्यो। साँझपख बालकका अभिभावकसँगै बच्चालाई लिएर आफन्त कोषराज कटुवाल पनि अस्पताल गए। अस्पतालमा नर्समात्र थिइन्। उनले डाक्टरलाई फोन गरिन्।
डाक्टरले फोनमै भने-बिरामीलाई यहाँ राखेर जाँच्न सकिन्न। पिसियू भएको ठाउँमा लैजानुपर्छ।
नर्सले त्यो कुरा भन्नुअघि नै बालकका आफन्त कटुवालले डाक्टरको कुरा सुनिसकेका थिए।
'साँझको त्यस्तै साढे छ/७ बजेको थियो हामी बच्चा बोकेर बिएण्डसी अस्पताल गयौं,' उनले भने, 'त्यहाँ त गार्डले नै हामीलाई भित्र पस्नै दिएनन्।'
उनीहरूले कमसेकम डाक्टरलाई एकपटक सोधिदिन र यहाँ उपचार हुन नसके रिफर गरिदिन भने। गार्डहरू भित्र गएर आएपछि भने- डाक्टरहरू हुनुहुन्न।
'त्यसपछि त हामीलाई उनीहरूले चुप लागेर जानुस् भन्दै हप्काए,' कटुवालले भने, 'त्यसपछि बच्चा लिएर अञ्जली अस्पताल गयौं त्यहाँ पनि उपचार हुन्न भनियो। मनमोहन अस्पतालमा एनआइसियु थियो र गयौं तर डाक्टर हुनुहुन्न उपचार हुन्न भन्दै हामीलाई फिर्ता पठाइयो।'
त्यसपछि उनीहरूले बिरामी बच्चालाई घरमै ल्याए। आज बिहानमात्र उनीहरूले बच्चालाई विराटनगरको नोबेल अस्पतालमा लगेर भर्ना गरेका छन्।
यी अस्पतालमध्ये बिएन्डसी त्यस्तो अस्पताल हो जसका सञ्चालक दुर्गा प्रसाईंले शुक्रबारमात्र आफ्नो अस्पताल कोरोनाको संक्रमण भएकाको उपचारका लागि सरकारलाई दिने घोषणा गरेका थिए।
कोरोनाबाहेक अरू रोग लागेर आएका बिरामीलाई चाहिँ उपचार नगर्ने हो भन्ने सेतोपाटीको प्रश्नमा प्रसाईंले सुरूमा त्यस्तो घटना नभएको दाबी गरे।
'अस्ति साँझ म आएपछि त्यस्तो भएको मलाई थाहा छैन। यहाँ सबैको उपचार हुन्छ। बिरामी फर्काउने हाम्रो नीति छैन,' उनले भने।
आफू काठमाडौंबाट दुई दिनअघि आएकाले त्यसअघिको घटना थाहा नभएको पनि बताए।
'त्यही पनि कसले फर्काएको रहेछ म बुझ्छु। यहाँ झापामा सबै अस्पतालका ढोका बन्द छन् म अस्ति साँझ आएपछि मैले हामीले ढोका बन्द नगरौं भनेर सबैलाई भनेको छु। त्यो दिनअघि भएको घटनाबारे मलाई थाहा छैन,' उनले भने।
बिएन्डसीले हिजोमात्र अर्को बिरामी पनि फर्काइदिएको छ। ती हुन्, कन्काई नगरपालिकास्थित दुर्गापुरका चित्रबहादुर दर्जी।
उपचार गर्नसक्ने मुख्य डाक्टर नभएको भन्दै फिर्ता पठाएको उनकी श्रीमती देवी दर्जीले बताइन्।
देवीका अनुसार झन्डै २० दिनअघि चित्रबहादुर कसैको घरमा लडेका थिए।
त्यसपछि देवीले पतिलाई मेची अस्पताल पुर्याइन्।
'अस्पतालको गेटमा एकजना छोरामान्छे थिए उनले डाक्टर छैनन् उपचार हुन्न भनेर पाथिभारा क्लिनिक जान भने,' उनले भनिन्, 'पाथिभारामा पुग्दा त्यहाँ कति धेरै पाले उभिएका थिए। उनीहरूले हुँदैन-हुँदैन यहाँ नआउनु भने, हामी फर्कियौं। रात परेको थियो।'
यतिन्जेल श्रीमानको होस खुलेको थियो तर बोल्न भने उनी सक्दैनथे। उनीहरू हिँड्दै केही तल पुगेर बास बसेको देवीले सुनाइन्।
'भोलिपल्ट बास बसेको ठाउँबाट हिँडेर केही पर पुग्दा प्रहरी भेटिए। उनीहरूलाई मैले आफ्नो समस्या सुनाएँ,' उनले भनिन्, 'पुलिसले विर्तामोड जानु म फोन गर्दिन्छू भने। पैसा छ भनेर सोधेका थिए। मसँग १५ सय थियो। उनीहरूले नै एम्बुलेन्स बोलाइदिए। हामी बिएन्डसीमा गयौं। तर त्यहाँ त गेटभित्र छिर्नसमेत दिएन।'
त्यसपछि उनले आफ्ना श्रीमानलाई घरमै ल्याइन्। श्रीमानलाई कत्ति सन्चो भएको थिएन। यसैबीच उनले आफ्नो कुरा कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलसम्म पुर्याइन्।
'हिजो मेयरसाहेब आउनु भएको थियो उहाँले उपचार गर्न बिएन्डसी लैजानु म भन्दिन्छु भन्नुभयो,' उनले भनिन्।
एकजना आफन्तले मगाइदिएको गाडी चढेर शुक्रबार दिउँसो झन्डै १ बजे श्रीमानलाई लिएर उनी फेरि बिएन्डसी पुगिन्।
'अस्पताल पुगेर मैले मेरो बुढाको त टाउकोको सिटीस्क्यान गर्न पर्छ होला भने,' उनले भनिन्, 'नर्सहरू थिए। उनीहरूले यहाँ ठूला डाक्टरहरू छैनन् त्यसैले उपचार हुन्न भनेर भर्ना गर्नै मानेनन्।'
बरू ती नर्सहरूले केही दबाइ लेखिदिएको उनले बताइन्।
'औषधी लेखिदिएको थियो। मैले हाम्रो बुढाको साहुलाई त्यो चिट दिएँ उहाँले औषधी ल्याइदिनुभएको छ,' उनले भनिन्, 'अहिले त्यही खुवाएर राखेको छ।'
बिएन्डसीका सञ्चालक प्रसाईंले आफू आएपछि बिरामी नफर्काइएको भने पनि शुक्रबारमात्र उनीहरूलाई अस्पतालले फर्काइदियो।
मेची अञ्चल अस्पतालका मेडिकल निर्देशक पिताम्बर ठाकुरले पनि बिरामी नफर्काएको दाबी गरे।
'इमर्जेन्सी २४ घन्टा चलाएका छौं र फिभर क्लिनिक पनि खुलै छ। तपाईंले सुनेको हल्ला मात्र हो। यो सरकारी अस्पताल हो बरू निजीमा त्यस्तो भए होला,' उनले भने,'सरकारी प्राइभेट अस्पतालका प्रमुखलाई सिडिओले पनि बोलाउनु भएको थियो। तर सेवा नै नदिने काम हामीबाट भएको छैन भनेर आएका छौं।'
झापाका अस्पतालले बिरामी जाँचेनन् भन्ने गुनासो प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरकहाँ पनि पुगेको थयो। शनिबार उनले अस्पताल सञ्चालकहरूलाई बोलाएर कुरा गरे।
'हामीकहाँ गुनासो आएको थियो। आजै हस्पिटल सञ्चालकलाई बोलाएर छलफल गरेका छौं। उनीहरूले पनि उपचार नगरेको होइन मेन गेट भने लगाएका थियौं भनेका छन्,’ रानाले सेतोपाटीसँग भने, 'हामीले सेवा दिन भनेका छौं। आजदेखि गेट खोल्ने र सेवा पनि दिने सहमति बनेको छ।'