हेनरी एनसेल र माइकल ब्रायन एकअर्कालाई प्रेम गर्छन्। उनीहरू केही किलोमिटरको दुरीमा बस्छन्। तर, अब कम्तिमा चार साता उनीहरू एकअर्कालाई देख्न पाउने छैनन्। कोरोना भाइरसको महामारीले मुलुक 'लक-डाउन' छ।
एनसेल र ब्रायन दुवै वेलिङ्टनमा बस्छन्, जुन न्यूजिल्यान्डको सुन्दर तटवर्ती राजधानी हो।
'सुरूमा त हामीलाई लक-डाउनका नियम बुझ्नै अप्ठ्यारो भयो। तै पनि ठीकै छ, सातामा एक वा दुईपटक कसो भेट्न नपाइएला भनेर चित्त बुझायौं,' पाँच वर्षदेखि प्रेमबन्धनमा परेकी २५ वर्षीया एनसेल भन्छिन्, 'हामीमाथि यस्तो बज्रपात भयो, जुन हुनुहुन्थेन।'
ब्रायनले यो लक-डाउन बेला आफैंकहाँ आएर बस्न एनसेललाई निम्तो दिएका थिए। तर, ब्रायनसँग फ्ल्याट साझेदारी गर्ने साथीकी प्रेमिका पहिल्यैदेखि त्यहाँ बस्दै आएकीले उनलाई जान मन लागेन। यता आफूकहाँ बोलाउँदा ब्रायनलाई घर साँघुरो लाग्यो।
कुनै समय स्थानीय पिज्जा रेस्टुरेन्टमा काम गर्दागर्दै भेटिएका यी ढुकुर जोडीको माया अब केही सातासम्म 'च्याट' ले अघि बढाइदिने भएको छ। दुरी आठ किलोमिटरको, प्रेम चल्नेछ इन्टरनेटमा। एकअर्कासँग नारिएर घुम्न जानु त अब के सम्भव होला! बरू अलग्गै बसे पनि नेटफ्लिक्सका उही शोहरू एकसाथ हेर्दै उनीहरू सँगसँगै भएको अनुभूति गर्न सक्नेछन्।
'भेट्न त छटपटी नै लागिरहेको छ, कस्तो निराशाजनक हेर्नुस् न, नजिक पुग्नासाथ अंगालो मारिन्थ्यो,' उनले भनिन्, 'अहिले त्यो पाइँदैन, देख्न पनि पाइँदैन। कोरोनाले त्यसो गर्न पनि नमिल्ने बनाएको छ।'
यति बेला विश्वभर कोरोना भाइरससँग लड्न मुलुकहरूले लक-डाउन घोषणा गर्दा संसारभरिकै यस्ता प्रेमचरीले एकनासे सकस झेल्नु परिरहेको छ। एनसेल र ब्रायनले दुरीमै रहेर प्रेम सम्बन्ध अघि बढाउन उपयुक्त ठानिरहेका बेला कतिपयले भने यो परिस्थितिकै कारण आफूहरूलाई नजिक्याएका छन्।
जताततै लक-डाउन घोषणा भइरहँदा यस्ता प्रेमीले के-कस्तो उपाय अपनाउने भन्ने प्रश्न गत साता एक पत्रकार सम्मेलनमा समेत पुग्यो। बेलायतकी डेपुटी चिफ मेडिकल अफिसर जेन्नी ह्यारिस बेलायती प्रधानमन्त्रीको विषयमा उठेको जिज्ञासाबारे जवाफ दिइरहेकी थिइन्।
'आपसी सम्बन्धबारे परामर्श दिन नयाँ व्यवसाय थाल्ने सोच बनाइरहेकाले तपाईंहरूलाई यसको उत्तर म बढो सावधानीका साथ दिँदैछु,' ठट्यौली गर्दै ह्यारिसले भनेकी थिइन्, 'एकअर्काप्रति भावनाको दह्रो अग्निपरीक्षा लिएपछि घरभित्रै पनि सँगसँगै वा अलग-अलग जसरी मन लाग्छ बस्नुस्। तर, यहाँ भनिएकोभन्दा फरक नपरोस्।'
सँगसँगै र अलग-अलग
विश्वको अर्को कुना, अर्थात् बेलायतमा २१ वर्षीय जेम्स मार्स र उनकी प्रेमिका कियरा लिपर सोमबार आफ्नो सम्बन्धको पहिलो वर्षगाँठ मनाउन लाग्दै थिए। त्यही बेला मुलुकमा लक-डाउन घोषणा भइदियो।
लिड्स विश्वविद्यालयमा एकसाथ पढिरहेको यो जोडीलाई यस्तो परिस्थिति आउँदैछ भन्ने थाहा थियो। त्यसैले लिपरको घरभन्दा निकै पर बेलायतकै अर्को कुनामा बस्ने मार्स आफ्नो घर फर्किनुअघि उनीहरूले अन्तिम क्षण साथै बिताउने मौकासम्म पाए। अब कम्तिमा तीन साता उनीहरूले एकअर्कालाई भेट्न पाउने छैनन्।
'हामी इन्टरनेटबाट दिनदिनै एकअर्कालाई भेट्छौं र हरेक रातजसो साथसाथै बसेका हुन्छौं,' मार्स भन्छन्, 'तर लक-डाउनअगाडि र अहिलेको हाम्रो भेटघाटमा ठूलो फरक छ।'
मार्सका अनुसार औपचारिक रूपमा प्रेमी-प्रेमिका बनेपछि यति लामो क्षण अलग बस्नुपरेको यो नै पहिलो घटना हो।
उनीहरू 'फेसटाइम' मा दैनिकजसो भेट्छन् र अर्को च्याट गर्ने थलो 'हाउस पार्टी' मा आफ्ना साथीभाइसँग बसेर बात मार्छन्। यति बेलै मार्सले आफ्नो पढाइको गृहकार्यलाई निरन्तरता दिइरहेका छन् भने लिपर शरीर तन्दरुस्त राख्न अभ्यास गरिरहेकी छन्।
मार्स र उनका थुप्रै साथीहरू तीनवर्षे स्नातक अध्ययनको अन्तिम चरणमा भएकाले उनीहरूलाई अब साथै बसेर रमाइलो गर्ने अवसर सायदै मिल्नेछ। यसले यी तन्नेरीमा निराशा पनि छ।
'हाम्रो तेस्रो वर्षे सम्झनाहरूलाई अब कोरोना भाइरसले ओगटेर लगिदिने भएको छ,' उनी भन्छन्।
प्रविधिले प्रेमिकासँगको सम्बन्ध जोडेर राखे पनि एकैठाउँ बसेजस्तो आनन्द नआउने मार्स सुनाउँछन्। यति हुँदाहुँदै सम्बन्धमा आएको यो सकसको क्षणले आफूहरूबीचको माया अझ प्रगाढ बनाउने उनको विश्वास छ।
'यस किसिमको क्षणबाट गुज्रनसक्नु पनि असाध्यै महत्वपूर्ण कुरा हो, किनभने मेरो विचारमा लामो समय सम्बन्ध कायम राख्न यस्ता विछोडले बलियो भूमिका खेल्छ,' उनी भन्छन्, 'जोडीले एकअर्कामाथि असाध्यै बढी निर्भरता राख्दा भविष्यमा कामकै निम्ति एकअर्काबाट टाढा जानुपरे मुश्किल हुन सक्छ।'
गोप्य प्रेम
दिल्ली विश्वविद्यालयका हेमाङ्गले आफ्नो प्रेमीको आवाज सुन्न नपाएको एक साता भइसकेको छ। भारतको राजधानी नयाँदिल्लीमा आफ्नो अभिभावकसँग बस्ने १९ वर्षीय हेमाङ्गले नाम सार्वजनिक नगरिदिन अनुरोध गरेकाले हामीले उनका लागि यो अर्को नाम प्रयोग गरेका हौं।
उनले केही महिनादेखि २२ वर्षीय पुरुष साथीसँग गोप्य प्रेम सम्बन्ध राख्दै आएका छन्।
गएको मंगलबार १ अर्ब ३० करोड जनसंख्या भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साताका लागि मुलुकभर लक-डाउन घोषणा गरेका थिए। यो अवधिमा कोही पनि बाहिर निस्कन पाउँदैनन्। सार्वजनिक यातायात साधन पनि बन्द छन्। त्यसैले हेमाङ्गले दिल्लीकै अर्को कुनामा रहेको आफ्नो प्रेमीलाई भेट्न जाने मौका पाउने छैनन्।
एकातिर हिँडेर जान नसकिने, अर्कातिर फोनबाट सम्पर्क राख्न खोज्दा परिवारले यो सम्बन्धबारे थाहा पाउलान् भन्ने भयले हेमाङ्ग संकटमा छन्।
'अझै पढिरहेको र आफ्नो खुट्टामा उभिइनसकेकाले म घर छाडेर स्वतन्त्र निर्णय गर्नसक्ने वा ऊसँग खुला रूपमा कुराकानी गर्नसक्ने अवस्थामा छैन,' उनी भन्छन्, 'कमाउने भएपछि सायद यो जोखिम उठाउन सकुँला।'
त्यसैले कम्तिमा आगामी केही साताका लागि उनीहरूलाई कुनै कुराले जोड्नेछ भने त्यो केवल 'ह्वाट्स एप' हुनेछ। विश्वविद्यालयको पढाइ सकिएपछि दैनिकजसो भेटघाट गरिरहेको यो जोडीलाई अहिलेको यस्तो परिस्थिति असाध्यै जटिल हो। कोरोनाको हल्ला चल्न थालेपछि अब के हुने हो र कसरी पार लगाउने हो भन्ने भयकै कारण हेमाङ्गले उनको प्रेमीलाई नभेटेको दुई साता भइसक्यो।
'सबैभन्दा नराम्रो त के लाग्दैछ भने,' उनी भन्छन्, 'पछिल्लोपटक भेटघाट गर्दा यो अब हाम्रो अन्तिम भेट हुनेछ भन्ने पनि थाहा थिएन।'
अझै अनिश्चित कालसम्म भेट्न पाइँदैन भन्ने कुराले हेमाङ्ग त्रसित छन्। तर, आफूले यो मामलामा केही गर्न नसक्ने उनले बुझेका छन्।
'मैले जिन्दगीमा यति निरीह कहिल्यै महशुस गरेको थिइनँ,' उनी भन्छन्।
अनिश्चितताको समयमा अंकुरित प्रेम
टाढा रहेका प्रेमीसँग सम्बन्ध राख्दै आएकी ३० वर्षीया इसोबेल इविंगका लागि अप्रिल महिना भनेको अँध्यारो गुफामा हिँड्दै गर्दा अर्को छेउमा देखिएको उज्यालो थियो।
प्रसारण माध्यममा पत्रकार रहेकी इविंग जनवरी मध्यतिर हंगेरीको राजधानी बुडापेस्ट आइपुगेकी हुन्। उनी कहिले अप्रिल आउला र दुई वर्षदेखिका प्रेमी सैम स्मुथीसँग महिनौंपछि भेट्न पाउँला भनेर छटपटिएकी थिइन्।
हिउँमा चिप्लेटी खेल्ने (स्की) व्यवसाय अपनाएका स्मुथी केही महिनादेखि अमेरिकामा छन्। उनले यही बेला प्रेमिका भेट्न हंगेरी आउने कार्यक्रम तय गरेका थिए। तर, समय नजिकिँदै गर्दा कोरोना भाइरसले उनीहरूका योजना चकनाचूर पारिदिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ११ देखि युरोपबाट अमेरिका भ्रमणमा आउनेलाई प्रतिबन्ध लगाइदिएपछि अब स्मुथी अमेरिकामै अड्किनुपर्ने डर उत्पन्न भएको थियो। लगत्तै हंगेरीले पनि विदेशबाट आउनेहरूका निम्ति आफ्नो सिमाना बन्द गरिदिएपछि स्मुथीले प्रेमिका भेट्ने सम्भावना अहिलेलाई टरेको छ। यस्तो अवस्थामा हंगेरी आउनुभन्दा अमेरिकाबाट सोझै न्यूजिल्यान्ड जानु उचित देखेर स्मुथी उतै लागिसकेका छन्।
यति बेला स्मुथी न्यूजिल्यान्डस्थित इविंगको पारिवारिक छुट्टी मनाउने घरमा 'सेल्फ आइसोलेसन' मा छन्। इविंग चाहिँ कामको सिलसिलामा बुडापेस्ट छाड्न नसक्ने अवस्थामा छिन्। उनी बुडापेस्टस्थित अपार्टमेन्टमै बसेर काम गरिरहेकी छन् भने दौडन दानुबे नदी किनारको पहाडतिर जाने गरेकी छन्। एकअर्कालाई फेरि कहिले भेट्न पाइने हो भन्ने यी दुवैलाई थाहा छैन।
'प्रेमी-प्रेमिकाबीच लामो दुरी भएपछि एक्लै बस्ने बानी पर्दै जाँदो रहेछ,' इविंग भन्छिन्, 'हामीले आफ्नो अगाडिको जिन्दगीबारे सोच्न यो समय सदुपयोग गर्न सक्छौं।'
तीव्र गति
३२ वर्षीया अनिकाले आफ्नो साथीसँग बिहे गर्न खोजेको तीन वर्ष भयो, तर उनीहरूको नियन्त्रणभन्दा बाहिरका कुराले जहिले पनि भाँजो हाल्दै ल्याएको छ।
बल्लतल्ल नयाँदिल्लीस्थित यो जोडीको समस्या समाधान भएर बिहेको मिति तय भएको थियो। योजनाअनुसार उनीहरूको बिहे यही मार्च २० मा अदालतमा दर्ता हुनेवाला थियो। चार सय निम्तालुका साथ भव्य भोज आयोजना गरिएको थियो। यो सबलाई पछ्याउँदै अप्रिल १२ मा परम्परागत तवरबाट पनि लगनगाँठो कस्ने योजना उनीहरूले बुनेका थिए।
ठीक यति बेलै बैरी कोरोना भाइरसले आतंक मच्चाइदियो।
भारत सरकारले पर्यटक भिसालाई समेत स्थगनमा राख्दै थप कडा कदम चाल्न थालेपछि यो जोडीको बिहेको योजना हल्लिन सुरू भइसकेको थियो। यस्तो बेला अनिकाले अर्को योजनाबारे सोच्न थालिन्।
नयाँ नयाँ परिस्थितिसँगै उनीहरूको बिहेको योजना फेरिँदै गयो। अन्तिममा केही दिनअघि मात्र उनीहरू मार्च २० कै दिन अदालतमा बिहे दर्ता गरेपछि एउटा सानोतिनो भोज आयोजना गरेर टुंगो लगाउने निधोमा पुगे।
'त्यो सिंगो साता आतंकमा बित्यो,' उनले भनिन्, 'त्यत्रो धेरै मानिस निम्त्याउने भनिएको बिहेमा अन्तिममा 'सोसल डिस्ट्यान्सिङ' कै कारण ३० जना जतिलाई मात्र बोलाउने तय गरियो।'
निम्तो पठाइसकेकाहरूलाई पनि अन्तिम मिनेटमा माफी माग्दै कार्यक्रम रद्द भएको सूचना पठाउनुपरेको उनीहरू सुनाउँछन्।
अनिकाका अनुसार बल्लतल्ल मिठो र आत्मीय बिहे सम्पन्न हुन सकेको थियो। बाहिर एकपछि अर्को संकट थपिँदै थियो भने यो जोडीले सामाजिक सञ्जालमा 'लभ इन द टाइम अफ कोरोना' भन्ने ह्यासट्यागका साथ आफूहरूलाई 'अपडेट' गरिरहेका थिए। त्यसैगरी बिहेका निम्ति तोकिएको स्थानमा पनि धमाधम औषधि छर्ने काम चलिरहेकै थियो।
'कहिलेकाहीँ मानिसको नियति नै त्यस्तो हुन्छ,' उनले भनिन्, 'त्यस्तो बेला पक्कै पनि मानिस थकित र निराश बन्छ। तर, अहिले आएर सोच्दा धन्न गजबसँग बिहे भयो भनेजस्तो लागिरहेको छ।'
आफूले कल्पना गरेजस्तो बिहे हुन नसक्ने अवस्था देखिसकेपछि पनि अनिका र उनका पतिले यसलाई स्थगित गरेनन्। भारतमा बिहेभन्दा अगाडि केटा र केटी साथै बस्ने कुरालाई समाजले स्वीकार्दैन। यस्तो अवस्थामा अब भने यो जोडी 'लक-डाउन' कै बीच साथमा बसेर जीवनको मिठो क्षण बिताउन पाउने भएका छन्।
'लामो समयदेखि मायाप्रेममा गाँसिएका हामीले यो बिहेका निम्ति धेरै अघिदेखि निकै सपना देखेका थियौं,' उनी भन्छिन्, 'फेरि केही भइदिन सक्छ भन्ने त्रास सधैं जीवित रहिरहेको अवस्थामा हामीले जे जस्तो परिस्थिति भए पनि बिहे गरेरै छाड्ने निधो गर्यौं र क्षणभर पनि नपर्खेर हामी दुईको जीवनको रथ अघि बढायौं।'