लमजुङ र तनहुँको सीमाना सुन्दरबजारको पाउँदीमा प्रशासनले चैत १ गते ‘हेल्थ डेस्क’ स्थापना गर्यो। सोही दिन लमजुङको दुईपिप्ले र रामबजारमा पनि हेल्थ डेस्क स्थापना भयो।
तनहुँबाट लमजुङ भित्रने मुख्य नाका पाउँदी र दुईपिप्ले हुन् भने रामबजार कास्कीतिरको नाका। यी हेल्थ डेस्कमा जिल्ला भित्रिने सबैको स्वास्थ्य परीक्षण थालियो।
संकटकालमा सैनिक वा प्रहरी क्याम्पमा सवारी साधन रोकेर लाइन लागेर चेक जाँच गरेझैं यी हेल्थ डेस्कबाट जिल्ला भित्रिने सबैको स्वास्थ्य परीक्षण गरियो-ज्वरो नापियो र कोरोना भाइरससम्बन्धी जानकारी दिइयो।
जतिबेला सरकारले एसइई परीक्षा रोक्ने कि नरोक्ने निर्णय गरिसकेको थिएन। देश लक डाउनमा जानुअघि नै जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यी काम गरिएका थिए।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काका अनुसार चैत १ गतेदेखि अहिलेसम्म जिल्ला भित्रने १७ हजार ६०८ जनाको स्वास्थ्य परीक्षण सकिएको छ।
‘उनीहरू सबैको रेकर्ड राखेका छौं,’ सिडिओ खड्काले सेतोपाटीलाई भने, ‘कहीं कतै कोरोनाको लक्षण देखियो भने उनीहरूसँग जिल्ला आएका सबैको ठाउँ ठेगाना तत्काल पत्ता लगाउँछौं।’
यसबीचमा सरकारले एसइई परीक्षा स्थगित गर्यो, देशभर लक डाउनको घोषणा गर्यो।
चैत ६ गते संयुक्त अरब इमिरेट्स युएर्ईको दुबईस्थित एयर अरेबिया विमानबाट नेपाल आएका एक जनामा कोरोना संक्रमण देखियो। त्यही विमानमा लजुङका ६ जना सवार थिए।
जिल्ला प्रशासन कार्यालयले ती ६ जनाकै अवस्था पहिचान गर्यो। जसमा २ जना काठमाडौंमै क्वारेन्टाइनमा छन् भने ४ जना लमजुङमै स्थानीय तहको क्वारेन्टाइनमा बसेका छन्। ३ जनाको स्वाब परीक्षण गर्न आइतबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
अहिलेसम्म लमजुङका ८ वटा स्थानीय तहमा ९०४ बेडको क्वारेन्टाइन बनेका छन्। जसमा ३८ जना बसेका छन्। स्थानीय तहको क्वारेन्टाइनमा नरहेकाहरूलाई अनिवार्य ‘होम क्वारेनटाइन’मा बस्न लगाइएको छ। उनीहरूलाई ज्वरो आए/नआएकोलगायतका जानकारी लिन निरन्तर प्रशासनले निगरानीमा राखेको छ।
लमजुङमा काम गर्ने अधिकांश मजदुर बाहिरी जिल्लाका छन्। जिल्लामा निर्माणाधीन जलविद्युत आयोजनामा पनि बाहिरी जिल्लाका मजदुर छन्। घर जान चाहने मजदुरका लागि पास बनाएर पठाइएको छ। लकडाउनको समयमा मात्र १ हजारभन्दा बढी मानिसलाई जिल्ला बाहिर जान पास दिइएको छ।
लकडाउनका समयमा कालोबजारी हुन नदिन बजार अनुगमनलाई कडाइ गरिएको छ। खाद्यान्न ढुवानी र औषधि उपचारको अभाव हुन नदिन अनुगमन कडाइ गरिएको खड्काले बताए। उनका अनुसार सदरमुकाम बेसीशहरमा किटनाशक औषधि छर्किइएको छ। जिल्लामा भित्रिएका सबै नागरिकको निरीक्षण प्रशासनले गरिरहेको छ।
यसका लागि प्रशासनले ‘कमाण्ड पोष्ट’ र ‘स्पेसल टाक्स फोर्स’ समेत गठन गरेको छ।
प्रजिअ खड्काको संयोजकत्वमा गठन भएको कमाण्ड पोष्टमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी शिखर जबरा, जिल्लाका प्रहरी प्रमुख डिएसपी रबिन्द्रमान गुरुङ, सशस्त्र प्रहरीका प्रमुख डिएसपी रमेशकुमार गुरुङ, अनुसन्धान प्रमुख सुरेश तिवारी, जिल्ला अस्पतालका डाक्टर, रेडक्रसका प्रमुख लगायत ११ जना सदस्य छन्।
प्रशासनले कोरोना रोकथाम र नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीको संयोजकत्वमा ७ सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ। यो टिमले सूचना संकलन, अभिलेखीकरण गर्ने र कमाण्ड टिमले गरेका निर्णय कार्यान्वयन र तत्काल रेस्पोन्सको काम गर्ने जनाएको छ।
क्विक रेस्पोन्स टिममा नेपाली सेनाको श्रीजंग गणका सहसेनानी ज्ञानेन्द्र कार्की, प्रहरी इन्स्पेक्टर ओमप्रकाश पुन, सशस्त्र प्रहरीका इन्स्पेक्टर सुकबहादुर तामाङलगायत छन्।
यो टिमले प्रत्येक दिन कमाण्ड पोष्टलाई जिल्लाभित्रका कोरोना संक्रमण रोकथाम, नियन्त्रणलगायत दिनभर भएका जिल्लाभरका गतिविधि जानकारी गराउँछ। साथै स्थानीय तहमा रहेका क्वारेन्टाइन निर्माण एवं व्यवस्थापन र क्वारेन्टाइनमा बसेका मानिसको अवस्था बुझ्न सहयोग पुर्याउँछ।
कमाण्ड पोष्टले स्थानीय तहका प्रमुखसँग दिनहुँ सम्पर्कमा रहने र स्थानीय तहमा परेका समस्या समाधान गर्न तथा लकडाउनलाई व्यवस्थित पार्न समन्वय गरेको सिडिओ खड्काले बताए।