निशा विकको अहिले ड्युटी अस्पतालको इमर्जेन्सीको ढोकासँगै जोडिएको 'फिभर क्लिनिक' मा छ। उनी नर्स हुन्।
अहिले कोरोना शंकास्पद बिरामीहरू उक्त अस्पताल जाँदा सुरूमा उनी भएकै ठाउँमा पुग्छन्। उनले बिरामीको लक्षण बुझ्छिन् र सामान्य जाँच गर्छिन्। त्यसपछि भर्ना गर्नुपर्ने बिरामीलाई आइसोलेसनमा पठाउँछिन्।
दिनदिनै कोरोना शंकास्पद बिरामीको संख्या बढेसँगै उनको पनि व्यस्तता बढेको छ। उनले सेतोपाटीसँग भनिन्, 'यस्तै बेला त हो स्वास्थ्यकर्मीले झन् काम गर्नुपर्ने।'
उनी विदेशको तुलनामा नेपालमा अहिले नै स्वास्थ्यकर्मीलाई जोखिम नभएको बताउँछिन्। स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री भए कुनै जोखिम नहुने उनको विश्वास छ।
त्यसैले यस्तो संकटमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई पिपिईलगायत सुरक्षा सामग्री पर्याप्त हुनुपर्नेमा उनको जोड छ।
'पिपिई भएपछि अलिकति पनि डर हुँदैन। यसले नै हो हामीलाई सुरक्षित राख्ने,' उनले भनिन्।
अहिले नेपालमा बाहिरको जस्तो अवस्था नबिग्रिएकोले काम गर्न सहज रहेको उनी बताउँछिन्।
तर अवस्था बिग्रिए पनि स्वास्थ्यकर्मीले आफूलाई त्यहीअनुसार तयार पार्नुपर्छ भन्ने उनी ठान्छिन्। सेवा गर्ने पेशा रोजेपछि संकटको बेला झन् धेरै काम गर्नुपर्छ भन्ने उनको बुझाइ छ।
'बाहिरजस्तो नेपालमा कोरोनाका कारण मान्छे मरेको छैन,' उनले भनिन्, 'बाहिरको स्वास्थ्यकर्मीले काम गरेको देखेर हामी पनि काम गर्न उत्साहित हुनुपर्छ।'
अस्पतालको काम सकेर घर पुगेपछि निशा एकैछिन फेसबुक र युट्युबमा भुल्छिन्।
कोरोना संक्रमित देशहरूमा स्वास्थ्यकर्मीहरूले काम गरेको भिडिओ हेर्छिन्। बिरामीहरू मृत्यवरण गर्नै लाग्दा पनि स्वास्थ्यकर्मी खटिएका दृश्य सम्झेर उनले भनिन्, 'अहो! सेवा भनेको त त्यस्तो पो हो।'
निशालाई पनि संकटमा त्यसरी नै काम गर्न मन छ।
त्यसैले भोलि जस्तोसुकै खराब स्थिति आए पनि आफू पछाडि नहट्ने उनको अठोट छ।
'सेवा गर्ने भनेरै यो क्षेत्र रोजियो अनि किन पछाडि हट्ने?,' उनले भनिन्।
लिलामणि हायू पनि स्वास्थ्यकर्मी हुन्।
ललितपुरस्थित पाटन अस्पतालको फिभर क्लिनिकमै उनको पनि ड्युटी छ। उनी पनि कोरोना शंकास्पद बिरामीहरूको ज्वरो जाँच गर्ने, लक्षण हेर्ने काम गर्छन्। साथै भर्ना गर्नुपर्ने बिरामीलाई आइसोलेसनमा पठाउँछन्।
सरकारले पाटन अस्पताललाई कोरोना विशेष अस्पताल तोकेको छ। यहाँ कोरोना शंकास्पद बिरामी भर्ना गर्नेमात्र हैन। कुनै संक्रमित भेटिए बिरामीलाई अस्पतालमै उपचार गर्नुपर्छ।
सरकारले टेकु अस्पतालमा जाँचपछि कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई पनि पाटन अस्पतालमै भर्ना गर्न भनेको छ। त्यसैले अन्य अस्पतालभन्दा अब यहाँ बिरामीको चाप बढी हुन्छ।
बिरामीको चाप बढेपछि लिलामणिको पनि व्यस्तता बढ्ने नै भयो। तर निशाको जस्तै उनको मन पनि बुलन्द छ।
'यस्तो बेलामा स्वास्थ्यकर्मीले नै मुटु कमायो भने अरुको हालत के हुन्छ,' उनले सेतोपाटीसँग भने।
उनले यस्तो संकटमा काम गर्दा अलिकति परिवारले बढी चिन्ता लिने गरेको सुनाए।
परिवारले नजाऊ भने पनि यस्तो बेलामा स्वास्थ्यकर्मीले पेशाप्रतिको धर्म निभाउनु पर्नेमा उनी बताउँछन्।
उनले पनि स्वास्थ्यकर्मीलाई पर्याप्त पिपिईलगायत सुरक्षा सामग्री भए कुनै जोखिम नरहने कुरा दोहोर्याए।
यद्यपी संक्रमित बिरामीको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीहरू अस्पताल र घर आवतजावत गर्दा त्यसले परिवारलाई जोखिम हुने उनको तर्क छ।
त्यस्तो बेलामा अस्पताल परिसरभित्रै स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था हुनुपर्ने उनको माग छ।
पाटन अस्पतालले पनि स्वास्थ्यकर्मीको लागि छुट्टै बस्ने व्यवस्था गरिरहेको उनले बताए। 'केसहरू बढ्दै गयो भने अस्पतालमै बस्ने हो। त्यहीँ अनुसार आफूलाई तयार पार्दैछु,' उनले भने।