ट्राफिक प्रहरी जवान जुना श्रेष्ठलाई आइतबार बिहान ११ बजे थापाथली चोकमा भेट्दा उनी ड्युटीमा खटिएको तीन घन्टा भइसकेको थियो।
उसो त सहर लक-डाउनले सुनसानै छ। सुनसान सडकमा बेलाबेला लक-डाउन तोड्दै केही गाडी र मोटरसाइकल हुइँकिएर आइपुग्छन्। मान्छे फाट्टफुट्ट बाहिर निस्कन्छन्। तिनलाई केरकार गर्न जुनाजस्ता थुप्रै प्रहरी रित्तो सडकमा एक्लै खटिएका छन्।
जुनाले सेतो मास्क र कपडाको पञ्जा लगाएकी थिइन्। मैले कुराकानी गर्न खोज्दा उनले भनिन्, 'मास्क लगाएरै बोल्नुहोला।'
हामीले शारीरिक दुरी पनि कायम राख्यौं। झन्डै एक मिटर दुरीबाट मास्कभित्रै उनका ओठ चल्न थाले, 'यस्तो सहर त पहिलोपटक देखियो।'
लक-डाउन सुरू भएदेखि अधिकांश सरकारी तथा निजी कार्यालय बन्द छन्। काम पर्नेले घरैबाट भ्याएका छन्। तर प्रहरीको ड्युटी नै त्यस्तै- भीडभाड भए भीड हटाउन खटिनुपर्ने, सुनसान भए त्यही शून्यता भाँडिएला कि भनेर चनाखो हुनुपर्ने।
उनलाई घरिघरि हुइँकिएर आफ्नो जन्मथलो रामेछापको खिम्ति जाने मन हुन्छ। भन्छिन्, 'बेलाबेला आत्तिएर स्वाट्टै उठेर जामजस्तो लाग्छ। तर काम छाडेर जान भएन। विदा पनि छैन।'
जुनाको घरमा आमाबुवा र दिदी छन्। उनीहरू उता, आफू यता- उनलाई अचेल मन भुलाउनै गाह्रो भइरहेको छ। हावाको प्रत्येक झोंकासँगै उनको मन उडेर उतै पुग्छ। ड्युटीमा छँदा त तै मन भुल्छ, बेलुकी ड्युटी सकिएपछि सहरको शून्यताले मन यसै खिन्न बनाउँछ। परिवारको यादले छटपटाउँछ। फोनमा सन्चो-बिसन्चो सुन्नु-सुनाउनुबाहेक उनीसँग अर्को विकल्प पनि छैन।
उनलाई बेलाबेला आमाले फोन गर्छिन् र भन्छिन्, 'बाहिर नजानू, महामारी लाग्या छ रे।'
उनी आमालाई 'हस्' भन्छिन् र आफ्नो ड्युटीको समय भएपछि फुत्त निस्किहाल्छिन्। सायद यो महामारीको घडीमा आमाको मन यति आत्तिएको छ, उनलाई छोरी के काम गर्छिन् भन्ने पनि हेक्का छैन।
आमालाई जति उनको चिन्ता छ, त्यति नै चिन्ता नेपालमा पनि कोरोना भाइरसका संक्रमित भेटिएपछि जुनालाई भएको थियो।
थाहै नपाई मानिसको शरीरमा प्रवेश गर्ने र सिधै प्राणनलीमा आक्रमण गर्ने यो भाइरसको कहानी सम्झेर संसारै डराइरहेका बेला उनी कसरी अछुतो रहन सक्थिन्!
कार्यालयमा कोरोना संक्रमणबाट कसरी बच्ने भनेर उनीहरूलाई जानकारी दिइएको छ। 'अरूलाई नछोए, अरूले छोएका सामान वा ठाउँमा नछोए नसर्ने रहेछ,' उनले भनिन्, 'आफूले नछोएर भएन, ड्युटीमा कतिखेर के पर्छ थाहै हुन्न। सबै कुरा सामान्य रूपमा चल्यो भने चाहिँ खासै डर नहोला।'
अचेल उनले आफ्नो मन बुझाइसकेकी छन्, आमाको भने बुझाउन गाह्रो।
'खै के समाचार सुन्नु हुन्छ, मान्छे त मरेका मर्यै छन् रे, अब त मुख देख्न पनि पाइन्न कि क्या हो भन्दै अत्तालिएर फोन गर्नु हुन्छ,' उनले भनिन्, 'आमाको पीर त हो!'
हेडक्वार्टरले उनीहरूलाई दिनको चार घन्टा ड्युटी तोकेको छ। खानाको उति साह्रो समस्या छैन। बिहान नास्ता खाएर आए दिउँसो खान बेलैमा पुगिन्छ।
काम गर्ने ठाउँमा खानेपानी र शौचालय भने सदाबहार समस्या हुन्। थापाथली चोकनजिकै सार्वजनिक शौचालय छैन। उनीहरू फुर्सद मिलाएर नर्भिक अस्पतालको शौचालय प्रयोग गर्छन्।
'लक-डाउन बेला दुई जना साथी भए त पिसाब च्यापेर ड्युटीमा खटिनु पर्दैन,' उनले भनिन्, 'अघिपछि भने यो सुविधा हुन्न।'
चोकबीच पानीका दुईवटा जार थिए। 'यो ट्याङ्करले हामीलाई झारिदिएको,' उनले भनिन्, 'यति बेला पानीको पनि खासै समस्या छैन।'
अचेल उनलाई ब्यारेकमा समय बिताउन भने गाह्रो हुन्छ। साथीहरूसँग पनि नछोई बस्नू भन्ने निर्देशन छ। ब्यारेकमा उनीसहित १० महिला छन्। आपसमा कुरा गर्न पर्यो भने टाढैबाट गर्छन्।
'हामीले ब्यारेकमा पनि एकअर्कासँग दुरी राखेका छौं। गफ गर्न परे टाढै बसेर गर्छौं,' उनले भनिन्, 'तर यो अत्यासलाग्दो हुने रहेछ।'
आइतबारै पुरानो बानेश्वर चोकमा भेटिएकी आयुषा कार्की भने जनपद प्रहरी हुन्। उनी काठमाडौंमा डेरा बस्छिन्। प्रहरी सेवामा काम गरेको सात वर्ष भयो। यसअघि २०७२ वैशाख १२ को भुइँचालोमा जमिन हल्लिरहँदा पनि उनीहरू आफ्नो ठाउँबाट हल्लिन पाएका थिएनन्।
'प्रहरीको कामै त्यस्तो, आफू जति डराए पनि अरूलाई सुरक्षा दिनै पर्ने,' उनले भनिन्।
'त्यो बेलाभन्दा अहिले अवस्था फरक छ। खतरा कहाँबाट कसरी आउँछ थाहै नहुने। सबैलाई खतराबाट बच्न घरबाहिर ननिस्कनू भनिएको छ, हाम्रो त ड्युटी नै घरबाहिर,' उनले भनिन्, 'डर त लागिहाल्छ नि।'
त्यसमाथि उनीहरूलाई मास्क, पञ्जा र चस्माजस्ता कोरोनाबाट बच्ने सुरक्षा सामग्रीहरू उपलब्ध छैनन्। जे छ व्यक्तिगत जोहोमा चलाउनुपर्छ। बाहिरी ड्युटीमा काम गर्नेहरूलाई अफिसबाटै यी सामग्री उपलब्ध गराएको भए हुन्थ्यो भन्ने उनलाई लाग्छ।
'हाम्रो कामै पब्लिकसँग जोडिएको हुन्छ। सडक जति नै सुनसान भए पनि हाम्रो सम्पर्क हुने पब्लिकसँगै हो, तर रित्ता हात लिएर काममा जान डरमर्दो हुने रहेछ,' कार्कीले भनिन्, 'लक-डाउन तोड्नेहरूलाई सम्झाउन जाँदा झगडा गर्न आउँछन्, त्यस्तो बेला कसरी जोगिने?'
उनीहरूको ड्युटी बिहान ९ बजे सुरू हुन्छ। कति बेला सकिन्छ ठेगान हुन्न। यस्तो बेला उनी र उनका साथीहरू दिनभरि भोकभोकै खटिनुपर्छ।
'बिहान खाएर आएको हो, ड्युटी कतिखेर सकिन्छ त्यतिखेरै घर जाने, अनि खाने,' उनले भनिन्, 'अघिपछिजस्तो यसो एकछिन अर्को साथीसँग पालो लिएर चियानास्ता खाइहालौं भन्न मिल्दैन।'
'भोकभोकै गरिरहेको ड्युटीभन्दा अत्यासलाग्दो भने श्रीमान र परिवारलाई सम्झिएर हुँदो रहेछ,' उनले भनिन्।
उनका श्रीमान मेट्रो प्रहरीमा छन्। उनी अफिसभित्रै काम गर्छन्, उतै बस्छन्। गोरखाको ताप्लेमा भएका आमाबालाई सम्झेर पीर लाग्ने उनले बताइन्।
'अहिलेसम्म त कोरोना धेरै फैलिएको छैन। श्रीमान अफिसभित्रै बस्ने भएर ढुक्कजस्तै छु। तर भोलि के हुने हो, कसरी फैलिन्छ केही थाहा छैन,' उनले भनिन्, 'उहाँको घर र मेरै आमाबाको घरको पनि पीर हुन्छ।'
उनले अगाडि भनिन्, 'आमाबाले पनि पीर लिनुहुन्छ, बेलामा खानू भन्नुहुन्छ। त्यो बेला चाहिँ मन भरिन्छ।'