‘लकडाउन’का कारण वीरगञ्जको नयाँ बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रुहरुलाई वीरगञ्ज महानगरपालिकाले खाना खुवाउने व्यवस्था गरेको छ।
बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रुहरु गरी एक सय जनालाई महानगरपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको हो।
महानगरपालिकाले उनीहरुलाई आजदेखि दैनिक बिहान बेलुका गरी दुई पटक खाना खाने व्यवस्था गरेको पृथ्बी तारा एनके इन्टरनेसनल जेभीका निर्देशक शिवकुमार गुप्ताले बताए।
महानगरपालिकाका मेयर विजय सरावगीको पहलमा बसपार्कमा अलपत्र रहेका यात्रु हरुलाई खाना खुवाउन थालिएको गुप्ताले बताए। लगभग एक सय जना चालक, सहचालक र यात्रुहरु लक डाउनका कारण खाना खान नपाई बसपार्कमै अलपत्र परेका छन्।
कोरोना भाइरसको संक्रमण रोक्न गत मंगलबारदेखि देशभर आह्वान गरिएको लकडाउनका कारण यातायातका साधन, होटेल, पसल समेत नचल्दा उनीहरु बसपार्कमै भोकभोकै बस्न बाध्य भएका थिए।