निजी अस्पतालहरूले चीनबाट आएको स्वास्थ्य सामाग्री आफूलाई पनि वितरण गर्नुपर्ने बताएका छन्।
निजी अस्पतालहरूको छाता संगठन (अफिन) का महासचिव हेमराज दाहालले आइतबार चीनबाट ल्याइएको पिपिई सरकारले सकेसम्म निजी अस्पतालहरूलाई पनि वितरण गरेर सहयोग गर्नुपर्ने बताएका हुन्।
'पिपिईलगायत सुरक्षा सामग्री अभाव छ। निजी अस्पतालहरूलाई पनि वितरण भयो भने काम गर्न सहज हुन्छ,' उनले भने।
दाहालले सबै अस्पतालहरूले पिपिईको समस्या बताएको भन्दै सरकारले उक्त सामग्री निजी अस्पतालहरूलाई पनि उपलब्ध गराउनु पर्ने जनाए।
अहिलेलाई अस्पतालहरूले पिपिई जुगाड गरिरहेको र बजारमा पनि अभाव रहेको उनले बताए।
सरकारको निर्देशनपछि निजी अस्पतालहरू कोरोना शंकास्पद बिरामीहरूलाई उपचार गर्ने निष्कर्षमा पुगेका छन्।
महासचिव दाहालले सेतोपाटीसँग भने, 'हामी बिरामीको स्वाब परीक्षण गर्ने तहसम्म उहाँहरूलाई आइसोलेसनमा राखेर उपचार गर्छौं। यसबारे सबै अस्पताललाई पत्रचार गरिसकेका छौं।'
यसअघि भने निजी अस्पतालहरूले पिपिईलगायत सुरक्षा सामाग्री अभाव रहेको भन्दै कोरोना शंकास्पद बिरामीको उपचार गर्न नसक्ने बताएको थियो।
दाहालले सबै अस्पतालहरूलाई कोरोना शंकास्पद बिरामीलाई भर्ना गर्न छुट्टै आइसोलेसन बेड तयार गर्न भनिएको बताए।
सरकारले राजधानीका ९ वटा अस्पतालहरूलाई कोरोना शंकास्पद विरामीको उपचार गर्न हब अस्पताल तोकेको छ। जसमा अल्का, ग्रान्डी, सुमेरू, ह्याम्स, बिएन्डबी, ब्लुक्रस, स्टार र वयोधा र नर्भिक अस्पताल छन्।