लकडाउनमा नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका करिब १५ सय भारतीय वीरगन्ज रक्सौल नाकामा अलपत्र परेका छन्।
काठमाडौं, पोखरा, नारायणगढलगायतका ठाउँबाट वीरगन्ज नाका हुँदै घर फर्किने भारतीयलाई सीमापारिका सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरु अलपत्र परेका हुन्।
आइतबार राति वीरगन्ज आइ पुगेका भारतीय नागरिकलाई वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा भारतीय सुरक्षाकर्मीहरुले रोकेका हुन्।
नेपाल र भारत दुवै देशमा लकडाउन भएकाले नाका आसपासमा होटल र किराना पसलहरु पनि बन्द भएका कारण आफूहरु रातिदेखि भोकभोकै रहेको पंकज पासवानले बताए।
दुवै देशमा लकडाउन हुँदा हुँदै पनि नेपालमा रहेका भारतीय नाकासम्म पुग्नु नेपाल सरकारको कमजोरी रहेको वीरगन्ज भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सुरेश कुमारले आरोप लगाए।