बैतडीको शिवनाथ गाँउपालिकामा मात्रै पछिल्लो समयमा सात सय जना मानिस भारतबाट आएका छन्।
तीमध्ये १० जनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको गाँउपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।
गाउँपालिकाको विभिन्न वडामा गरेर जम्मा ५० बेडको क्वारेन्टाइन बनाइएको छ।
'अहिले १० जना क्वारेन्टाइनमा हुनुहुन्छ। बाँकी सबै आ-आफ्नो घरमा गइसक्नुभयो। उहाँहरूलाई सचेत रहन भनेका छौं,' उनले भने।
अहिलेसम्म गाउँपालिकामा कसैलाई पनि कोरोना संक्रमणको लक्षण देखिएको छैन। देखियो भने अध्यक्ष साउदलाई फसाद पर्छ।
यहाँ संक्रमण परीक्षणका लागि स्वाब झिक्ने स्वास्थ्यकर्मी नै छैनन्। त्यसैले लक्षण देखिए साउदले बिरामीलाई जिल्ला अस्पताल पठाउने चाँजोपाँजो मिलाउनुपर्छ।
अर्को पनि फसाद छ-बिरामी पठाउनको लागि एम्बुलेन्सनै छैन। हत्तपत्त छिमेकी मेलौली नगरपालिका वा पञ्चेश्वर गाउँपालिकालाई फोन लगाउनुपर्छ।
‘प्रदेशले एउटा एम्बुलेन्स दिने भनेको थियो। खोइ त्यो खरिद प्रक्रिया कहाँ पुग्यो, थाहा भएन,' साउदले सेतोपाटीसँग भने।
एम्बुलेन्स जुटेपछि बिरामीलाई जिल्ला अस्पताल पुर्याउन चार घण्टा लाग्छ। त्यसपछि चिकित्सकले स्वाब निकालेर फेरि धनगढी पठाउँछन्।
धनगढी पुग्न अर्को नौ घण्टा लाग्छ।
चीनबाट किनेर ल्याएको स्वाब परीक्षण गर्ने पिसिआर मेसिन सुदूरपश्चिमलाई पनि एउटा दिने निर्णय केन्द्रले गरेको भए पनि अहिलेसम्म प्रदेशमा परीक्षणको काम भएको छैन।
'लकडाउन’ ले गर्दा धनगढीबाट जहाज आउँदैनन्। स्वाब लिन काठमाडौंबाट जहाज नेपालगञ्ज आउँछ। त्यसैले स्वाब नेपालगञ्जसम्म पुर्याउने व्यवस्था मिलाउनुपर्छ।
अध्यक्ष साउदले गाउँपालिकामा जनशक्ति र स्वास्थ्य सामग्री दुबैको चरम अभाव रहेको सुनाए।
गाउँपालिकामा जम्मा ८ जना स्वास्थ्यकर्मी रहेकोमा उनीहरूसँग पिपिई नभएको भन्दै बिरामी जाँच्न नमानेको उनले बताए।
'जम्मा पाँच वटा पिपिई छ। अब त्यतिले के गर्ने?,' उनले भने।
भोलि अलिकति पनि जटिल अवस्था आइलागे त्यो संकटसँग जुध्ने क्षमता गाउँपालिकाको नरहेको उनले स्पष्ट पारे।
यस्तो बेलामा पनि भारतबाट हजारौं मानिस आएका सुदूरपश्चिमका पहाडमा केन्द्रको आँखा पर्न नसकेको भन्दै उनले असन्तुष्टि पोखे।
‘चीनबाट ल्याएको थर्मल-गन पनि सुदूरपश्चिमलाई जम्मा १० वटा पठाएको रै’छ। अब त्यो कसलाई दिने? हाम्रोमा आइपुग्छ भन्ने त आशा नै छैन,' उनले भने।
अहिले गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मीहरूसँग जम्मा १० वटा थर्मोमिटर छ। त्यसमा पनि कहिलेकाहीँ बिरामीलाई नै दिएर पनि पठाउनुपर्ने रहेको अध्यक्ष साउदले बताए।
बैतडीभरि र उनको गाउँमा भारतबाट धेरै मानिस आएकाले भोलि संक्रमणको जोखिम हुनसक्ने भन्दै अहिले नै स्वास्थ्य सामग्री र जनशक्ति तयार गर्नुपर्ने उनको जोड छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि माग अनुसारको केन्द्रबाट स्वास्थ्य सामग्री नआएको बताए।
पिसिआर मेसिन भने चाँडै जोडेर परीक्षण सुरू गर्ने बताए।
ज्वरो नाप्ने थर्मल-गनको विषय उठाउँदै उनले भने, 'अहिले निकै आवश्यकता परेको थर्मल-गन पनि हो। तर जम्मा १० वटा आएको छ। सकेसम्म सबै स्थानीय तहलाई दुई-दुई वटा दिन पाएको भए हुन्थ्यो।'
माग अनुसारको पिपिई पनि नआएको उनले बताए।
सरकारले सात वटै प्रदेशलाई जम्मा एक हजारका दरले पिपिई वितरण गरेको छ।
'अब पिपिई पनि ठूला अस्पताल र पहाडी क्षेत्रमा मिलाएर वितरण गर्नुपर्छ। प्रदेशले पनि खरिद गर्ने कुरा छ। त्यसको लागि टेन्डर प्रक्रियामा छ,' मन्त्री सुवेदीले भने।
उनले सरकारले दिएको कोरोना परीक्षण गर्ने पोर्टेवल पिसिआर मेसिन भने आजसम्म जडान गरिसक्ने बताए।
‘सरकारले दिएको पिसिआर आजै ल्याएर जडान गर्ने र भोलिदेखि परीक्षण गर्ने भनेका छौं’, उनले भने, ‘हिजो त पिपिई, मास्क र पञ्जा मात्र आएको छ।’
उनले परीक्षण गर्न सिकाउने तीन जना विशेषज्ञ केन्द्रबाट आइसकेको पनि जानकारी दिए।
'उहाँहरूले यहाँका स्वास्थ्यकर्मीलाई सिकाएर जाने भन्ने छ। आज बिहानमात्र पिपिई कसरी लगाउने र फुकाल्ने भन्ने तालिम थियो,' उनले भने।
कोरोना परीक्षण ल्याबको लागि सेती प्रादेशिक अस्पतालसँगै जोडिएको स्वास्थ्य कार्यालयको भवन तयार पारिएको छ।
ल्याब सुचारू भएपछि सुदूरपश्चिमका जिल्लाहरूको कोरोना परीक्षण धनगढीमै गरिन्छ।
सरकारले कोरोनाभाइरस (कोभिड-१९) परीक्षण गर्ने ५ वटा पोर्टेवल पिसिआर मेसिन चीनबाट ल्याएको छ। जसमा जनकपुर, बुटवल, सुर्खेत र धनगढीलाई एक/एक वटा दिइएको छ।