सरकारले सातै प्रदेशमा स्वास्थ्य सामग्रीहरू पठाउन सुरू गरेको छ।
प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेपाली सेनाको स्काइ ट्रक र अरू प्रदेशमा ट्रकबाट सामग्री पठाउन लागिएको हो।
कर्णाली प्रदेशको सुर्खेतमा सोमबार विहान सेनाको स्काइ ट्रकले सामग्री पुर्याइसकेको छ।
प्रदेश १ र सुदुरपश्चिममा सामग्री लिएर उडेको स्काइ ट्रकमा पीरो राग आएपछि काठमाडौं फर्काइएको छ। आजै ती ठाउँमा पनि स्काइ ट्रकबाटै सामग्री पुर्याइनेछ।
स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले प्रदेशहरूमा स्वास्थ्य सामग्री पठाउन सुरू गरेको सेतोपाटीलाई बताए। धनगढी, सुर्खेत र विराटनगरमा सेनाको स्काइ ट्रकबाट र अन्यत्र ट्रकबाट सामान पुर्याउने उनले जानकारी दिए।
‘बागमती, गण्डकी र प्रदेश ५ मा भने एकएक ट्रक सामग्री पठाउँदैछौं,’ उनले भने।
के-के सामग्री पठाइँदैछ त?
महानिर्देशक श्रेष्ठका अनुसार एक हजार थान पिपिई, पिसिआर मेसीन, एन-९५ मास्कलगायत चीनबाट ल्याइएको सामग्रीहरू प्रदेशमा पठाइँदैछ।
सरकारले कोरोना पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री चीनबाट खरिद गरेर ल्याएको थियो।
चीनको सिचुवान प्रदेश, ज्याकमा र अलिबाबा फाउन्डेसनलेसमेत ती स्वास्थ्य सामग्री सहयोग गरेका थिए।